प्रधानमन्त्री ओलीको नयाँ वर्ष शुभकामना

समाचार

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको ईस्वी सम्वत्को नयाँ वर्ष २०१९ को शुभकामना व्यक्त गर्नु भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

‘हामीबाट विदा भएको इ.सं. २०१८, नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रह्यो,’ प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्ष राजनीतिक संक्रमण कालको अन्त्य भयो । संक्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को संकल्प सहित हामी विकास र समृद्धिको महा अभियानमा अभिमूख छौं ।’ बितेको वर्ष नयाँ संविधानको कार्यान्वयन गरी संक्रमण कालको अन्त्य वर्ष बनेको तथा राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको भनिएको छ ।

शुभकामनाको पूरा अंश–

प्रधानमन्त्री ओलीको शुभकामना

आजदेखि सुरु भएको नयाँ वर्ष २०१९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइन्छ । वैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई पनिहामी नेपालमा अंग्रेजी नयाँ वर्षको रुपमा मनाउँछौं ।

हामीबाट विदा भएको इ.सं. २०१८, नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रह्यो । जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्ष राजनीतिक संक्रमण कालको अन्त्य भयो । संक्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को संकल्प सहित हामी विकास र समृद्धिको महा अभियानमा अभिमूख छौं । हाम्रा लागि बितेको वर्ष नयाँ संविधानको कार्यान्वयन गरी संक्रमण कालको अन्त्य वर्ष बन्यो भने यसै बीचमा राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो ।

अव्यवस्था र अनिश्चयको वर्षाैं लामो अभ्यासबाट पछौटे अवस्थामा रहेको मुलुकलाई विकास र समृद्धिमा लैजानु अवश्य पनि सजिलो काम होइन । तर हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने विश्वास दिलाउन चाहन्छु । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक विन्दुमा पुग्नेछ । निर्वाचनमार्फत् प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु–जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैनँ । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।

नयाँ वर्ष सन् २०१९ का अवसरमा देशभित्र र बाहिर रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने पुनः शुभकामना व्यक्त गर्दछु ।
१७पुस, २०७५ के.पी. शर्मा ओली
(१ जनवरी २०१९)

Leave a Reply

Your email address will not be published.