लिभु संवाददाता
धरान– वाम्बुले भाषाका दशजना स्रष्टालाई सम्मान प्रदान गरिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) सुनसरी कार्यसमितिले तेस्रो जिल्ला अधिवेशनको अवसरमा शनिबार सम्मान प्रदान गरेको हो ।
वाम्बुले राई भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नु हुने व्यक्ति व्यक्तित्वलाई सम्मान तथा सम्मानपत्र प्रदान गरिएको जनाइएको छ । २०५६ सालदेखि प्रदान गरिदैआएको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्राप्त वाम्बुले कविहरूलाई सम्मान गरिएका हुन् । सम्मानित कविहरू शुभचन्द्र राई (सुवास), मुम्चे राई (बिद्रोही साइला), प्रकाशहरि क्याम्पा राई, बिर्जमान राई, शुभराज राई (काजी), धीरेन्द्र रूम्दाली राई, रामकुमार राई (आङ्गुस), कुम्भराज राई र झरना वाम्बुले राई हुनुहुन्छ ।
प्रमुख अतिथि वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राई र जिल्ला अध्यक्ष धनराज राई (कुमार)ले धरान नगरपालिका–१० यलम्बर भवनमा आयोजित समारोहमा ताम्रपत्रसहित सम्मान प्रदान गर्नु भएको हो । सम्मानित स्रष्टाले आफ्नो रचना वाचन गर्नुभएको थियो ।
त्यसैगरी पूर्वअध्यक्ष रामकर राई, क्याप्टेन रामलाल राई (नाक्सोचाचो ब्राङख्याल्चो) र सिनियर स्टाफ सार्जन कमलप्रसाद राई (बगाले क्याम्पाचो)लाई विशेष सम्मान गरिएको थियो । विशेष सम्मानका निम्ति निमन्त्रणा गरिनु भएका कोशकार अविनाथ राई र वाम्रासका संस्थापक अध्यक्ष हिराकाजी राईलाई प्राविधिक कारणले उपस्थित हुन सक्नु भएन ।
सुनसरीमा २०५३ सालमा गठित उँबुले राडु (चौरासे) उत्थान समाजका संस्थापक अध्यक्ष स्व. सिहबहादुर राई, उपाध्यक्ष स्व.जितबहादुर राई, कोषाध्यक्ष पुतलीमाया राई, सदस्य ध्यानबहादुर राईलगायतलाई सम्मान प्रदान गरिएको छ । उक्त संस्था २०६८ सालमा वाम्रास संस्थामा समायोजन गरिएको थियो ।
उद्घाटनसत्रमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका सचिव दोर्पध्वज राई, यायोक्खा सुनसरीका सचिव राजेन्द्र राईलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
देशको नेतृत्वमा नयाँ कार्यसमिति
वाम्बुले राई समाज (वाम्रास) नेपाल सुनसरीको तेस्रो जिल्ला अधिवेशनले देशकुमार राईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा पानुमाया राई, सचिव लाखमान राई, सहसचिवद्वय प्रेम राई र दिलन राई, कोषाध्यक्ष दिपिका राई हुनुहुन्छ ।
त्यसैगरी सदस्यहरुमा सुदिप राई, जगतधन राई, उत्तरीमाया राई, सिताराम राई र अधिराज राई हुनुहुन्छ । तीन वर्षे कार्यकालका निम्ति चयन कार्यसमितिलाई केन्द्रीय अध्यक्ष गजुरधन राईले पद तथा गोपनियताको सफथ ग्रहण गराउनु भएको थियो ।