लिब्जु भुम्जु पुरस्कार कवि उदय जिज्ञासुलाई (भिडियोसहित)

मातृभाषा

लिभु संवाददाता
ओखलढुंगा । वाम्बुले कवि उदय जिज्ञासु राई ‘लिब्जु भुम्जु पुरस्कार २०७६’ प्रदान गरिएको छ । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतिराज राई र इक लिब्जु–भुम्जु त्रैमासिकका सम्पादक गणेश वाम्बुले राईबाट २०७८ मंसिर २८ गते पालिकाको कार्यालयमा प्रदान गरिएको हो ।

‘इक लिब्जु–भुम्जु’ त्रैमासिक वर्ष ६, अंक ४–५ संयुक्त पूर्णाङ्क ७७, वैशाख–असोज, २०७६ (किरात येले संवत् ३७९८÷सन् २०१९)मा प्रकाशित ‘थाच्चुमस्याङ पाङ्तिम’ (अस्तिझैं लाग्छ) शीर्षक कवितालाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । कोभिड–१९ को कारण उक्त पुरस्कार एक वर्ष ढिलो गरी प्रदान गरिएको हो ।

सो अवसरमा पालिका अध्यक्ष राईले वाम्बुले भाषा, साहित्य, संस्कृति, परम्परालाई लिखित रूपमा संरक्षण, संवद्र्धन गर्ने कार्यमा ‘लिब्जु–भुम्जु’ पत्रिका र यसका सम्पादकको अतुलनीय योगदान गरेको बताउनु भयो ।

‘किरात वाम्बुले राईहरूको विशिष्ट पहिचानलाई उजागर गर्ने काम लिब्जु–भुम्जु पत्रिकाले गरेको छ,’ अध्यक्ष राईले भन्नुभयो, ‘पत्रिकाको सम्पादकका अथक प्रयासले हरेक वर्ष वाम्बुले भाषाका कविहरूलाई पुरस्कृत गरिनु र गर्न पाउनु गर्वको विषय हो । हामीले गाउँपालिकाबाट वाम्बुले भाषालाई औपचारिक पठनपाठन व्यवस्थाका लागि बजेट पहल गरेका छौं । संस्थागत रूपमा व्यवहारमा उतार्न समाजका अगुवाहरूको थप ध्यानाकर्षण गराउन चाहन्छु ।’

सम्पादक राईले २०५० सालदेखि प्रकाशित ‘लिब्जु–भुम्जु’ पत्रिकाको नाममा वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले ‘लिब्जु–भुम्जु पुरस्कार’ २०५५ सालमा स्थापना गर्नु भएको जानकारी दिनुभयो । उक्त पुरस्कार वर्षभरि प्रकाशित पत्रिकाको उत्कृष्ट एउटा कवितालाई छनोट गरी सो पुरस्कार प्रदान गरिदै आएको छ । प्राविधिक कठिनाइका कारण २०७५ सालदेखि पत्रिकाको नाम ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक बनाइएको छ, सो पत्रिकामा छापिएको कवितालाई पुरस्कृत गरिदै आएको छ ।

पुरस्कार वितरण कार्यक्रममा वाम्बुले राई शिक्षक समाजका महासचिव दिपक राई, सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल जन्ताराम राई, ‘कलम’ साहित्यिक पत्रिकाका सम्पादक ऋद्धिरमण घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

सो पुरस्कार हालसम्म १९ जना कविको रचनालाई पुरस्कृत गरिएको छ भने एकजना कविको कवितालाई घोषणा गरिएको छ । कवि एमबी थुलुङ विदेशमा रहनु भएकाले पुरस्कार प्रदान गर्न बाँकी रहेको छ ।
लिब्जु–भुम्जु पुरस्कार प्राप्त कविहरू :
१. विरही विमल राई – २०५६
२. रजन सुबुकु – २०५७
३. शुभचन्द्र राई ‘सुवास’ – २०५८
४. प्रमोद दीनदुःखी राई – २०६१
५. दुर्गा बैरागी राई – २०६२ (मरणोपरान्त)
६. प्रकाशहरि क्याम्पाराई – २०६३
७. बिद्रोही साइला – २०६४
८. भुवन गुर्भा राई ‘आ“सु’ – २०६६
९. शुभराज राई (काजी) – २०६७
१०. धीरेन्द्र रूम्दाली – २०६८
११. बिर्जमान राई – २०६९ (संयुक्त)
१२. कुम्भराज राई – २०६९ (संयुक्त)
१३. रामकुमार राई ‘आङगुस’ – २०७०
१४. झरना वाम्बुले राई – २०७१
१५. अन्चल जाबा राई – २०७२
१६. अप्सन क्याम्पा – २०७३
१७. सुमन जाबा – २०७४
१८. गगनबहादुर राई – २०७५
१९. उदय जिज्ञासु राई – २०७६
२०. एमबी थुलुङ – २०७७ (घोषणा)

Leave a Reply

Your email address will not be published.