थुलुङ भाषामा कक्षा १ को पाठ्यपुस्तक सार्वजनिक

मातृभाषा

लिभु संवाददाता
काठमाडौं– किरात थुलुङ राई भाषाको कक्षा १ को पाठ्यपुस्तक ‘थुलुङ हालाम–१’ सार्वजनिक भएको छ । प्रतिनिधिसभाका सांसद हेमकुमार राईले बुधबार राजधानी काठमाडौंमा सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार थुलुङ भाषाको वक्ता २० हजार ६ सय रहेका छन् ।

‘शिशु कक्षाका निम्ति मातृभाषाको गीत तथा वर्णमाला र कक्षा १ का निम्ति पाठ्यपुस्तक तयार गरेका छौं,’ थुलुङ पाठ्यक्रम विकास केन्द्रका संयोजक खुक्सङ खम्बुले भन्नुभयो, ‘यसबाट तीस विद्यालयका करिब तीनसय थुलुङ मातृभाषी बालबालिका लाभान्वित हुनेछन् ।’

यही २०७५ वैशाखबाट सुरु भएको शैक्षिक सत्रबाट सोलुखुम्बुको थुलुङ दुधकोसी गाउ“पालिका, सल्यान गाउ“पालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका र रावाबेंसी गाउँपालिकाको लामिडाँडा तथा ओखलढुंगाको कुइभित्र क्षेत्रमा थुलुङ भाषाको पठनपाठन हुनेछ । त्यसका अलावा थुलुङ भाषाको सन्दर्भ सामग्रीसमेत निर्माण कार्य जारी रहेको उहा“ले बताउनुभयो ।

त्यस अवसरमा थुलुङ भाषा तथा संस्कृतिका अगुवाहरु यलुङ किरात, डेम्बुराज राई, किरात राई यायोक्खाको महासचिव जीवन हाताचो राई, भाषाशास्त्री डा. तारामणि राईलगायतले विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.