वाम्बुले कविता प्रतियोगितामा प्रशान्त प्रथम

मातृभाषा

लिभु संवाददाता
ओखलढुंगा– वाम्बुले (ओम्बुले) मातृभाषा कविता प्रतियोगितामा मानेभन्ज्याङ गाउ“पालिका–५ का मातृभाषी कवि प्रशान्तबहादुर राई प्रथम भएका छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २१औं स्थापना दिवसको अवसरमा मानेभन्ज्याङमा आयोजित ‘२०औं वाम्बुले राई मातृभाषाको कविता प्रतियोगिता’ प्रशान्तले २४ प्रतियोगीलाई उछिन्दै बाजी मारेका हुन् ।

बीसौं वाम्बुले कविता गोष्ठी प्रतियोगितामा विजयी कविहरुलाई सम्मान

त्यसैगरी मानेभन्ज्याङ–५ कै नमेशबहादुर राई दोस्रो र मानेभन्ज्याङ–६ का मंगलदर्शन राईले तेस्रो भएका छन् । मानेभन्ज्याङ–३ का इन्द्रजाबा राई र रेन्जा वाम्बुले राईले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ‘खाक्चिलुपा रिनाखा’ शीर्षकमा कविता रचना गर्न दिइएको थियो । मुन्धुम अनुसार वाम्बुले किरातहरुको आदिम पुर्खा खाक्चिलुपा र रिनाखा हुन् ।

वाम्रास ज्येष्ठ नागरिक सम्मान २०७५

विजयी कविहरुलाई जनही ५ हजार, ३ हजार, २ हजार र एक–एक हजार रुपैयाँ राशिको नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । राष्ट्रगानका रचयिता व्याकुल माइला, समाजका अध्यक्ष पत्रकार गजुरधन राई र मानेभन्ज्याङ गाउँपालिका प्रमुख मोतीराज राईले उक्त पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, सुनसरी, मोरङ, काठमाडौंलगायत देश विदेशमा रहेका कविले मातृभाषामा रचना समावेश रहेका थिए । त्यसैगरी १५ जना अप्रतियोगी कविले रचना वाचन गरेका थिए । मानेभन्ज्याङ गाउँपालिकाले सहयोग रहेको कविता गोष्ठीको व्यवस्थापन वाम्बुले राई शिक्षक समाज र वाम्रास ओखलढुंगा जिल्ला कार्यसमितिले गरेको जनाइएको छ । संस्थाले मातृभाषा संरक्षण अभियानका रुपमा २०५५ सालदेखि ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा कविता गोष्ठी तथा प्रतियोगिता आयोजना गर्दै आएको जनाइएको छ ।

त्यसै अवसरमा २०५० सालदेखि प्रकाशनमा रहेको ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा प्रकाशित सर्वोत्कृष्ट रचनामध्ये एकजनालाई प्रदान गरिदैआएको ‘लिब्जु–भुम्जु पुरस्कार–२०७४’ कवि सुमन जाबालाई प्रदान गरिएको थियो । उनको ‘आः कावा’ (मेरो साथी) शीर्षक कविता उत्कृष्ट घोषित भएको थियो । नेपाली मातृभाषा साहित्यमा वाम्बुले राई भाषाको उपस्थिति बलियो रहेको सर्जक व्याकुल माइलाले बताए ।

साथै, उक्त अवसरमा मानेभन्ज्याङ वडा नं.५ का ७० वर्ष उमेर नाघेका २८ जनालाई ‘वाम्रास ज्येष्ठ नागरिक सम्मान’ प्रदान गरिएको थियो । ज्यष्ठ नागरिकलाई प्रमुख अतिथि व्याकुल माइला, गाउँपालिका प्रमुख मोतीराज राई, उपप्रमुख सबिता राईले सम्मानपत्र र दोसल्ला प्रदान गरेका थिए । राष्ट्रिय जनगणना २०६८ अनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ५ सय रहेको छ ।

वाम्बुले राई समाज, नेपाल (वाम्रास) को २१औं स्थापना दिवसमा स्वयंसेवक वाम्बुले राई महिला तथा जनप्रतिनिधि

यस्तै, वाम्बुले राई भाषाको ‘सुरिम’ कवितासंग्रह विमोचन गरिएको थियो । संग्रहभित्र वाम्बुले राई भाषाको १९औं कविता गोष्ठीमा वाचित १७ प्रतियोगी र १४ वटा अप्रतियोगी कविता रहेका छन् ।
‘सुरिम’ कवितासंग्रह विमोचन गरिदै

यसैगरी ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको पहिलो अंक विमोचन गरिएको छ । २०५० सालबाट प्रकाशित ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको नयाँ संस्करण तथा निरन्तरताका रुपमा ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक प्रकाशन गरिएको हो । यसको प्रकाशक तथा सम्पादक गणेशकुमार राई रहेका छन् ।
‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको पहिलो अंक विमोचन गरिदै

Leave a Reply

Your email address will not be published.