इतिहासविद् इमानसिंह चेम्जोङको विचार : किरात साहित्यको इतिहास

कला साहित्य -संस्कृति
किरात साहित्यको इतिहास
– इमानसिंह चेम्जोङ
….. सर्वप्रथम २६ जुलाई १९२५ सालमा श्री सर्दार मैतसिंह थेगिमको सभापतित्वमा कालिम्पोङ दोंग्रो बस्तीमा किरातीहरूको एक बैठक भयो । सभामा श्री बाबु बुद्धिमान्सिंह चेमजोङ, श्री जसबहादुर सङ्बाङ्फे, सुबेदार मेजर हर्कदल माक्खिम, मन्डल जितबहादुर थेगिम, मन्डल हंसराज थेगिम, दारोगा धनबाज फेन्दुवा, श्री कुलहाङ चेम्जोङ, श्री निर्मल ओगलिङ र लेखक गरी दश जना उपस्थित थिए । किरात लिपिबारे विचार—विमर्श हुँदा पूर्वी नेपालको पाँचथर आङसराङ बस्ने श्री इमानसिंह चेम्जोङले पुराना हस्तलिखित किरात पुस्तक सभामा निकाली पढी सुनाइदिए । उहाँले सिरिजङ्गा राजाले नौसय सालमा घोर तपस्या गरी किरात लिपिको आविष्कार गरी लेख्न, पढ्न सिखाएको, आपुंगी राजाहरूको शासनकालमा हराएका, सत्रौं शताब्दीमा दोस्रो सिरिजङ्गा देवांसीले किरात लिपिलाई पुनः जीवन दिई देशमा विद्याप्रचार गर्दा सिक्किमको भोटे राजा र उनका मन्त्री ठाछाङ लामाहरूले पक्री उनलाई बध गरेको इतिहास सब पढी सुनाइदिए ।
सहिद सिरिजङ्गा देवांसीको इतिहास सुन्नासाथ सारा उपस्थित गण जागी उठे । किरात लिपि पढ्नै पर्छ । सहिद सिरिजङ्गा देवांसीका नाउँमा यस लिपिलाई सिरिजङगा लिपि भन्नुपर्छ । किरात लिपिको अनुसन्धान गर्नैपर्छ भनी सर्वसम्मतिले.राय पास भयो । सभाको नाउँ सर्वसम्मतिबाट याम्थुङ हाङ चुम्लुङ सभा राखियो । श्री बुद्धिमानसिंह चेम्जोङ सभाको मन्त्री काममा चुनिनु भयो । नेपाल, सिक्किम, भुटान, आसाम, बर्मा, उत्तर भारतका क्वैटा, चमन, देहरादुनका गाउँगाउँ पत्र पठाई पुराना—पुराना हस्तलिखित किराती पुस्तकहरूको खोजी भयो । सबभन्दा अगाडि श्री इमानसिंह चेम्जोङले किरात लिपिका स्वर—व्यञ्जन मात्रा लेखी लेख्न, पढ्न सिकाए । टाढाटाढाकाहरूलाई पत्रद्वारा सिकाए । बुढा, जवान, केटा, केटी जम्मैले किरात लिपि पढ्न दिलचस्पी दिए । पूर्वी नेपालबाट चार पाण्डुलिपि अर्थात् हस्तलिखित पुस्तकहरू ल्याए । सिक्किमबाट तीन पुस्तकहरू जम्मा गरे । कालिम्पोङबाट दुई पुराना हस्तलिखित पुस्तकहरू जम्मा पारे । सिक्किम देशबाट यौटा ८४ वर्ष पुगेका सेन्दाङ लामा (लालसोर सेन्दाङ)नाउँ भएका बुढा किरात इतिहासकारलाई झिकाई पुराना हस्तलिखित पुस्तकहरू पढ्न लाए । मुन्धुम लेख्न लाए ।
चुम्लुङ सभाको बैठक महिनावारी भयो । चारै दिशाहरूबाट उत्साहजनक पत्रहरू आउन लागे । उत्तर बर्माको मचिना छावनी सितापुर बस्ती निवासी श्री सुबेदार बाजवीर थोलोङले सितापुर बस्तीमा चुम्लुङ सभाको एक शाखा खोले । उनले आफ्नो धन खर्च गरी दुई हजार किरात पहिलो पुस्तक बनाई सारा गोर्खा पल्टन—पल्टनमा बाँडी दिए । कालिम्पोङ निवासी श्री निर्मल लिम्बू, श्री जीवनदास राईहरूले किराती लिपिको पहिलो पुस्तक छपाई बाँढे । श्री इकेबहादुर सेरिङले आफ्नो खर्चबाट पहिलो पुस्तक बनाई नेपाल, सिक्किम, भुटान देशपट्टि बाँढे । मैवाखोला निवासी लेप्टेन शेरबहादुर नोयोङ हाङ, श्री मोहनलाल हाङ्गामहरूले उत्तर लिम्बूवान प्रदेश घुमीघुमी किरात लिपिको प्रचार गरे ।
सन् १९३० साल कर्मी स्टेटका नोर बस्तीमा एक चुम्लुङ शाखा खोले । सर्दार कालुसिंह पापोले किरात लिपिका कविता लेखे । नरवीर इजमले नयाँ बस्तीमा किरात प्राथमिक पाठशाला खोली किरात विद्याप्रचार गरे । तेसै साल वर्माको दक्खिन सान स्टेटमा टौन्जी चुम्लुङ शाखा खोले । सुवेदार हर्कजङ माक्खिमले मदपान निषेधको पुस्तक र किराती शब्दकोश बनाए । सन् १९३१ साल दार्जिलिङका लुङथाम गाउँमा एक चुम्लुङ शाखा खोले । सुबेदार बुद्धिराज फागो लिम्बू र श्री जसमान साम्बाले किरात सङ्गीत—विद्याको पुस्तक बनाए । त्यसै साल सिक्किमका टिम्बुरबुङ गाउँमा एक चुम्लुङ शाखा खोले । मन्डल तिलोकसिंह नुगोले मुन्धुम लेखे । सम्बत् १९८८ साल चैत्र मैनामा पूर्वी नेपालको पाँचथर लालीखर्कमा १० लिम्बू १७ थुम भरका किरातीहरूको चुम्लुङ भयो । सभामा पाँचथरका श्री इमानसिंह चेम्जोङले सारा उपस्थितगणका समक्षमा किरात लिपि पढ्नमा केही आपत्ति छैन । नेपाल सरकारबाट १९३० सालदेखि नै किरात लिपि पढ्न पाइँन्छ भनी मन्जुरी भएको छ । सबैले निडरताका साथ किरात विद्या, अङ्ग्रेजी विद्या, पढ्नलाई गाउँगाउँमा पाठशाला खोल्नु होला भनी बिन्ती चढाए । विद्या पढे आँखा खोलिन्छ र भक्ष—अभक्ष, सत्—असत्, सुख—दुःख, पाप—धर्म, सभ्य—असभ्यको ज्ञान खोलिन्छ र स्वदेश—पर्देशको विचार भई देशभक्त, राजभक्त भई आफ्नो देशको सुधार हुन्छ र अरू प्रगतिशील देशको दाँजोमा यो नेपाल देश पनि उभिन सक्छ भनी अर्ती उपदेश गरे ।
१३ थुम निवासी श्री सुब्बा काजिमान तुम्बाङफेले पनि संसारमा सबभन्दा प्यारो नै “आफ्नो” रहेछ—आफ्नो देश, आफ्नो अक्षरको उन्नति । तसर्थ पहिले आफ्नो अक्षरको उन्नति गरौं र अरूको भनी सब किरातवंशले यो हराइसकेको, लोप भैसकेको विद्या बल्ल निक्लियो । सबैले पढ्नु पर्छ भनी भाषण दिनु भयो । पाँचथर भदौरे निबासी सुब्बा शेरबहादुर लावती र पाँचथर सिलौटीवासी गुरु फाल्गुनन्द लिङदेनले पनि भाषण गर्नु भयो । उहाँहरूले भन्नु भयो कि मदपान गर्नाले किरातवंशको बुद्धिमा बिर्को लागेको छ । तसर्थ अबउप्रान्त मदपान कम गरी विद्याभ्यासमा बढ्ता जोड गर्नुहोला भनी उपदेश दिनु भयो । यस बेलासम्म गुरु फाल्गुनन्दका पाँचसय जति चेला भइसकेका थिए । उनले आफ्ना चेलाहरूसँग गाउँगाउँ घुमिघुमी किरात लिपिको प्रचार गरे ।
किरातधर्म मासाम्माङका नाउँमा मन्दिरहरू बन्न लागे । किरात धर्मशास्त्र लेखिए । धर्मको सुधार गरी अहिंसा परमोधर्मको सिद्धान्त फैल्याए । मन्दिरमा पूजा हुँदा हिंसा निषेध गरी नैवेद्य, फल, फूल मात्रले भक्ति गर्ने भए । भगवानको लीला भनी साधुनाच निकाले । सबभन्दा अघि लोब्रे, सिलौटी, जितपुर, फलाँटे, चुक्चिनाम्बा, रवि, काबेली र आठराई गाउँहरूमा युमा मन्दिरहरूको सृजना भयो । मन्दिरमा किरात पुस्तक पढाउने प्रथा निकाले । किरात शास्त्रद्वारा मर्दापर्दा, विवाह गर्दा, शुद्ध गर्दा कर्मकाण्ड गर्ने भए । प्रत्येक मन्दिरमा एकएक जना पूजारी राखी गुठीसमेत राखी दिए ।
कालिम्पोङ दोंगरो बस्तीमा किराती पाठशाला खोल्नलाई सर्दार श्री मैतसिंह थेगिमले हजार रुपैयाँ जाने जमिन पाठशालाका नाउँमा भूमिदान दिनुभयो । श्री लालसिंह सुब्बाले आफ्ना स्वर्गीय पुत्र जाम्बक सुब्बाका स्मृतिमा जाम्बक मेमोरियल किरात पाठशाला बनाइदिनुभयो । दार्जिलिङ जिल्लाको काेंङकेबुङ गाउँमा पनि युमा मन्दिरको स्थापना भयो । सिक्किमको टिम्बुरबुङ गाउँमा सुब्बा तिलोकसिंह नुगोले आफ्ना स्वर्गीय पुत्र प्रभुराज लिम्बूका स्मृतिमा प्रभुराज मेमोरियल पुस्तकालय खोली दिनुभयो ।
किराती विद्वान्हरूद्वारा किरात धर्मशास्त्र, किरात प्रार्थना किरात इतिहास, किरात कोकशास्त्र, किरात ज्योतिषशास्त्र, चण्डीपाठ, कथासंग्रह, व्याकरण, शब्दकोश, अङ्कगणितका पुस्तकहरू लेखिए ।
अब विशेष पल्लोकिरात लिम्बूवानका लिम्बू—राई वंशले यो किरात साहित्य जगाउन अत्यन्त प्रयास गर्न लागे । सन् १९२५ साल जुलाई महिना, २६ तारिकका दिनदेखि कालिम्पोङ डुङ्ग्रा (दोङ्ग्रो) बस्तीको याक्थुङहाङ चुम्लुङ सभाले सर्वप्रथम किरात साहित्यको प्रचार गर्न सुरु गरेको हो भनी अघिल्लो पानामा लेखिएको छ ।
सन् १९२६ साल नोवेम्बर महिनामा चुम्लुङ सभाले श्री जसबहादुर लिम्बूलाई सिक्किम देशमा पठाई किरात साहित्य जान्ने एउटा ८४ वर्ष पुगेको लालासोर सेन्दाङ नामक बुढो मानिसलाई खोजी ल्याउन पठाए र ल्याएपछि उनले जानेको मुन्धुम—शास्त्र जम्मै लेख्न लाए ।
सन् १९२७ साल जनवरी महिनामा चुम्लुङ सभाले श्री निर्मल लिम्बूलाई लिम्बूवान देशको फेदाप, आठराई थुमहरूमा किरात पाण्डुलिपिहरू खोजी ल्याउन पठाई आठराईबाट दुईवटा प्राचीन पाण्डुलिपिहरू खोजी ल्याए ।
सन् १९२८ सालमा श्री इमानसिंह चेम्जोङ कालेज पढ्न कलकत्ता जाँदा लोवर सक्र्युलर रोडको लालबजारमा बर्मा पुलिस डिपो कमान्डर सुबेदार बाजवीर थोलोङ लिम्बूसँग भेट गरी तीन महिना उनीसँगै बसी किरात लिपि पढ्न, लेख्न सिकाए । किरात लिपि पढ्न, लेख्न जानिसकेपछि उनले आफ्नो खर्च गरी किरात पहिलो किताब बनाई २००० कापी लिथोग्राफमा छापी सर्वप्रथम किरात समाजमा प्रचार गरे । भारत, बर्मा देशहरूमा रहेका सारा गोर्खापल्टनका लिम्बू—राई अफिसरहरूलाई पुस्तकहरू वितरण गरे ।
सन् १९२९ सालमा कालिम्पोङ निवासी श्री निर्मल लिम्बू र श्री जीवनदास राईले एक हजार किरात लिपिको पहिलो पुस्तक लिथोग्राफमा छापी सारा दार्जिलिङ, कालिम्पोङ र सिक्किम देशहरूमा बाँडे ।
सन् १९३० सालमा दार्जिलिङ निवासी श्री इकेबहादुर सेरिङ लिम्बू र श्री सिबी राई साँवाले एक हजार किरात लिपिको पहिलो पुस्तक छापी दार्जिलिङ, सिक्किम र लिम्बूवान देशतर्फ बाँडे । यसै साल उनले श्री इमानसिंह चेम्जोङलाई किरात दोस्रो पुस्तक लेख्न लगाई उनैले छापी उपर्युक्त देशहरूमा बाँडे ।
सन् १९३० साल जनवरी महिनामा लिम्बूवान देशको पाँचथर थुमको लोब्रेडाँडा, लालीखर्कवासी गुरु फाल्गुनन्द बाह्रजना चेलाहरू लिएर दार्जिलिङको लुङथाम बस्तीमा आई श्री इमानसिंह चेम्जोङसँग भेट गरी किरात साहित्य विषयको धेरै ज्ञान लिई लिम्बूवान फर्के । उनले लिम्बूवानका नामी २ सुब्बाहरूमध्ये तेह्र थुमका सुब्बा काजिमान लिम्बू, पाँचथरको भदौरे गाउँ बस्ने सुब्बा शेरबहादुर लिम्बू, चौबिस थुमका सुब्बा औसनसिंह लिम्बूहरूका घरघरमा गई किरात साहित्य प्रचार गरे ।
सन् १९३२ सालमा पूर्वी नेपालको लिम्बूवान प्रदेशको पाँचथर थुमको लालीखर्कमा १० लिम्बू १७ थुमका गैह्र लिम्बू—राईहरू भेला भई चुम्लुङ गरेर त्यस चुम्लुङमा श्री इमानसिंह चेम्जोङलाई निम्त्याइएको हुनाले उनी वहाँ गई किरात साहित्यबारे तीन दिनसम्म बसी भाषण गरी कुरा सम्झाई सारा किरातवंशलाई किरात भाषा पढ्न, पढाउन ठूलो प्रोत्साहन दिए ।
कालिम्पोङको डुम्रा(दोङ्ग्रो) बस्तीमा याक्थुङहाङ चुम्लुङ सभाको वार्षिक अधिवेशन भई बस्यो । औ (सबैले) किरात भाषा तथा साहित्यको प्रचार गरी नै बसे । जाम्बक मेमोरियल चुम्लुङ स्कुल खोली किरात साहित्य पढाउन सुरु गरे ।
सन् १९४८ सालमा श्री इमानसिंह चेम्जोङले सर्वप्रथम किरात इतिहास छापी प्रकाशमा ल्याए ।
सन् १९५१ सालमा सिक्किम देशको गान्टक निवासी श्री मनबहादुर खाम्धाक लिम्बू, श्री पद्मसिंह नुगो लिम्बू B.A.B.T. र श्री सन्तवीर खाम्धाक लिम्बू, सिभिल इञ्जिनियर र श्रीमती ए. चेम्जोङ, G.T. हरूले किरात साहित्यको प्रथम र दोस्रो पुस्तक छपाई देश—विदेशमा प्रचार गरे ।
सन् १९५५ सालमा लन्डन विश्वविद्यालयको एसियन एन्ड अफ्रिकन स्टडिजका प्रोफेसर मिस्टर आर.के. स्प्रिगले अघि सन् १८४० सालमा मिस्टर हज्सनले लिम्बूभाषामा लेखेको चौधवटा ग्रन्थहरू लन्डन विश्वविद्यालयको इन्डिया आफिस लाइब्रेरीमा लगी राखेको देखेछन् । उसले त्यो पुस्तकालयका अधिकारी मिस्टर सटनलाई यो कुन जातिको साहित्य हो भनी सोधपुछ गर्दा किरात जातिमध्ये लिम्बूभाषाको ग्रन्थ हो भनी जवाब दिनु भएछ । फेरि भन्नु भएछ कि यो मरिसकेको साहित्य हो । कारण यो लिपि पढ्ने कुनै किरात लिम्बू मानिस जगतमा जीवित छैन । यो कुरा सुनेर मिस्टर स्प्रिगले नेपाल देश आई कुनै लिम्बू किरातीले त्यो लिपि पढ्न सक्छन् कि भनी खोज्ने मन गरेछन् ।
उनले त्यो प्राचीन किरात पाण्डुलिपिका दुईचार पानाहरूको फोटोकपी निकाली काठमाडौं आएछन् । उनले काठमाडौं आई खालि लिम्बू मानिसहरूको खोजी गर्नलाग्दा कर्नेल बी.बी. चेम्जोङ र श्री तिलबहादुर लकसम लिम्बूहरू फेला पारेछन् । मिस्टर स्प्रिगले हर्षित भई ती दुईलाई त्यो प्राचीन किरात लिपिको फोटोकपी देखाएछन् तर त्यो देख्नासाथ दुवैजना अकमक्क परेछन् । कसले पढ्न सक्ला भनी सोधपुछ गर्दा दार्जिलिङको घुम पहाडबासी श्री काजीमान कन्दङवाले पढ्न सक्छन् भनी उसको ठेगाना दिएछन् ।
मिस्टर स्प्रिग सरासर घुम पहाड गई श्री काजीमान कन्दङवालाई भेटी उनलाई प्राचीन किरात लिपिको फोटोकपी देखाएछन् । उनले पनि पढ्न औधि कोसिस गरेछन् तर भनेजस्तो भएनछ र यस्तो लिपि पढ्ने मानिस एकजना छन् तर उनी इलाम बस्छन् । उनलाई इमानसिंह चेम्जोङ भन्छन् भनिदिएछन् ।
मिस्टर स्प्रिग हतोत्साहि भई कालिम्पोङ डुम्राबस्तीको जाम्बक मेमोरियल चुम्लुङ स्कुलमा गएछन् । वहाँको याक्थुङहाङ चुम्लुङ सभाको सभापति कप्तान कैनवीर लिम्बूलाई भेटी त्यो प्राचीन लिपिको फोटोकपी देखाएछन् तर उनी पनि अलमलिएछन् र सभा डाकी सबै सदस्यगणलाई त्यो पाण्डुलिपि देखाएछन् । सबैले निरीक्षण गरेछन् तर सबै अकमक्क परेछन् । कसैले त्यो पाण्डुलिपि पढ्ने आँट गर्न सकेनछन् । अब कसो गर्ने हो ? यो लिम्बू लिपि पढ्ने मानिस सबै मरिसके भनी मिस्टर सटन भन्नुहुन्थ्यो । हो कि क्या हो भनी मिस्टर स्प्रिगले भन्दा बाबु बुद्धिमानसिंह चेम्जोङले भनेछन् । यो पाण्डुलिपि पढ्ने एकजना छन् तर यहाँ छैनन् । इलाम बस्दछन् । उनले निश्चय नै पढिदिनेछन् भनी मिस्टर स्प्रिगलाई इमानसिंह चेम्जोङको इलामको ठेगाना लेखी दिएछन् ।
त्यसपछि मिस्टर स्प्रिग सिक्किम गान्तोक गई वहाँका त्यस बेलाका चिफ मिनिस्टर टी.डी. देन्साप्पासँग भेट गरेछन् । उनलाई पनि प्राचीन किरात लिपिको फोटोकपी देखाएछन् । उनले पनि भनेछन् । यस्तो लिपि पढ्ने मानिस अघि यहाँ सिक्किम सरकारको रेभेन्यु अफिसर (रेभेन्यु इन्सपेक्टर) काम गर्थे । अहिले काम छाडी इलाम गएका छन् । उनको नाउँ इमानसिंह चेम्जोङ हो । टी.डी. देन्साप्पाको यस्तो कुरा सुनेपछि मिस्टर स्प्रिगलाई पूरा विश्वास भएछ र उनी वहाँबाट कालिम्पोङ फर्की आई हिमालय होटेलमा बसी इमानसिंह चेम्जोंङलाई इलामको ठेगानामा पत्र लेखेछन् र मैले उसको चिट्ठी पाएँ ।
तसर्थ म झट्टै कालिम्पोङ गई त्यो प्राचीन किरात लिपि पढी अर्थ लगाइदिएँ । मिस्टर स्प्रिग खुसी भई दुई हप्तासम्म वहाँ नै बसी मसँग किरात लिपि सिखे ।
त्यसै प्राचीन किरात लिपि पढ्दा मैले अघि सारा किरातवंशमा सिकाएको किरात लिपिभन्दा केही बढ्ता लिपिहरू भेटेँ । अघि सिकाएका किरात लिपिहरूमा ठूलाखाले लिपिहरू मात्र रहेछन् । प्राचीन किरात लिपिहरूमा सानाखाले लिपिहरू संयुक्त अक्षरका रूपमा लेखिएको भेटें । त्यो सानो खाले संयुक्ताक्षर नजानी प्राचीन लिपि पढ्नै गाह्रो हुँदो रहेछ भन्ने भेटें । ठूलो खाले लिपि जसले पनि जानेको थियो औ पढ्न सक्ने थिए तर सानो खाले संयुक्ताक्षरले गर्दा सबै बुढापाका लिम्बूहरू अलमलिएका रहेछन् भन्ने बुझें ।
तसर्थ ठूलोखाले लिपिसँगसँगै सानोखाले लिपि पनि नसिकाई नहुने रहेछ भनी मैले मिस्टर स्प्रिगलाई दुवैखाले ठूला—साना लिपिहरू सिकाई दिएँ ।
त्यसपछि सारा किरातवंशमा पनि ठूला—साना दुवैखालका अक्षरहरू सिकाउन सुरु गरें । नबुझ्नेहरू दुई प्रकारको लिपि भयो भनी कराई हिँडे तर मैले राम्रो बुझाएपछि सबैले कुरो बुझी यो किरात लिपि अझ राम्रोतवरले सिकी लेख्न सुरु गरे । यो किरात लिपिको बनावट हिन्दी—नेपाली लिपिको बनावटसँग ठ्याम्मै मिल्दैन । यो किरात सभ्यताको ठूलो देन हो । किरात साहित्य अध्ययन गर्ने विद्वान्हरूले यसको महत्व बुझ्न सक्छन् ।
यस्तो प्रकारले सन् १९६१ सालमा मैले नेपाल काठमाडौंको विश्वविद्यालयमा बसी किरात साहित्यको प्रथम किरात पाठ्यपुस्तक लिथोग्राफमा छापी नेपाल, सिक्किम, दार्जिलिङ, कालिम्पोङ, आसाम, बर्मा, मलया र सिङ्गापुरसम्म प्रचार गरें । यो मैले गरेको मिहिनेतलाई सर्वप्रथम बर्माबासी स्वर्गीय हवल्दार मनबहादुर मादेम सेरिङ लिम्बूले हृदयले स्वागत गरी सारा बर्मा देशबासी किराती जातिका माझमा हातैले लेखीलेखी प्रचार गरे । त्यसको फलस्वरूप सन् १९६३ सालमा त्यस देशका भलापञ्चहरूमध्ये श्री हस्तबहादुर राई, श्री हर्षबहादुर राई, कप्तान ज्ञानबहादुर, कप्तान कृष्णबहादुर राई, कप्तान रणबहादुर लिम्बू, कप्तान नरध्वज लिम्बू र हवल्दार मनबहादुर मादेम सेरिंग लिम्बूहरू एकमत भई मेम्यो सहरमा “अखिल बर्मा किरात संघ” नामक संस्था गठन गरे औ किरात साहित्यको ठूलो प्रचार गरे । त्यसैबेला गान्तोक बस्ने श्री फिपराज खेवा लिम्बू र उत्तरे बस्ने श्री पदमसिंह साक्वादेन लिम्बूले किरात लिपि खुब प्रचार गरे । फेरि सिक्किमको लिङजम बस्ने लालमान नुगो लिम्बू र चन्द्र माङथुङ लिम्बूहरूले किरात लिपि खुब प्रचार गरे ।
फेरि सन् १९६७ सालमा दार्जिलिङ सहरबासी येइङसा जमादार जसहाङ मादेन खेवा लिम्बूले त्यो मैले प्रचार गरेको किरात साहित्यलाई हृदयले स्वागत गरी सारा दार्जिलिङ, कालिम्पोङ, सिक्किम र नेपाल देशहरूमा आफ्ना हातले लेखीलेखी प्रचार गरे । त्यसको फलस्वरूप त्यसै साल दार्जिलिङको भुटिया बस्तीमा वहाँका भला पञ्चहरूमध्ये श्री डी.बी. सेत्लिङ लिम्बू B.A. Hon., सुबेदार जी.बी. इजम लिम्बू, सुबेदार डी.बी. योङया लिम्बू, सर्दार बहादुर O.B.I. कर्नेल जे.बी. सेरिंग लिम्बू, सुबेदार डी.बी. खेवा लिम्बू, श्री आर.बी. आङभाङ लिम्बू B.A., लप्टन एच. बी. लिम्बू, श्री डी.एच. खेवा लिम्बू, टी.बी. सेत्लिङ लिम्बू, सुबेदार नरधोज पालुङवा लिम्बू, श्री के. एस्. सेरिङ लिम्बू, जमादार जसहाङ मादेन येइङसा लिम्बू, एडभोकेट बी.बी. लिङ्खा देवान, कप्तान पी.एस. मेन्याङबो लिम्बू, लप्टन एन. बी. कन्दङबा लिम्बू, एडभोकेट पी.एल. खाबेपुङ लिम्बू, कप्तान बी.बी. साम्बा लिम्बू, श्री महाजन लक्ष्मण लावती लिम्बू श्री नारायण नेम्बाङ लिम्बू गैह्र एकमत भई “अखिल भारतीय किरात चुम्लुङ एसोसियन” गठन गरी कर्नेल जसबहादुर सेरिङ लिम्बूलाई त्यस चुम्लुङको सभापति चुने । औ किरात साहित्यको प्रथम पाठ्यपुस्तक एक हजार कापी छापी सारा किराती समाजमा वितरण गरे । त्यसपछि अखिल भारतीय किरात चुम्लुङ दार्जिलिङको उपसभा(शाखा)हरू मिरिक किरात चुम्लुङ, बिजनबारी किरात चुम्लुङ, सिङला किरात चुम्लुङ, लोधोमा किरात चुम्लुङ, बाँसबोटे किरात चुम्लुङहरू गठन गरी किरात साहित्यको धुमधाम प्रचार गरे । मिरिक चुम्लुङका सभापति सुबेदार धनबहादुर खेवा लिम्बू र बाँसबोटे गाउँको चुम्लुङका सभपति हिलिहाङ काम्बाङ लिम्बूले घरघर घुमीघुमी किरात लिपि प्रचार गर्दैछन् ।
सन् १९६८ सालमा विजयपुर धरान बजारमा मेजर धनबहादुर सेरिङ लिम्बूको सभापतित्वमा एक चुम्लुङ खोली एक हजार प्रथम किरात पाठ्यपुस्तक छापी इन्सपेक्टर पहलसिंह फेन्दुवा लिम्बू, जमादार हर्षप्रसाद नेम्बाङ लिम्बू, मेजर हवल्दार कर्णबहादुर तप्पाबुङ लिम्बू लप्टन पदमबहादुर लिम्बू र सुबेदार मेजर प्रेमसिंह सेत्लिङ लिम्बूहरूद्वारा सारा लिम्बूवान देशमा प्रचार गरिए ।
सन् १९७० सालमा कालिम्पोङ ढुम्राबस्तीको चुम्लुङ सभाको सभापति सुबेदार विक्रमसिंह सोङबाङफे लिम्बूले कालिम्पोङका सात गाउँमा किरात लिपि प्रचार गरे ।
सन् १९७१ सालमा अखिल भारतीय किरात चुम्लुङ एसोसिएसन, दार्जिलिङले दार्जिलिंङ सहरको दुःख निवारण भवनमा किरात समाजको आमसभा राखी नेपाल त्रिभुवन विश्वविद्यालयको किरात भाषा तथा साहित्यको विशेषज्ञ श्री इमानसिंह चेम्जोङलाई निमन्त्रणा दिई निम्नलिखित अभिनन्दन पत्र चढाए ।…
स्रोतः किरात साहित्यको इतिहास, (पहिलो संस्करण विसं.२०१३/१९५६, चौथो संस्करण वि.सं.२०५९/सन् २००३) ।
यो आलेख प्राज्ञ अमर तुम्याहाङको फेसबुक वालबाट साभार गरिएको हो । सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *