यो हो प्रशिद्ध धार्मिक थलो– लिब्जु (भिडियोसहित)

कला साहित्य -संस्कृति

गणेश वाम्बुले राई
काठमाडौं । किरात वाम्बुले राई जातिको प्रशिद्ध धार्मिक थलोको नाम लिब्जु हो । यो मूलतः एक पहाडको नाम हो । तर धार्मिक आस्थाका आधारमा सुखसमृद्धि, शक्तिको प्रतीकका रूपमा लिब्जु उपो (लिब्जु बाजे) भनेर पुकारिन्छ ।

संघीय नेपाल प्रदेश–१ ओखलढुंगा जिल्लाको दक्षिणी भेग मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ वाक्सा, वडा नं.३ वामद्याल र वडा नं.४ केतुकेको संगम चुचुरो हो लिब्जु उपो थान । यहाँका किरातीले मात्र होइन, सबै जातजाति, भाषाभाषीले धार्मिक आस्थाका रूपमा पूजा गर्दछन् । उहिलेदेखि अहिलेसम्म मालेगोरु साँढे छोड्दछन् ।

यही २०७८ फागुन महिनामा नेपाल टेलिभिजन (एनटीभी) इटहरीले लिब्जु धार्मिक स्थलबारे एक रिपोर्ट निर्माण गरी प्रसारण गरेको छ । एनटीभी इटहरीका प्रमुख पुष्पहरि क्याम्पाराईले यो रिपोर्ट तयारी पार्नु भएको हो ।

लिब्जु उपो आस्थाको धरोहर हो । यो उहिल्यैदेखि थियो । २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भएपछि वाम्बुले राईमात्र नभई अरु समुदायले समेत यो नाम सुन्दैआएका हुन् ।

लिब्जु धार्मिक स्थलको बारेमा ड्रोन क्यामेरा प्रयोग गरी बसन्त ऋतुको बेला छायाङ्न गरी प्रसारण गर्ने काम पहिलो पटक भएको छ ।

लिब्जु देवस्थल पहाडको प्राकृतिक र सांस्कृतिक पर्यावरणलाई निरन्तर राख्दै संरक्षण, विकास, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले लिब्जु उपो सामाथान संरक्षण समाज, नेपाल संस्था २०७२ मंसिर १० गते स्थापना भई क्रियाशील छ । वडा नं.२ का अध्यक्ष उमेश कार्कीले विशेष प्राथमिकताका साथ लिब्जु धार्मिकस्थलको भौतिक सुधारको काम गर्नु भएको छ ।

किरात वाम्बुले राई जातिहरूले लिब्जु सामा (पुजा) वैशाख पूर्णिमा, जेठ पूर्णिमा र भदौ पूर्णिमा गरी वर्षको तीन पटक पुजा गरी मनाउँदछन् । त्यसमध्ये जेठ पूर्णिमा लिब्जु पूजा गर्ने विशेष दिनको रूपमा लिइन्छ ।

परापूर्वकालमा पुर्खाहरूले माले गोरुको बलि दिएर लिब्जुमाथि जुरो चढाउँथे । तर नेपालमा हिन्दु अधिराज्य घोषणा गरी गाईलाई राष्ट्रिय जनवार बनाइयो । सरकारले कानुनद्वारा गाई, गोरु काटमार गर्न प्रतिबन्ध लगायो । त्यसपछि भाकलअनुसार लिब्जु उपोको नाममा माले गोरु साँढे छोड्ने चलन चल्दैआएको छ ।

यही भिडियो रिपोर्टमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको पहलमा निर्माण भएको स्वालेवा पार्कको समेत चर्चा रहेको छ ।
एनटीभी इटहरीको युटुब च्यानमा रहेको भिडिको पूर्ण अंक तल हेर्न सक्नु हुनेछ :

https://www.youtube.com/watch?v=aR_rBAOc9Eg

Leave a Reply

Your email address will not be published.