राष्ट्रिय विभूति फाल्गुनन्द जयन्तीमा स्थानीय तहले बिदा दिए

समाचार

लिभु संवाददाता
काठमाडौं– राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तिको अवसर पारेर ताप्लेजुङका २ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । कार्तिक २५ गते फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाले आफ्नो क्षेत्रमा सार्वजनिक बिदा दिएका हुन् ।

आफ्नो अधिकारको प्रयोग गर्दै नगरपालिकाले गत वर्षदेखि नै फाल्गुनन्द जयन्तिको दिन बिदा दिन थालेको प्रमुख प्रशासकिय अधिकृत श्रवणकुमार पोख्रेलले बताए । कार्तिक १८ गते बसेको गाँउकार्यपालिकाको २९ औं बैठकले बिदा दिने निर्णय गरेको गाउँपालिका प्रमुख सरोज एभेङ लिम्बुले बताए ।

यसैबीच फाल्गुनन्दको १ सय ३४ औँ जन्म जयन्तिका कार्यक्रमहरु ताप्लेजुङमा शनिबारबाटै सुरु भएका छन् । जन्मजयन्तिको पूर्वसन्ध्यामा शनिबार ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । किराँत धर्म तथा साहित्य उत्थान संघले शनिबार बिहान अस्पतालमा उपचार गराइरहेका १० जनालाई फलफूल प्रदान गरि शिघ्र स्वास्थ्य लाभको कामना गरेको हो ।

फाल्गुनन्दको जन्मदिन पारेर कार्तिक २५ गते आइतबार विषेश कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका किराँत माङ्हिम (मन्दिर) हरुमा पूजाका साथै शुभकामना आदानप्रदान र अन्तरक्रिया कार्यक्रम राखिएको किराँत धर्म तथा साहित्य उत्थान संघका जिल्ला सचिव ज्ञानु फुरुम्वोले जानकारी दिए ।

किराँत समाजकका सुधारक, मुन्धुम (लिम्बू जातीको वेद) को संरक्षण कर्ता तथा धार्मिक अगुवाका रुपमा फाल्गुनन्दलाई चिनिन्छ । वि.सं १९४२ साल कातिक २५ गते इलामको माङ्स्वुङमा फाल्गुनन्दको जन्म भएको थियो । किराँती संस्कृतिको सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल सरकारले २०६६ साल मंसिर १६ गते उनलाई विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको मृत्यु २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा भएको थियो ।

यता झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.