किरात कोँइच (सुनुवार) जातिको भेषभुसा

जीवनशैली

शोभा सुनुवार (जुलियट)

परम्परादेखि समाजमा विकास भएका किरात कोँइच (सुनुवार) जातिको मौलिक भेषभूषाबारे यहाँ चर्चा गरिएको छ ।

पुरुष भेषभुसा
उहिले सुनुवार पुरुषले दौरा, सुरुवाल लगाउने चलन थिएन । भाङ्ग्राको देँदेँ लगाउँथे । दौरा–सुरुवाल जस्तो तर ठ्याक्कै त्यो होइन । सुरुवाल सोते परेको इजारवाला हुन्थ्यो अनि दौरा जस्तो देँदेँ लगाउँथे । पछिल्लो समय यो बनाउने मान्छे नभएपछि कपासको धागो कातेर बनाउने लुगा पनि हराएको अवस्था छ । लुक्नी, ज्वारी कोट, आँबरा, फेँगा सबै लोप भइसके । फेँगा भाङ्ग्र्राबाट बनाउथे । लुक्नी भेडाको ऊनबाट अनि आँबरा गर्भे भेडाको नरम खाले उनबाट बनाउथे ।

क्युप्ते/ताकी— यिनीहरू भाङ्ग्र्रा अनि ऊनबाट बनाइन्छ । क्युप्ते चाहिँ घाम छेक्ने खालको काने टोपीजस्तै हुन्छ ।

फेनेरेल्फु— यो विशेष गरी अल्लोको लोक्तालाई प्रसोधन गरी धागो बनाएर काठको सुइरोले बुनेर बनाइन्छ । उबेला रङ नहुने हुँदा विभिन्न जडिबुटी मिलाएर रङ बनाएर डुबाएर रंग्याएर फेनेरेल्फु बनाइन्छ । यो खासगरी एक किसिमको कवच पनि हो । रङले विभिन्न नराम्रो शक्तिलाई परावर्तन गरिदिन्छ । जडिबुटीको रङको कारणले रोग ब्याध पनि नलाग्ने हुन्छ । अनि सप्तरङ्गी रंगमा बनाउँदा इन्द्रेणीको प्रतीक मानिन्छ । यो फेनेरेल्फु जालि रुमालमा चराचुरुङ्गीको पखेटा पुच्छर कल्पना गरी बुनेको हुन्छ । त्यो नक्कल ढोल नाचमा गरिन्छ । प्रकृतिसँग जोडिएको हुन्छ । पात ओढेर कल्पना गरेर यो फेनेरेल्फु बनाइन्छ ।

क्लातोली कम्बरी– यो कम्बरमा लगाउने एक प्रकारको पैसा राख्ने, बोक्ने थैली हो । यसलाई सियोले बुनेर बिचमा बन्द गरेर दुइतिर मुखबाट पैसा हालेर बोक्ने गर्छन् । हाट बजार मेलामा जाँदा पैसा सिक्का हालेर बोक्ने गर्छन् । कसैले रिस उठायो भने कम्बरीमा डम्बरी छ के सोचेको छ भनेर धाक लाउने चलन अझै पनि छ । यो ३, ५, ७ रंगले बनाएको हुन्छ । तर आजभोलि यो प्याटनमा बनाउन छोडिसके ।

किप्स्युर— यो पटुका उहिले खागीको लगाउँथे र खेसको पनि हुन्छ । अल्लोबाट घरमा पनि तान लाएर बुनेर लाउँथे । पटुका लाउँदा सिरुपाते खुकुरी भिर्न सजिलो हुने अनि ढाड नदुख्ने हुन्छ । यो भिर्दा शक्ति पनि आउछ भन्ने चलन छ । तर अहिले यो सबै बिस्थापित भयो ।

महिलाको भेषभुसा

लेम्फिम— चौबन्दी चोलोको साटो पहिला लेम्फिम लगाइन्छ । चारतिरबाट तुना भएको पुरुषको देँदेँ जस्तै तर अलि छोटो हुन्छ । कुममा मुजा हुन्छ । हातमा पट्टिमुजा हुन्छ । यसको भित्री भागमा गोजी हुन्छ ।

गुने– सुनुवार महिलाहरूले उहिले १२ हातको गुने लगाउँथे । गुनेलाई मुजा बनाएर पोटि बनाएर तयारी गरेर राख्ने अनि पछाडि भागमा माछाको काँडा आकारको कैचे बनाएर लगाउँथे । यो चलन अहिले हराएर गयो ।

पानवा— जुत्ताको ठाउँमा पानवाले छालाको अगाडि पान जस्तो बनाएर सिलाएर लगाउँथे । अहिले यो सबै बिस्थापित भएको छ।

किप्सुर— कम्बरमा १२ हाते पटुका लगाउँथे । अल्लोको पटुका बनाएर लगाउँथे । कपासको धागोको बुनेर लगाउँथे । खेसको पनि लगाउँथे । अहिले यो सबै सुती कपडाले ठाउँ लिएको अवस्था छ ।

सेलेची— यो कपालमा लगाउने गहना हो । चाँदीको वा सिल्बरको रिङ बनाएर धागोलाई ओखरको बोक्रामा रङ पकाएर बनाएको हुन्छ । यो सेलची मायाको चिनो केटाले दिने चलन थियो ।

कोतोम्बेची— यो अगाडिको भाग कालो मखमल कपडा अनि पछिल्लो भाग गुनेको कपडा काटेर बनाएको हुन्छ । अगाडि भागमा बुट्टा भरिएको र गोजी हुन्छ । गोजीमा लहरै टाँकको बुट्टा सजाएको हुन्छ । अनि चाँदीको पैसाको हार बनाएर चिल्खी बनाएर बनाएको हुन्छ । यो आजभोलि त्यति लगाएको पाइँदैन । कताकती अझै लगाउँछन् ।

कुप्नी— कुप्नी कपासको धागो अल्लोको धागोबाट बुनेर बनाएको हुन्छ । रङबिरङमा लगाउँछन् । कुप्नी लगाउँदा लुक्यु तालुमा हावा पनि पस्दैन भन्ने विश्वास गरिन्छ । अनि सेतो रातो तुलको कुप्नी बिबाहित महिलाहरूले लगाउँछन् । रातो रंग ऊर्वरा शक्ति वा न्यानोको प्रतीक हो ।

किप्सुरफेने— यो पहिला बिबाहित सुनुवार महिलाहरूले पटुकीको फेरमा झिल्झिले गेडी सजाएर धागोको फुर्का बनाएर पटुकी फेर पात बनाएर लगाउँथे । अहिले पटुकीभन्दा छुट्टै बनाएर माछाकाँडे आकारमा बनाएर लगाउँने चलन छ । यो यसरी लगाउँदा चिसो नपस्ने सर्दीबाट जोगिने विश्वास गरिन्छ ।

चुमरेम— थैली चुमरेम यो धागोबाट बुनेर यसलाई झिल्झिले गेडी सजाएर फुर्का बनाएर पटुकीभित्र घुसाएर फुर्का बाहिर निकालेर बोक्ने चलन छ । यो थैली बुन्दा आउने जाने भनेर गनेर मुजाको नाप बनाएर सुर्काउने डोरी झुम्का हालिन्छ । गन्दा आउनेमा चाहिँ सुर्कने बनाउनु पर्छ । जानेमा बनायो भने पैसा बस्दैन जान्छ भन्ने विश्वास छ । यो केटीले केटालाई बुनेर मायाको चिनोको रूपमा दिने चलन अझै छ । केटाले यो थैली ज्वारी कोटको गोजीमा फुर्का झारेर बोक्छन् ।

लुजे बास— यो चोलीको तुनामा कसेर बोक्ने सियो भाँडा हो । उहिले बस्तुभाउ हेर्दा अनि कतै जाँदा केही गरी लुगा फाटेमा सियोले सिलाउनको लागि सियो दानी बनाएको हो । बाँस, निगाला अनि मालिङ्गोलाई एकातिर प्वाल भएको आँखा एकातिर भएको सियो आकारमा काटेर धागोले सुन्दर तरिकाले बुनेर झिल्झिले गेडी हालेर फुर्का हालेर बनाइन्छ । बोक्न सजिलो सुन्दर पनि देखिने हुन्छ । उहिले बनमा बस्तु चराउँदा यो सियो दानी बुन्दै गर्दा भालुले महिलालाई आक्रमण गर्दा त्यो बुन्दै गर्दा हात पछाडि लाँदा सियोले भालुलाई अन्जानमा नाकमा घोची दिएकोले भालु भागेको र त्यो सुनुवार महिलाको ज्यान जोगिएकोले यसलाई रक्षा कवचको रूपमा पनि लिइन्छ ।

ज्ञान— आँबरा बनाउँदा गर्भे भेडाको अलि कलिलो नरम ऊनको बनाउँदा तातो हुन्छ । लुक्नी, राडी बनाउँदा भेडाको ऊन १ नम्बरको छानेर बनाउँदा धेरै समय टिक्ने र बाक्लो हुन्छ भन्ने ज्ञान रहेको पाइन्छ । अनि फेनेरेल्फु जालिरुमालको कल्पना सात रङ इन्द्रेणीमा हुन्छ । जसले विभिन्न रङले खराब शक्तिलाई परावर्तन गरी जित हुने ज्ञान हुन्छ । यसलाई ढाल कवचको प्रतीक मानिन्छ । पटुकी किप्सुर लगाउँदा शक्ति आउने, पेटमा चिसो नपस्ने ज्ञान हुन्छ ।
ठूलो गल्ठाको गुने लगाउँदा शरीर तातो भइरहने अनि सुत्केरी महिलाले पटुकीको फेरलाइ फेने बनाएर पछाडि भागमा लगाउनाले चिसो नपस्ने ज्ञान वैज्ञानिक हो । त्यसैगरी कुप्नी लगाउँदा टाउको तालुमा चिसो नपस्ने अनि रातो रङले ऊर्वरा शक्ति दिने मानिन्छ । जसले सन्तान उत्पत्ति गर्छ भन्ने ज्ञान हुन्छ ।

तस्बिर : गणेश वाम्बुले राई

(लेखिका शोभा सुनुवार, सुनुवार महिला समाजको अध्यक्ष हुनुहुन्छ । यो लेख ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक वर्ष ९ अंक १७, पूर्णाङ्क ९०, २०७९ साउन–असोज (किरात येले संवत् ३८०१/सन् २०२२)मा प्रकाशित छ । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *