जन्मघर गाउँतिर टहलिदै भूपू गोर्खामेजर भिमबहादुर राई (अन्तर्वार्तासहित)

जीवनशैली

लिभु संवाददाता

आठ वर्षपछि जन्मथलोमा नाताआफन्तसँग कुराकानी गर्दै भूपू गोर्खामेजर  फोटोहरु ः प्रताप राईको फेसबुकबाट

ओखलढुंगा – भूतपूर्व गोर्खामेजर भिमबहादुर राई उमेरले ८१ वर्ष पुग्नु भएको छ । साथमा लौरो छ । छोरा, नाति छन् । दुई दशकदेखि काठमाडौं बसोबास छ । रक्तचाप (ब्लड प्रेसर)ले गर्दा उपचारको निहुँमा काठमाडौंको कोटेश्वरस्थित घरमा छोरा, बुहारी, नाति नातिनीका साथ रहनु भएको छ ।


यसपटक (२०७४ साल फागुन १६ गते) का दिन जन्मथलो जेरुङगाउँ पुग्नु भयो । २०६७ सालमा धर्मपत्नी सलमाया राईको निधनपछि बर्खान्त खाउमो गर्न पुग्नु भएको थियो । त्यसपछि काठमाडौंमै हुनुहुन्थ्यो । ‘पापा पहिलेभन्दा तगडा हुनुहुन्छ,’ उहाँको कान्छो छोरा प्रताप राई भन्नुहुन्छ, ‘यसपटक कटारीमै हुनुहुन्छ । यही बेला गाउँघर जाऊँ भन्नुभयो । दाजुभाइ, चेलीबेटी, भानाभान्जी, इस्टमित्र भेट्न पुग्यौं । घरचाहिं भूकम्पले जरजर बनाएकोले बास बस्ने अवस्था छैन ।’
उहिले जेरुङगाउँ अनकन्टार थियो । अहिले यही गाउँभएर कटारी–ओखलढुंगा–सोलुखुम्बु सडक बनेको छ । यहाँको जनजीवन सर्वसुलभ बनेको छ ।

‘पहिलो छुट्टीमा आमालाई सुन किनेर तोला बनाएर दिएँ’

-भूतपूर्व गोर्खा मेजर भिमबहादुर राई

अन्तर्वार्ता दिंदै भूपू गोर्खामेजर भिमबहादुर राई

भूतपूर्व गोर्खा मेजर भिमबहादुर राईको जन्म वि.सं.१९९३ साल भदौ १५ गते (सन् १९३७ नोभेम्बर २५) पूर्व ३ नम्बर ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँ पंचायत वडा नं.५ जेरुङगाउँमा भएको हो । अहिले यो गाउँ संघीय प्रदेश–१ ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नंं. ५ मा पर्दछ । उहाँको बुबाको नाम जसु राई र आमाको नाम जिउसरी राई हो । उहाँ जेरो लाहिम्चो पाछाको हुनुहुन्छ । दुई दाजुभाइमध्ये उहाँ कान्छा हुनुहुन्छ । उहाँको दाजुको नाम भक्तबहादुर राई हो । दुई दिदी र बहिनी हुनुहुन्थ्यो । उहाँले मानेभन्ज्याङ–५ उदयपुर कोक्टोम्फुको सलमाया राई (भावाचाचो)सिता विवाह गर्नुभयो । भिमबहादुर र सलमाया दम्पतिको दुई छोरा र तीनजना छोरी हुनुहुन्छ ।

भिमबहादुर र सलमाया दम्पति

जेठो छोरा उत्तम र कान्छा प्रताप, छोरीहरु क्रमशः उना, शिरु र रुक्मणी हुनुहुन्छ । जेठो छोरा उत्तम र बुहारी मिताको दुई नाति सागर र निशान (ब्रिटिस आर्मी गोरापल्टन इन्जिनियरिङ इन्जिनियर पल्टन, इन्टेक २०१७) रहेका छन् । कान्छो प्रताप र बुहारी सुनिताको छोरी सुप्रिना र छोरा इशान रहेका छन् । छोरीहरुको विवाह भई घरजम गरेर रहनु भएको छ ।

जेठा छोरा उत्तम राई तथा परिवार

 

मेजरसापसँगै कान्छा छोरा प्रताप राई तथा परिवार

सामान्य कृषक परिवारमा जन्मेर ब्रिटिश गोर्खा सैनिकमा भर्ती भई मेजर जस्तो उपल्लो तहमा पुग्न सफल ओखलढुंगा जिल्लाकै एकमात्र वाम्बुले राई परिवारका सदस्य हुनुहुन्छ, भिमबहादुर राई । उहाँको पुख्र्यौली घर यथावत कायम छ भने दाजुभाइहरु गाउँमै रहनुभएको छ । उहाँले २०३६ सालमा उदयपुरको कटारीमा घरजग्गा जोड्नु भएको छ । राईस मिललगायतका उद्यम सुचारु छ । उहाँ वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको संरक्षक सदस्य हुनुहुन्छ । दुई दशकदेखि रक्तचाप पीडित हुनुभए पनि शारीरिक व्यायामले गर्दा अहिलेसम्म तन्दरुस्त हुनुहुन्छ । उहाँको बाल्यकालदेखि तन्नेरीकाल, गोर्खा सैनिक जीवन र अवकाशपछिको अनुभव तथा इतिवृत्तिबारे केही कुराकानी गरिएको छ । २०७२ कात्तिक २९ गते कोटश्वरस्थित उहाँको घरमा ‘लिब्जु–भुम्जु’का सम्पादक गणेश वाम्बुले राई र सहसम्पादक बिकास राई ‘सौगात’ले मेजर साबसित उहाँका कान्छा छोरा प्रताप राई तथा नातिनी सुप्रिना र नाति इशानसहित गरिएको कुराकानी ‘लिब्जु–भुम्जु’ पूर्णाङ्क ६३, २०७२ मा प्रकाशित छ । उक्त अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ः

तपाईको पूरा नाम के हो ? बाल्यकालमा बोलाउने नाम पनि थियो ?
भिमबहादुर राई हो । अरु नाम थिएन । बाबुआमाको कान्छो छोरो परियो ।

तपाईको बाबु र आमाको नाम के हो ?
बाबु जसु राई र आमा जिउसरी राई हो । मावलीचाहिं हिलेपान हो ।

बाजेका नामचाहिं के थियो ?
बाजेको नाम बमदल राई हो ।

तपाई कति दाजुभाइ दिदीबहिनी हो ?
मेरो एउटा दाजु थियो । मरिसक्यो । मेरो तीन दिदीबहिनी थिए ।

तपाई कुन पल्टनको हो नम्बर सम्झिनु हुन्छ ?
टेनजीआर २११५४९१२७४ हो ।

जेरुङ गाउँमा कति पुस्तादेखि बसोबास गरेको होला ?
चार पुस्तादेखि भन्ने छ ।

तपाई कति वर्षमा भर्ती हुनुभयो ?
म बोई भर्ती भएको हो । चौध वर्ष जतिको थिएँ होला । बोई भर्ती भएर दुई वर्ष त्यसै पढेर बस्नु प¥यो । त्यसपछि बल्ल पल्टनमा लागें ।

भर्ती हुँदा तपाईको उचाई कति छ ?
म यति नै छु कति हो । (लामो हाँसो) । सर्टिफिकेटमा पाँच फिट लेखिएको छ । भर्ती हुँदा म सानै थिएँ ।

कहाँबाट भर्ती हुनुभयो ?
इन्डियाबाट । सर्टिफिकेटमा जीडी लेहरा भन्ने छ ।

त्यतिखेर कति पढ्नु भएको थियो ?
त्यतिखेर हामीहरुले पढेकै छैन । पहाडमा पढ्ने चलन थिएन । पढ्ने ठाउँ (स्कुल) थिएन । घाँस दाउरामात्रै गथ्र्यौ हामीले । भर्ती लागेपछि पढ्न पाएँ । दुई साल चुप्प बसेर पढें । खानु, बस्नु, पढ्नु मात्रै गरियो । आर्मीमा गएपछि एक साल ट्रेनिङ गरियो । त्यति बेलामा लडाइँ भयो । त्यसपछि लडाइँमा गयौं ।

तपाईलाई भर्ती लाग्नु पर्छ भनेर कसले सिकायो ?
मलाई खास आर्मी जाउँ भन्ने लागेको होइन । साथीभाइहरुले जाउँ भन्ने कुरा गरे । हिंडेर इन्डिया गयौं । खास लैजाने मान्छे हिलेपानीको थियो । उसले लग्यो । हिलेपानीको दुधकोसी किनारको थियो, गल्लावाल । साथीहरु कोही लागेन । मलाई मात्र लियो ।

बुबा–आमाले भर्ती जा भनेर जानुभयो कि आफैं ?
म त्यसै भागेको थिएँ । मेरो बाबु, आमाले जान नदिने । पहिला भागेर हिडेको थिएँ । हिलेपानी पारि बहादुर खोला पुग्दै गर्दा बाबुले पक्रेर फर्काउनु भयो । एकसाल घरमा बसें । त्यसपछि फेरि सुट्टै भागेर हिंडें । भागेर लुक्दै लुक्दै कटारी पुगें । साथीहरु थिए । त्यहाँबाट हिंडेर इण्डिया गयौं । सबै भन्न सक्दिन । दिमाग त छ । तर भन्न सक्दिन ।

भर्ती भएर कसरी प्रगति गर्नुभयो ?
पहिला मलायामा हामीले स्पेसल पढ्यौं । हामीहरु आर्मीमा सानो भरखरका थियौं । अरु बुढाहरु थिए । उनीहरु पढ्न, लेख्न जान्दैनथे । म पनि पढ्न सुरु गरें । सिपाहीमा लागेपछि केही थिएन । लडाइँमात्र गर्नुपर्ने । लडाइँ सकियो । लडाइँ सकिएपछि काम गर्ने मौका पायौं । पढ्ने मौका पाएँ । त्यसैले मैले प्रगति गर्न सकें । त्यसो गर्दा गर्दै आखिर म अफिसर भएँ ।


मौका पाउँदैमा पढ्दैनन् नि ? तपाईले चाहिं कसरी पढ्नुभयो ?
हो नि मैले पढ्ने मौका पाएँ । मेरो साथीहरुमाझ म राम्रै थिएँ । मेरो प्रतिभा र ज्ञान देखेर गोरा अफिसरहरुसमेत खुशी हुन्थे । हौसला मिल्यो । आर्मीको नियम पालना गर्दै पढाइमा पनि संघर्ष गरें । मिहिनेतसँगै भाग्य मिल्यो भने राम्रै हुनेरहेछ भन्ने लाग्यो ।

भर्ती भएर कति वर्षमा छुट्टी आउनु भयो ?
भर्ती लागेर सुरुमा मलाया गयौं । मलाया गइसकेपछि दुई साल बोईमा रहनु प¥यो । त्यसपछि एक साल तालिम गर्नुप¥यो । त्यसपछि आर्मी भएर लडाइँमा खटियौं । चार साल भइसकेपछि छुट्टी पाएँ । अनि घर आएँ ।

आमा–बाबुलाई के ल्याइदिनु भयो ?
पहिला खै पैसा त कति थियो, मलाई थाहा भएन । मेरो आमालाई सुन लानुपर्छ भन्ने सोचें । बुढी आमालाई सुन दिनुपर्छ भन्ने लाग्यो । आमालाई सुन किनेर तोला बनाएर दिएँ । पापालाई कोट ल्याइदिएँ । सबभन्दा कान्छा म । मैले गर्नुपर्छ भनेर सम्झें । अरु दिदीदाजुलाई के के ल्याइदिएँ त्यो बिर्सिसकें ।

कति छुट्टीमा बिहे गर्नुभयो ?
दोस्रो छुट्टी बर्खामास थियो । घरपरिवारले बिहे गर्नुपर्छ भने । मेरो भेनाले फलानाको छोरी बिहे गर्नुपर्छ भन्नुभयो । उदयपुर क्वाकटोम्फुमा रहेछ । मागेरमात्र गएँ । अनि अर्को छुट्टीमा आएपछि बिहे गरें ।

ओखलढुंगाका राईहरु गोर्खा मेजर हुने अरु कोही छन् ?
तल्लो रिचुवामा अम्बरबहादुर थापामगर मितदाजुमात्र गोर्खा मेजर हुनुभयो । उहाँ म भन्दा पहिले लाहुरे हुनुभएको हो । मितदाजु गोर्खा मेजर भएर रिटायर हुने बेलामा उहाँको पनि सिफारिसमा म गोर्खा मेजर भएँ । ओखलढुंगाकै राईहरुको कुरा गर्दा उदयपुरको टिकाबहादुर राई क्याप्टेन हुनुभयो भने उँबु सिम्काकुको जितबहादुर राई लेप्टेनसम्म हुनुभयो ।

सानोमा कत्तिको बदमास गर्नुहुन्थ्यो ?
म साह्रै चकचके र बदमास थिएँ । छुच्चा पनि गरियो । घरबाट भागेरै हिंडियो नि ।

तपाईको मावली कहाँ हो ?
हिलेपानी हो । हिलेपानी भाँडरेमा हो ।

उहिले देउसी भैलो कसरी सम्झिनु हुन्छ ?
हामी थाक्ले, जेरुङ गाउँ, माथिल्लो रिचुवा, तल्लो रिचुवा, मानेभन्ज्याङसम्म देउसी खेल्थ्यौं । धेरै रमाइलो गथ्र्यौं ।

तपाई खुब गीत गाउँनु हुन्थ्यो हो ?
खै अलि अलि गाउँथ्र्यौ । सिपाहीको मान्छे । नगरी त धरै पाइन्नथ्यो । अहिले सम्झिनै सक्दिन । बिमारीले गर्दा । म अवकाशपछि कटारीमा बस्दाबस्दै बिमारी भएँ । पहिला पल्टनमा हुँदा दबाई दिएको थियो । पेन्सन आएपछि त्यो नखाने भनेर छोडियो । काम गर्नुपर्छ ठीक हुन्छ भन्ने लागेर सप्पै छोडें । झ्याप्पै भएँ । धामीझाँक्री, देवीदेउता गर्नुप¥यो । अन्तमा, डाक्टरी उपचार गराउन काठमाडौंमै बस्नु परेको छ । (बुबाका बारेमा कान्छो छोरा प्रताप भन्नुहुन्छ– बुवाले पल्टनमै रहँदा रक्तचाप (ब्लड प्रेसर)को औषधि सेवन गर्दैआउनु भएको रहेछ । तर अवकाशपछि सो औषधि प्रयोग गर्न छाड्दा बुबा बिरामी हुनुभयो । सबै स्मरणशक्ति हरायो । डक्टरी उपचार, शारीरिक व्यायाम गर्दागर्दा अहिले तन्दरुस्त हुनु भएको हो ।)

कुन कुन देशमा लडाइँ लड्नु भयो ?
पहिला हामी मलायामा गयौं । मलायादेखि ब्रुन्यौ गयौं । इङल्याण्ड गएँ । म म्याप हेरेरमात्र भन्न सक्छु । (उहाँले सबै घटना सम्झिन सक्नु भएन । उहाँलाई ब्रिगेडियर अफ गोर्खाजले दिएको सर्टिफिकेटमा सन् १९५२.११.२५ देखि १९८५.०९.०२ सम्म आर्मी सर्भिसमा मलाया, हङकङ, बर्नेउ, सिंगापुर, युके, साइप्रस, ब्रुनाई, अस्ट्रेलिया, बेलिज र क्यानडा भनेर उल्लेख छ । उहाँले स्पेसियल एक्टस्– जीएसएम विथ क्लेस्प मलाया, जीएसएम १९६२ विथ क्लेस्प बन्र्यौ, क्लेस्प मले पेनिन्सुला (सिल्भर पिन), लङ सर्भिस एण्ड गुड कन्डक्ट मेडल पाउनु भयो । १ वर्ष बोई सर्भिससहित जम्मा ३१ वर्ष ३३ दिन आर्मी सर्भिस गर्नुभयो । उहाँ १९८५ सेप्टेम्बर ३ तारिख अवकाश पाउँदा मेजर (क्युजीओ) अनरेरी लेफ्टिनेन्ट (जीसीओ) हुनुहुन्थ्यो । उहाँको पोजिसन ‘एक्जप्लरी’ (उदाहरणीय अर्थात् अनुकरणीय) रहेको उल्लेख छ ।)

तपाई आफूलाई सफल व्यक्ति ठान्नु हुन्छ ?
अब त त्यो सम्भव छैन । जे जति गरियो । भइसक्यो । सकेसम्म गरियो । आर्मी अफिसर बन्न सकेकोमा गर्व लाग्छ । मैले सकेसम्म गरेको छु । मिहिनेत, दुःख गरेर देखाएको छु । म धेरै देश घुमें । बुझ्न पाएँ । मान्छेले जीवन गुजारा गर्नु त पर्छ नै साथसाथमा सबैको हित हुने काममा पनि गर्नुपर्छ । केही न केही गर्न जरुरी छ । जसले गर्दा सफलता हात लाग्न सक्छ ।

तपाईको सौखको खेलचाहिं के हो ?
फुटबल हो । उहिले पल्टनमा हुँदा जसरी खेलियो । अहिले पनि टेलिभिजनमा खेल हेरेर चित्त बुझाउँछु ।

पल्टनमा केही लेखहरु लेख्नु भयो ?
छैन । मैले केही लेखिन ।

बेलायत सरकारले सबै ब्रिटिश गोर्खालाई आवासीय सुविधा दिएको छ । तपाई त जानु भएन नि ?
पहिलो कुरो मेरो अस्वस्थताले केही गर्न सक्दिन । इच्छा पनि छैन । मेरो जेठो छोरा उत्तम परिवारसहित युकेमै छन् । दुइटी छोरी अस्ट्रेलियामा छन् । स्वदेशमा त कान्छा छोरा र जेठी छोरीमात्रै छौं । बाँकी विदेशमै छन् । चाहेको भए जान सक्थें ।

गाउँबाट कति सालमा कटारी झर्नुभयो ?
म लाहुरे अफिसर मान्छे गाउँभन्दा पर पनि केही गर्नुपर्छ भन्ने भयो । ०३६ सालमा कटारीमा खेतबारी, जग्गा जोडें । गाउँमा पनि अझै जस्तोको तस्तै छ । गाउँको घरमा चाडबाडमा सेसा गर्छौं । आफू जान नभ्याएको बेला दाजुभाइले सेसा गरिदिन्छ । खाउमो गर्ने गाउँकै घरमा हो । अरु बेला ताला लगाएको अवस्थामा रहन्छ । कटारीमा बसोबास छ । अहिले बाध्यताले काठमाडौंमा बसेको छु ।

तपाईको दैनिकी कस्तो छ ?
बिहान साढे चारबजे उठ्छु । बाथरुममा सौच गर्ने, मुख धुने, त्यसपछि साढे पाँच बजेतिर बाहिर मर्निङ वाकमा निस्कन्छु । सडक किनारा र खोला किनारा हुँदै थापाथली, युएन पार्कसम्म पुग्छु । अनिसाढे आठ बजेभित्र फर्किन्छु । साफसफाई हुन्छु । खाजा खान्छु । औषधिमुलो लिन्छु । त्यसपछि साढे दश बजे खाना खान्छु । फलफुल हुनैपर्छ । चिल्लो, पिरो अलि बार्छु । नुन कम खान्छु । दिउँसो ३ बजेतिर खाजा खान्छु । साँझ ७ बजेको समाचार हेर्छु । साढे सात बजेतिर खानाइ खाइसकेपछि बिस्तारमा पल्टिन्छु । दैनिकी यस्तै छ ।
(उहाँ काठमाडौंको कोटेश्वर तिनकुनेस्थित घरमा छोरा, बुहारी, नातिनी, नातिका साथमा रहनु भएको छ । २०७२ वैशाखमा गएको महाभूकम्पले मेजर भिमबहादुर राईको काठमाडौंको घरमा क्षति पुगेको छैन । तर, भूइचालोले पहाड ओखलढुंगा जेरुङगाउँ र उदयपुर कटारीको घर ध्वस्त पारेको छ । कटारीको भत्काउने काम भइरहेको छ भने पहाडको घरमा बस्न नहुने स्थितिमा छ । छोरालाई सेसा, न्वाङ्गी गर्ने, घरव्यवहारबारेमा सम्झाइरहने गर्नुहुन्छ । उहाँको धर्मपत्नी सलमाया राई (जन्म १९९७ ओखलढुंगाको उदयपुर गाउँको क्वाक्टोम्फु¬मा भएको र उहाँको २०६७ असोज ८ गते निधन भयो । आमाको निधनपछि पनि छोराबुहारी, नातिनातिनीका साथमा रहनु भएको छ ।)


तस्बिर ः गोर्खा मेजर भिमबहादुर राई परिवारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *