शास्त्रीय सङगीत र मुद्दुमी/ मुन्धुमी सङगीतबिच भिन्नता : डा. भक्त राई

विचार / ब्लग

शास्त्रीय सङगीत र मुद्दुमी/ मुन्धुमी सङगीतबिच भिन्नता
सङगीत के हो ?

नादयुक्त ध्वनि अर्थात् सुमधुर आवाजहरुको लयात्मक प्रस्तुति नै सङगीत हो । अझ सरल रूपमा भन्ने हो भने सङगीत भनेको भाव, विचार वा आवाजको आकर्षक एवं कलात्मक प्रस्तुति हो । सङगीत त्यस्तो भावयुक्त प्रस्तुति हो जसभित्र सुर, ताल, लय, छन्द, आरोह, अवरोहको उपस्थिति रहन्छ ।
पूर्वीय सङगीतशास्त्रमा सङगीतभित्र मूलतः यी तीनवटा विधा पर्दछन् :
१) गायन ( गीत),
२) नृत्य ( नाच) र
३) वाधवादन ( बाजागाजा) ।

यसरी हेर्दा के देखिन्छ भने चाहे गायर होस, चाहे विभिन्न वाधवादनहरु बजाएर होस वा अनेकौं मुद्रायुक्त,अभिनययुक्त नृत्य प्रदर्शनद्वारा नै किन नहोस सङगीतको प्रस्तुति गर्ने गरिन्छ । “सङगीत रत्नाकर” ग्रन्थमा सङगीतलाई “गीतं वाधं नृत्यं त्रयं सङगीतमुच्यते” भनी उल्लेख गरिएको पाइन्छ । वास्तवमा गायन, वाधवादन र नृत्यको सामूहिक नाम नै सङगीत हो ।

सङगीतमा गायन, वादन र नृत्यको घनिष्ठ सम्बन्ध रहेको हुन्छ । गीतको लय अनुसार वाध ( बाजा) बजाउनु पर्ने वा वाधवादन अनुसार गाउनु पर्ने र गायन र वाधवादनको ताल र सूर अनुसार नृत्य गर्नु पर्ने हुनाले यिनीहरुबिच अत्यन्तै सुमधुर सम्बन्ध रहेकोे हुन्छ । हुन त यी सङगीतका तीनवटै विधा आफैमा स्वतन्त्र र अलग अलग विधा हुन् ।

सङगीतको उत्पत्ति
सङगीतको उत्पत्ति कसरी भयो ? भन्ने विषयमा पूर्वीय सङगीतशास्त्रमा फरक फरक धारणा पाइन्छ । हिन्दु शास्त्रहरुमा सङगीतबारे के भनिएको पाइन्छ भने “पौराणिक कालमा वेद ध्वनिका मूल कर्ता ब्रह्माजीले सरस्वती ( सन्ध्या) लाई, सरस्वतीले नारदजीलाई, नारदले पाँचौं शताब्दीका भरतमुनिलाई र भरतमुनिले “भरत नाट्य शास्त्र ” मार्फत समस्त मानवहरुलाई सङगीत शिक्षा प्रदान गरे । ” यसरी नै हिन्दु शास्त्र अनुसार शिवजीको पञ्चमुखबाट पाँच राग र पार्वतीजीबाट छैटौं रागको उत्पत्ति भएको मानिन्छ । यसरी नै ॐ शब्द ध्वनियुक्त भएकोले सम्पूर्ण ध्वनिको मूल स्रोतका रूपमा रहेकोे यो एकाक्षर शब्द ॐ ओमकार नै सङगीतको मूल कारण हो भन्ने तर्कहरु पनि पाइन्छ ।

यसरी नै शास्त्रीय सङगीतसम्बन्धी पंण्डित दामोदर अनुसार सङगीतका सात स्वरहरुको उत्पत्ति विभिन्न पशुपंछीहरुको आवाजबाट अनुकरण गरेर निकालिएको हो । जसअनुसार मजुरबाट षडज, पपिहाबाट ऋषभ, बाख्राबाट गन्धार, कौवाबाट मध्यम, कोइलीबाट पञ्चाम, घोडाबाट धैवत र हात्तीबाट निषाद स्वरहरु अनुकरण गरेर निकालिएको हो भन्ने विचार राखेको पाइन्छ ।

किराती जातिमा भने सङगीतको उत्पत्ति सम्बन्धी केही फरक प्रकृतिवादी धारणा पाइन्छ । किरातीहरुका अनुसार प्रकृतिको अनुपम उपहारहरु हावा, पानी, माटो, ढुङगा, वनजङगल, नदी, खोलानाला कृयाशील वा चलायमान हुने क्रममा निस्कने ध्वनिहरुबाटै सङगीतको उत्पत्ति भएको हो । खोला, नदीनालाको सुमधुर कलकल, वनजङगलको मन्द सुसाई, हावाको सुमधुर झोंका, आकाशको मौसमी गड्याङगुडुङ, चराचुरुङ्गीको मधुरम चिरबिर आदि नै सङगीतको आधार हो भन्ने धारणा किरातीहरुमा पाइन्छ ।

शास्त्रीय सङगीत भनेको के हो ?
छोटकरीमा भन्ने हो भने शास्त्रमा बताइए अनुसारको सङगीतलाई नै शास्त्रीय सङगीत भनिन्छ । विशेषत: भरतको नाट्यशास्त्रमा आधारित गीतसङगीतलाई शास्त्रीय सङगीत भनिन्छ । हुन त भरतको शास्त्रीय सङगीतको आधार वेद नै हो खास गरेर सामवेदबाटै शास्त्रीय सङगीतको निर्माण गरिएको हो । “साम”को अर्थ गीत हो । सामवेद मूलतः गीतमूलक रचना हो । शास्त्रीय सङगीत सुरप्रधान हुन्छ यो शब्दप्रधान हुँदैन । यसमा मुख्य सातवटा स्वरहरु हुन्छ जसलाई सा ( षडज), रे ( ऋषभ), ग ( गांधार), म ( मध्यम), प ( पञ्चम), ध ( धैवत) र नि ( निषाध) भनिन्छ । यसरी सा`बाट सुरु भएर पुनः सा मा टुङ्गिने प्रक्रियालाई सरगम वा सप्तक भनिन्छ भने अङ्ग्रेजीमा अक्टेभ भनिन्छ । शास्त्रीय सङगीतमा अनेकौं प्रकारको रागहरु हुन्छन् । यसरी नै शास्त्रीय सङगीतभित्र राग, सुर, थाट, नाद, आन्दोलन, यति, आरोह, अवरोह आदि लयात्मकता र अनेकौं प्रकारको तालहरु पाइन्छ ।

मुन्दुमी/ मुन्धुमी सङगीत भनेको के हो ?
मुद्दुम वाचन गर्दा वा मुन्दुम फलाक्दा प्रस्तुत हुने रागात्मक एवं ध्वनिमय प्रस्तुति नै मुद्दमी/ मुन्धुमी सङगीत हो । मुद्दुम मौखिक तथा गायन परम्परामा एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको छ । भर्खर मात्र किरातीहरुले यसलाई लेखन कार्य गर्न थालेका छन् । हुन त वेद, कुरान, बाइबल, त्रिपिटक आदि सबै धर्मग्रन्थहरु पनि सुरुमा मौखिक तथा गायन परम्परामै बाँचेका थिए । पछि मात्र ती ग्रन्थहरुलाई पनि लिखित रूपमा उतारेका हुन् ।
लिखित परम्पराको विकास हुनुपूर्व धेरैभन्दा धेरै मौखिक सामग्रीहरु कण्ठ पारेर सम्झनुका लागि सजिलो होस भन्ने अभिप्रायले लयात्मक रूपमा सुन्ने र सुनाउने गरिन्थे । त्यसैले तत्कालीन लोकसामग्रीहरु लयात्मक ढाँचाका भएका हुन् । मुद्दुम पनि गेयात्मक मौखिक वाङमय हो । मुद्दुम/ मुन्धुम यति रागात्मक र प्रकम्पित हुन्छ कि यसलाई शास्त्रीय सङगीतको स्वर लिपिमा लिपिबद्ध गर्न समेत कठिन हुन्छ ।

शास्त्रीय सङगीत र मुद्दुमी/ मुन्धुमी सङगीतको प्रमुख भिन्नता
मुद्दुम/ मुन्धुम र शास्त्रीय सङगीत दुबैमा अत्यन्त रागात्मक लयढाँचा हुन्छ, दुबैमा अनेकौं प्रकारको ताल, थाट, नाद, आन्दोलन, सुर, आरोह अवरोह हुन्छ । मुद्दुम र शास्त्रीय सङगीत दुबैलाई जोसुकैले गाउन वा प्रस्तुत गर्न सक्दैन । दुबैमा मानिस र पशुपंछीलाई समेत प्रभाव पार्ने शक्ति हुन्छ ।

मुद्दुम/ मुन्धुम र शास्त्रीय सङगीतबिच यी र यस्ता अनेकौं समानता भए पनि अनेकौं भिन्नता समेत पाइन्छ । केही मुख्य भिन्नताहरु देहाय अनुसार छन् –
# मुद्दुम/ मुन्धुमको प्रस्तोता नाक्छोङ, कुबी, फेदाङबा आदि निस्चित व्यक्ति मात्र हुन्छन् भने शास्त्रीय सङगीत जोसुकैले सिकेर प्रस्तुत गर्न सक्दछन् ।
# मुद्दुम/ मुन्धुम मौखिक परम्परा छ भने शास्त्रीय सङगीत लिखित परम्परामा छ ।
# मुद्दुम/ मुन्धुमभित्र किरातीहरुको संस्कृति र सभ्यताको वर्णन पाइन्छ भने शास्त्रीय सङगीतमा हिन्दु देवदेवीको स्तुति र आराधना पाइन्छ ।
# मुद्दुम/ मुन्धुमको ताल र लयढाँचा स्वतन्त्र तथा वैयक्तिक हुन्छ भने शास्त्रीय सङगीतको ताल र लयढाँचा शास्त्रसम्मत हुन्छ ।
# मुद्दुम/ मुन्धुम विशेष अवसरमा विशेष व्यक्तिले मात्र वाचन गरिन्छ भने शास्त्रीय सङगीत जुनसुकै बेला गाउन सकिन्छ ।
# मुद्दुम/ मुन्धुम आस्था अनुष्ठानसङ्ग सम्बन्धित छ भने शास्त्रीय सङगीत व्यवसाय र मनोरञ्जनसङग सम्बन्धित छ ।
# मुद्दुम/ मुन्धुम बिना वाधवादन पनि प्रस्तुत गरिन्छ भने शास्त्रीय सङगीतमा प्रायः कुनै न कुनै वाधवादनको प्रयोग गरिन्छ ।
# मुद्दुम/ मुन्धुम सिकेर, घोकेर प्राप्त गर्न सकिँदैन तर शास्त्रीय सङगीत सिक्न सकिन्छ ।
# मुद्दुम/ मुन्धुमभित्र किराती जातिको इतिहास, जीवनशौली, संस्कृति, परम्परा, आस्था र अनुष्ठान प्राप्त गर्न सकिन्छ भने शास्त्रीय सङगीतमा साङगीतिक नियम मात्र पाइन्छ ।

# मुद्दुम/ मुन्धुम नेपालका रैथाने आदिवासी किराती समुदायमा प्रचलित छन् भने शास्त्रीय सङगीत भारतीय ओस्तादहरुले प्रादुर्भाव गरेको भारतीय सङगीत हुन् । आज यति बाँकी अर्को पल्ट ।

डा.भक्त राई
ललितपुर- २६, ढोलाहिटी
साम्पाङ निवास ।
https://www.facebook.com/photo/?fbid=27443838341881756&set=pcb.27443822641883326

Leave a Reply

Your email address will not be published. Required fields are marked *