कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार’

कला साहित्य -संस्कृति

लिभु संवाददाता
ललितपुर । वाम्बुले कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार–२०७७’ प्रदान गरिएको छ । ललितपुरको चापागाउँदोबाटोस्थित चासुवा रेस्टुरेन्टमा आयोजित समारोहमा राष्ट्रगानका रचयिता व्याकुल माइला, पुरस्कारका संस्थापक पत्रकार पुष्पहरि क्याम्पा राई, वाम्बुले राई समाज संस्थाका संस्थापक महासचिव तिखबीर राई र सम्पादक गणेश राईले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

वाम्बुले राई साहित्य प्रकाशनद्वारा प्रकाशित लिब्जु–भुम्जु त्रैमासिक पत्रिकाको नाममा स्थापना गरिएको पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ । ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई उक्त पुरस्कार प्रदान गरिदैआएको छ ।

‘इक लिब्जु–भुम्जु’ त्रैमासिक वर्ष ७, अंक १०, पूर्णाङ्क ८३, २०७७ कात्तिक–पुस)मा प्रकाशित ‘आ कुपि ब्अिम्सै ख्राङ्मे’ (मेरो भाग्य सम्झिदै रुन्छु) शीर्षक राम्दले भाकाको गीत छनोट भएको थियो । यस कवितामा वाम्बुले राई समुदायमा गाइने राम्दले भाका प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारीमा रहेका प्रेमीले प्रेमिकालाई आफ्नो बनाउ जुहारी गीतबाट प्रेम भाव दर्शाएका छन् । गाउँघरमा खेपेको दुःख खप्न नसकेर मुङलान भासिएको र जन्मथलोको खबर सोध्छन् । प्रेमिकाले गाउँघरमा खडेरीले पाखापखेरमा वनजंगल उजाडिएको सुनाउँछ । तैपनि उनकै सुखशान्तिका निम्ति लिब्जु भुम्जु देउता भाकेको, दुधकोसी र सुनकोसीमा ग्रहदशा बगाएको जवाफ फर्काउँछिन् ।

प्रस्तुत गीति भाकाले प्रदेश–१ ओखलढुंगाको दक्षिणी भेगको सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिबिम्बित गरेको छ । पुरस्कारका निम्ति छनोट भएको उक्त राम्दले भाका राज राईको संगीतमा राज राई र एलिना राईले गाएका छन् ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ उँबु गाउँमा जन्मिनु भएका कवि एमबी थुलुङ वाम्बुले मातृभाषी कवि हुनुहुन्छ । उहाँ हाल दक्षिण कोरियामा कार्यरत रहनु भएको र अहिले छोटो अवधीका निम्ति स्वदेश आउनु भएको बेला पुरस्कार प्रदान गरिएको हो ।

नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गर्नु भएको हो । यो पुरस्कारबाट हालसम्म २० जना कविहरू पुरस्कृत भइसक्नु भएको छ भने लिब्जु भुम्जु पुरस्कार २०७८ प्रदान गर्न बाँकी छ ।

पुरस्कार वितरण समारोहमा कवि व्याकुल माइलाले वाम्बुले साहित्यको अवस्थाबारे चर्चा गर्नु भएको थियो । त्यसैगरी संस्थापक राईले नयाँ पुस्तालाई वाम्बुले मातृभाषाको कविता विधामा प्रोत्साहित गर्न पुरस्कार स्थापना गरी प्रदान गरिदै आएको बताउनु भयो ।

सम्पादक राईले २०५० सालदेखि लिब्जु–भुम्जु पत्रिका प्रकाशन आरम्भ भएदेखि वाम्बुले भाषा साहित्य निरन्तर सिर्जना भई तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित रहेको बताउनु भयो । यसैगरी वाम्बुले साहित्यबारे युवा लेखक विकास सौगातले चर्चा गर्नुभएको थियो ।

लिब्जु–भुम्जु पुरस्कार प्राप्त कविहरू :
१. विरही विमल राई – २०५६
२. रजन सुबुकु – २०५७
३. शुभचन्द्र राई ‘सुवास’ – २०५८
४. प्रमोद दीनदुःखी राई – २०६१
५. दुर्गा बैरागी राई – २०६२ (मरणोपरान्त)
६. प्रकाशहरि क्याम्पाराई – २०६३
७. बिद्रोही साइला – २०६४
८. भुवन गुर्भा राई ‘आ“सु’ – २०६६
९. शुभराज राई (काजी) – २०६७
१०. धीरेन्द्र रूम्दाली – २०६८
११. बिर्जमान राई – २०६९ (संयुक्त)
१२. कुम्भराज राई – २०६९ (संयुक्त)
१३. रामकुमार राई ‘आङगुस’ – २०७०
१४. झरना वाम्बुले राई – २०७१
१५. अन्चल जाबा राई – २०७२
१६. अप्सन क्याम्पा – २०७३
१७. सुमन जाबा – २०७४
१८. गगनबहादुर राई – २०७५
१९. उदय जिज्ञासु राई – २०७६
२०. एमबी थुलुङ – २०७७
२१. तोसेल बोबो – २०७८ (घोषणा)

 

Leave a Reply

Your email address will not be published.