पहिचानको खोजीमा कोइँच साहित्य

कला साहित्य -संस्कृति विचार / ब्लग
कोइँचबु काःतिच (उत्तम)

‘सुनुवार’ भनेर आफ्नो नाम पछाडिको जातीय नाम बताउने बित्तिकै एक पटक नेपाली मानसिकतामा झस्को पसेको महसुस हुन्छ– हँ, कस्तो सुनुवार ? कामी त होइन हगि ? त्यस्तै गरी सुनुवार भाषामा साहित्यका कुरा गर्दा ‘सुनुवार भाषामा पनि साहित्य ?’ आश्चर्यचकित प्रश्नसँगै तीखा हेराइले ठुँग्नु आइपुगी हाल्छन् कुनै पनि सुनुवार हुँ भन्ने कोइँचलाई । झन भाषासँग लिपिको कुरा गर्दा त कुनै अर्को ग्रहबाट आएको प्राणीजस्तै गरी हेर्छन् । सबै अचम्मित ।

यसो हुनुमा दुई कारण मुख्य रहेको कोइँचहरूले महसुस गरेका पाइन्छ ः

१) राज्यको राष्ट्रिय मूलप्रवाहमा मिसाउने एकल जाति, एकल भाषा र एकल हिन्दू मूल्य–मान्यतामा आधारित शिक्षा नीति– जसको कारण दश वर्षसम्म कलिला नानीहरूलाई ‘सुनुवार’ भनेको सुनका काम गर्ने जाति हुन भनेर पढाइए, देशको प्राज्ञ बस्ने भनिएको प्रज्ञा– प्रतिष्ठानले निकालेको बृहत् नेपाली शब्दकोशमा ‘सुनुवार’ को अर्थ पानी नचल्ने शुद्र जाति भनेर पहिचान गराइयो । १४ वर्ष मिहिनेत गरेर बनाएको नेपाली शब्दसागरमा ‘सुनुवार र सुनार’ शब्दको अर्थ एउटै लगाइयो । ई. १८२५ मा धान खेत किपट थाँती राखेर हिन्दु धर्म अँगाल्दै मनुस्मृतिमा आधारित ई. १८५४ मा जारी जङ्गबहादुरको मुलुकी ऐनमा नमासिने मतुवाली जातिमा सुचीकृत बनेको ‘सुनुवार’ को पहिचान हिन्दु मूल्य–मान्यतामा सधैं अछुत नै रहेको देखिन्छ । किपट र पहिचान दुवै स्वाहाः ।

२) कोइँचहरूमा पुनर्जागरणको चेत नजाग्नु– अभैm पनि हिन्दुकरण तथा संस्कृतकरणमा सुनुवारहरू रुमल्लिरहेका छन् । उनीहरूको मनमस्तिष्कबाट वाहुनवादी सोँच हट्न सकेको देखिँदैन । बरु तीव्ररूपमा ईसाइकरणमा हामफालिरहेका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को अनुसूची १ मा उल्लेखित आदिवासी जनजाति सुनुवारहरू आपैंmले आपूmलाई सम्बोधन गर्ने नाम वा चिनाउने जातीय नाम चाहिँे ‘कोइँच’ हो । ‘गो नेललि कोइँच नाइ शाँ–हामी सबै कोइँच हौं नि’ भन्छन्ं । र, सोध्छन्, ‘खिँ तेःमे ? तेको चुपलुङा ? तेको जेँङा ? मार मुइलि (मुल) मे ? मार मुइग्यो सुइँसिबा मिनु तेको फिते ? (तिम्रो घर कहाँ हो ? कुन कुलको ? कुन थरको ? कुन वंश–परम्पराको ? कुन देवीदेवता मान्ने अनि कुन उपथर–पाछाको ?’ कोइँच हो कि होइन भनेर उसको असली चिनारी खोज्दा सोधिने प्रश्न यिनै हुन् । कहिल्यै ‘म सुनुवार हुँ’ भनेर आफ्नो मातृभाषामा परिचय दिएको पाइँदैन । ‘सुनुवार’ जातीय नाम के कसरी दिइयो भन्ने कुनै पनि अधिकारिक दसीप्रमाण अहिलेसम्म भेटिएको छैन ।

सुनकोसीको वारिपारि बस्ने जाति भएको हुँदा ‘सुनुवार’ भनिएको भन्ने जर्ज भेन्सीटर्टको संक्षिप्त भनाईलाई नै अहिलेसम्म सबैले सापटी लिएको पाइन्छ । अन्य छिमेकी जाति खस–बाहुनले सुनुवार, सुनवार, सुन्वार, सुँदार कहिले कहीँ झुक्किएर वा हेपेर नियतवश सुनार पनि भनिदिन्छन् । तामाङले बोङजा, शेर्पाले डाङबु, थुलुङले सारसेसी, बाहिङले खिन्ची भन्ने गरेको पाइन्छ । कतिपय कोइँचले भने जातीय विभेदबाट बाँच्न ‘मारपचे राई, मुखिया, शिकारी, दुवालबन्दी शिकारी, किरण, भुजवार, पृथवार’ जातीय नामले पनि आपूmलाई चिनाउँदै आएका पाइन्छन् । सुनुवारलाई शुद्र अछुत सुनार लेखेको, बोलेको, भनेको विषयलाई लिएर अनेक संघर्ष गरिए तापनि अभैm ‘सुनुवार’ जातीय नामले कोइँचको खाँटी पहिचान दिन सकेको भने छैन । हिजोको स्थिति जे थियो जे भोगिएको थियो अभैm त्यही हालत छ । यिनै जातीय विभेदमा बाँच्नु परेको पीडाको उपजका रूपमा कोइँच साहित्यको विकास भएको पाइन्छ । खस भाषामा लेखिएको साहित्यले कोइँचमा कुनै पनि जागरण ल्याउन नसकेको र सचेतता प्रदान नगरेको परिणाम कोइँच साहित्यले आफ्नो कित्तालाई अँगालेको देखिन्छ ।

 

कोइँच साहित्यको विकासक्रम
भनिन्छ, लेखक÷सर्जक समाज परिवर्तनका संवाहक हुन् । तर समाज परिवर्तन सन्दर्भमा कस्तो परिवर्तनलाई सार्थक परिवर्तन ठान्ने भन्ने पनि छुट्टै बहसको विषय हुनसक्छ । राजनीतिक सङ्घर्षबाट भाग्ने बानी वर्तमान कोइँच (हुन त कोइँचमा साहित्यकार नै पो कति छन् र !) तथा कतिपय मै हुँ भन्ने आदिवासी जनजाति श्रष्टाहरूको सात्विक मान्यता रहँदै आएको छ । साहित्यलाई जाति, भाषा, देशको सिमाभित्र बाँधिनु हुँदैन भन्छन् । यस्तो विचारको मुख्य कारक तत्व हिजोआज उत्तरआधुनिकतावादी वा अति उत्तरआधुनिकतावादी बुर्जुवा सौन्दर्यशास्त्रमा आधारित विश्वव्यापीकरण नामको मान्यता मन–मस्तिष्कमा पाल्नु हो भन्न सकिन्छ ।

विश्वव्यापीकरणकै नाममा संसारमा साम्यवादी, समाजवादी, पुँजीवादी, साम्राज्यवादी लगायत अन्य अनेकन वादहरूले प्रयोग गर्ने भाषामात्र ठीक, उनीहरूले रचेको साहित्य मात्र सही, उनीहरूको कला–संस्कृतिमात्र महान् भन्ने मान्यताले चौथो विश्वको आन्दोलनलाई पुनः गुमराहमा पार्ने र उनीहरूको मूल्य–मान्यतालाई दबाउने वा मार्ने अभियान ठान्दै, हिजोसम्म आपूmलाई हिन्दु सौन्दर्यशास्त्रको साँचोमा ढालेका र अहिले तीव्ररूपमा ईसामसिहको सौन्दर्यशास्त्रमा आपूmलाई खुब शृंगारपटार गर्ने कोइँच वा कोइँचइतर साहित्यकारहरूको विपरीत कित्तामा बसेर कोइँच साहित्यको विकास भएको देखिन्छ । कोइँच भाषा, धर्म, कला–संस्कृति, इतिहास, जीवन जिउने शैली, परम्परागत साहित्य, सामाजिक चालचलन र न्यायिक प्रणाली नबुझेका कोइँच वा कोइँचइतर स्रष्टा तथा कोइँचइतर भाषामा लेखिएका साहित्यले मूलभूतरूपमा कोइँचको पहिचान प्रष्टाउँदैन र उनीहरूको स्वाभिमान निर्माण गर्न सक्दैन वा चौथो विश्वले उठाएको विषयलाई समेट्दैन भन्ने आधारमा वर्तमान कोइँच साहित्यको जग बसेको पाइन्छ ।

कोइँच (सुनुवार) भाषामा साहित्यिक लेख्य परम्पराको विकास सन् १९०८ मा जर्ज ग्रियरसनले ‘लिङ्गुस्टिक सर्भे अफ इण्डिया’ पुस्तकको लागि दुई वटा बाइबलका कथा अनुवाद कार्यबाट सुरु भएको मान्लान् कतिपय अनुसन्धाताहरूले । तर कोइँच समुदायले यसलाई कोइँच साहित्यको अंग मानेका छैनन् । किनभने राज्यद्वारा आर्थिक, सांस्कृतिक, राजनैतिक, ऐतिहासिक रूपमा सीमान्तकृत भएका र राज्यविहीन हुनुको अवस्था भोगिरहेका, आफ्नो जल, जमीन, जंगलसँगको सम्बन्ध गुमाउनु पुगेका विश्वका आदिवासीहरूले हाँक्ने पहिचानमुखी, हक अधिकारमुखी, आर्थिक, सांस्कृतिक, राजनीतिक कुनै पनि आन्दोलनको वैचारिक आधारलाई बाइबल वा अन्य कुनै पनि धर्मको धर्मग्रन्थ वा आदिवासी जनजातिको मर्म, मूल्य–मान्यता विपरीतका कुनै पनि साहित्यलाई कोइँच भाषामा अनुवाद गर्नुलाई कोइँच साहित्य मान्न नसकिने उनीहरूको तर्क छ ।

सर्वप्रथम प्लेततिका लुँखिच रामबहादुर सुनुवार (२०१३) ले ‘किरात सुनुवार जातिको वंशवली’ भनी लेखेको पुस्तकमा थोरै भए पनि कोइँच मुक्दुमको सालाकलाई संकलन गरेर छापेका छन् । तर त्यो पुस्तक कोइँच (सुनुवार) वंशावली भने थिएन र होइन । शिखरनाथ सुवेदीको सिको गर्दै २००४ सालमा ओखलढुंगा खिँजीका सरदार विक्रमबहादुर सुनुवार र २०१० मा ओखलढुंगाकै रगनी साल्बुका टीकाराम क्युइँतिच सुनुवारद्वारा लिखित तथा प्रकाशित ‘सुनुवार वंशावली’मा महाभारतका एकलव्यको कथालाई ग्राफ्टिङ गरेर लेखिएको हिन्दु धर्मको प्रचारप्रसार सामाग्रीमात्र भएको पाइन्छ ।

तत् पश्चात् क्या. तिलकबहादुर सुुनुवारले २०३४ सालमा ‘आन्तरिक कल्पना’ नामक लोकभाकाको गीति सँगालोमा तीनवटा गीत प्रकाशन गरेको पाइन्छ । २०४२ मा ‘पारुहाङ’ मासिकमा टि. पारगाचले आफ्नो लोक कविता छापेका छन् । २०४४ सालमा कोइँच (सुनुवार) हरूको हक अधिकार र पहिचानको लागि संगठितरूपमा संघर्ष गर्न कोइँच (सुनुवार)को प्रतिनिधिमूलक संस्थाको रूपमा सुनुवार सेवा समाज स्थापना भयो । उक्त संस्थाले मुखपत्र ‘कोइँचबु’ मार्पmत् केही साहित्यिक गतिविधिमा जनचासो बढाएको पाइन्छ । राज्यमा राजनीतिक परिवर्तन भएपछि मातृभाषामा साहित्यिक कार्यक्रम गर्ने चलनको विकाससँगै सुनुवार भाषामा केही गीत, कविता सिर्जना गर्ने क्रम उकालो लागेको पाइन्छ ।

त्यस क्रममा २०६२ सालपछि मात्र कोइँच भाषामा पुस्तक प्रकाशन गर्ने खेवाँरो भएको भेटिन्छ । यसपछि भने वार्षिक रूपमा कोइँच (सुनुवार भाषा) मा निम्नानुसार साहित्यिक कृतिहरू प्रकाशनमा आएको पाइन्छ ः १. देन ए सेरेम फु (कविता सङ्ग्रह) । २. दुमशोदाइशो थामा लोः (समकालीन निबन्ध सङग्रह)। ३. कोङकोरोरो फोलफोल (उपन्यास)। ४. कालेम दुमता (गीति सङ्ग्रह)। ५. थेतेल नाअÞसो (हाँस्यव्यङ्ग्य सङ्ग्रह)। ६. खोमिग्युरग्युर (कविता सङ्ग्रह)। ७. चाइँदा (कविता सङ्ग्रह)। ८. गो काः आँ गिचचा (गजल संग्रह)। ९. शाला नु बÞाकि पोइँबो (कोइँच मिथक सङ्ग्रह)। १०. आँस इँगि साया (कविता सङ्ग्रह)। ११. ते लावे इ गोति (कविता सङ्ग्रह) र १२. मातातिक फुके कुमसोपुकि (कविता संग्रह) ।

यसरी साहित्यिक कृतिहरू प्रकाशन हुनुमा श्रव्य तथा दृश्य गीति संग्रह निस्किनु, लघु चलचित्र तथा बृत्तचित्र निर्माण हुनु, पत्रपत्रिका प्रकाशित हुँदै जानु र रेडियो प्रसारण हुनुले पनि कोइँच साहित्य विकासमा बल पु¥याएको पाइन्छ ।

अन्तमा, हाल औपचारिक शिक्षा तर्पm कक्षा ५ सम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण भइ पठनपाठन हुँदैआएको छ । अनौपाचारिक शिक्षाको पाठ्यपुस्तक इइँ लाँ प्रकाशित छ । कोइँच भाषाकोे ‘किङलो चुप्लु’ रेडियो कार्यक्रम काठमाडौं र रामेछापबाट साप्ताहिक रूपमा प्रसारण हुँदैआएको छ । सुनुवार डट ओआरजि, किरात सुनुवार डट ओआरजि डट एनपि र एसडब्लुएस डट ओआरजि डट युके सञ्चालनले पनि कोइँच साहित्य विकासको लागि केही टेवा पु¥याएका देखिन्छ ।

अहिले कोइँच साहित्यले विस्तारै जुर्मुराएको पाइएको छ । आधुनिक परिभाषा अनुसारका कविता, गजल, निबन्ध, उपन्यास, गीतका कृतिहरू निस्के पनि कोइँचको आफ्नै फरक विधा थेअÞनि, पिदार, सालाक, खालोका पुस्तक भने अभैm निस्केको देखिँदैन । जेहोस् कोइँच भाषामा पनि आधुनिक साहित्यको बिजारोपण भने भएको देखिन्छ । कोइँच साहित्य सम्बन्धी अनेकन वहसको खाँचो त छँदैछ । के चाहिँ सकिने देखिन्छ भने जुनसुकै वाद र विचार किन नहोस् ! खाँटी कोइँच साहित्य हुनाको लागि कोइँच चिनारीका सन्दर्भलाई केन्द्रमा राखेर सबै खाले उत्पीडनबाट मुक्त राख्न सहयोग गर्ने वा नयाँ अभियान वा आन्दोलन वा क्रान्तिको उद्घोष गरिएको सिर्जना हुनुपर्दछ । न खस–बाहुन÷भारतीयहरुको हिन्दु सौन्दर्यशास्त्र वा युरोपियन इसाई गोराहरूको क्रिश्चियन सौन्दर्यशास्त्रमा बसेर कोइँच भाषामा लेखिएको सिर्जना नै कोइँच साहित्य हो न त कोइँचका भूमि, भाषा, धर्म, कला–संस्कृति, परम्परागत साहित्य र सामाजिक–न्यायिक जनजीवनलाई अध्ययन नै नगरी खस–अंग्रेजी वा अन्य भाषामा लेखिएको सतही सिर्जना ।

यसर्थ कोइँच साहित्यले खोजेको पहिचानको आधार मोरान्टजको यी भनाईले प्रष्ट पार्न सक्ला कि– ‘अरुको अगाडि स्पष्ट रूपमा फरक देखिइनु र त्यसरी चिनिइनु मात्र आदिवासीहरूको कुनै समस्या होइन तर आत्मनिर्णयको अधिकारसहितको आदिवासी हुनुको पहिचानको स्थापना गर्नु चाहि मूल मुद्दा हो ।’

(लेखक उत्तम कोइँच भाषा र साहित्यकर्मी हुनुहुन्छ । सम्पादक)
लिब्जु–भुम्जु ४७ बाट

Leave a Reply

Your email address will not be published.