माछापुच्छरे हिमालमुनि वाम्बुले राईको चहलपहल

समाचार

रबि अटल राई
पोखरा (कास्की)– जहाँ पुगेपनि पहिचानसहित बाँचौं र आर्थिक रूपमा सवल रहौं भन्ने भावनासहित गण्डकी प्रदेशमा रहेका किरात वाम्बुले राईहरू एकजुट भएका छन् । विभिन्न पेसा, व्यवसाय गरेर बसेकाहरू वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति कास्की गठन गरी संस्थागत रूपमा संगठित भएसँगै आपसमा सक्षम बन्ने बाटो पहिल्याएका हुन् ।

यही क्रममा वाम्रास कास्कीले २०७९ मंसिर १७ गते वनभोज कार्यक्रम आयोजना गरी वाम्रास बचत कोषको उदघाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ । वाम्रास जिल्ला कार्यसमितिका अध्यक्ष तुलारास राईको सभापतित्वमा पोखरा महानगरपालिका–२८ वडा कालिका भ्युटावरस्थित मोरियाथान प्राङ्गणमा सम्पन्न भएको हो ।

किरात समाज तनहुँ भिमादका उपाध्यक्ष अपिल राई प्रमुख अतिथि र सचिव रमुना राई अतिथि, पुर्वान्चल सेवा समाजका अध्यक्ष बालकुमार लुइँटेल विशेष अतिथि र महासचिव प्रेम दुलाल अतिथि रहनु भएको थियो ।

सभाध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू बचत कोषको ब्यानर मासिक बचत कोषको पासबुक वाम्रास बचत कोषका सयोजक सुदर्शन राईलाई हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरिएको थियो । बचत कोषमा अहिले ६० जनाभन्दा बढी सदस्य रहेका छन् । प्रत्येक सदस्यले मासिक ६ सय रुपैयाँ अनिवार्य बचत गर्ने छन् ।

कार्यक्रममा उपाध्यक्ष देबेन्द्र राईले वाम्रास संस्थाको विगतदेखि वर्तमान सम्मको महत्वपूर्ण जानकारी दिनु भएको थियो ।

कार्यक्रममा विशेष अतिथि लुइँटेलले पूर्वदेखि पश्चिम पोखरा आएर बस्ने व्यक्तिलाई दुःख पर्दा आफ्नो संस्थाले साथ सहयोग गर्दै आएका बताउनु भयो । साथै, ओखलढुंगादेखि पोखरा सिधा यातायात बस सन्चालन गर्नका लागि पहल गरिरहेको त्यसका निम्ति वाम्रासलगायत संस्थाहरूसँग समन्वय गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।

महासचिव दुलालले पनि आफूहरू वाम्रास जिल्ला कार्यसमितिसँग सामाजिक कार्यका निम्ति हातमा हात काँधमा काँध जोडेर सकरात्मक कदममा अगाडि बढ्न बताउनुभयो भयो ।

शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि राईले किरात समाज तनहुँ भिमादका संस्थालाई पनि वाम्रास जिल्ला कार्यसमिति कास्की पोखराजस्तै प्रभावकारी बनाउन चाहेको बताउनु भयो । त्यसको लागि सधैं समन्वय र सहकार्य गरेर अघि बढ्ने इच्छा प्रकट गर्नुभयो ।

कार्यक्रमको बिचमा नेतिका राईले नृत्य प्रस्तुत गरेर सबैलाई मनोरन्जन प्रदान गर्नुभएको थियो । त्यसैगरी अतिथि प्रेम दुलालले
‘सातै सागर गंगा जी तरेर
फर्की आउला जोर मादल भिरेर
सरर बिगुटार डुलेर
गाउँघरको माया भुलेर…’

भन्ने मनमोहक गीत गाएर सुनमा सुगन्ध थपिदिनुभएको थियो । लगभग एकसय १० जनाभन्दा बढी मानिसको उपस्थिति रहेको उक्त कार्यक्रम वाम्रास जिल्ला कार्यसमिति कास्कीका सचिव रबि अटल राईले सन्चालन गरेका थिए ।

तुलारास राई (वाम्बुले ब्राङ्ख्याल्चो) को अध्यक्षतामा २०७८ मङ्सिर १० गते शुक्रबार वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति कास्की गठन भएको थियो । सो कार्यसमितिमा उपाध्यक्ष देवेन्द्र राई, सचिव रविकुमार राई, सहसचिवद्वय रेणुकामाया राई र रेवान राई, कोषाध्यक्ष पुरामाया राई र सहकोषाध्यक्ष पुर्णबहादुर राई हुनुहुन्छ । त्यसैगरी सदस्यहरू मिलन राई, नेतिका राई, सुदर्शन राई र सोभारसिं राई हुनुहुन्छ ।

गण्डकी प्रदेश कास्कीको पोखरामा रहनु भएका किरात वाम्बुले राईहरु २०६९ सालदेखि ‘चौरास वाम्बुले राई समाज’ गठन गरेर क्रियाशील रहनु भएको थियो । देश–विदेशमा रहेका वाम्बुले राईहरू एउटै संस्था वाम्बुले राई समाज, नेपाल (वाम्रास) संगठनमा आवद्ध हुने अभियान अनुसार सो समाजलाई वाम्रास कास्की जिल्ला कार्यसमितिमा बदलिएको हो ।

Leave a Reply

Your email address will not be published.