वन जोगाउनु पर्छ । पर्यावरण जोगाउनु पर्छ । हात्ती जोगाउनु पर्छ । बाघ जोगाउनु पर्छ । रेडपाण्डा जोगाउनु पर्छ । नदी बचाउनु पर्छ । वागमती सफाई गर्नुपर्छ । पानीको स्रोत जोगाउनु पर्छ । सीमसार जोगाउनु पर्छ । रातो चाँक भएको बाँदर जोगाउनु पर्छ । सहर माछा जोगाउनु पर्छ । यी आदि इत्यादि जोगाउन सकेन भने मानवसंसारलाई हानि पुग्छ । खराब असर गर्छ । मान्छे सर्वश्रेष्ठ प्राणी हो । त्यसैले उसैले सबै सबै जोगाउनु पर्छ । जोगाउनु पर्छ । जोगाउनु पर्छ । यसरी जोगाउनको निम्ति पहल गर्न सक्यो भने राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोग पनि पाइन्छ ।
जोगाउनु पर्ने मुख्य कुरो धेरै धेरै विषय छन् । तर मान्छेहरु भन्दैनन् कि यो भाषा जोगाउनु पर्छ । यो संस्कृति जोगाउनु पर्छ । उहिले पुर्खाले आर्जन गरेको बोली (भाषा)को त्यत्तिको महत्व दिंदैन । उहिले धेरै धेरै जनाले बोल्थे यो मातृभाषा । आज बिस्तारै बोल्न छाडेका छन् । भाषा बोल्नेहरु थोरै थोरै हुँदै गएका छन् । धेरैभन्दा धेरैले बोल्ने गरेको भाषा बोल्न जान्नु पर्छ । थोरैले बोल्दै आएको भाषा बोलेर के पाइन्छ र ? न खान पाइन्छ । न लाउन पाइन्छ ।
हिन्दी बोल्नै प¥यो । अंग्रेजी बोल्न, लेख्न, पढ्न जाने अमेरिका, युरोप जान सकिन्छ । विश्वभरि चल्ने भाषा यही हो क्यार । कोरियान भाषा सिके दक्षिण कोरिया जान पाइन्छ । विश्वकै सबैभन्दा धेरैले बोल्ने भाषा चिनियाँ हो । चिनियाँ भाषा जाने चीन, हङकङ, ताइवानमा काम पाइन्छ । जापानी भाषा सिके जापानी ऐन कमाउन जान सकिन्छ । फ्रेन्च, स्पेनिस जाने मौका मिल्छ ।
तर, म जस्ता मूर्खहरूको जमात पनि छ । पुर्खाले बोल्दै आएको वाम्बुले भाषा लेख्नु पर्छ । बोल्नु पर्छ । पढ्नु पर्छ । पढाउनु पर्छ । पढाउन पाउनु पर्छ । पत्रिका छाप्नु पर्छ । पत्रिकामा छाप्यो भने अरुले पढ्न सक्छन् । हामीले लेखेर छापेको कुरा भावी पुस्ताले पढ्न पाउँछन् । त्यसैले २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ त्रैमासिक (इक लिब्जु–भुम्जु) पत्रिका छाप्न थालेको हो । आज २७ वर्ष पुगेको छ । बाँचेको आयुको आधाभन्दा बढी समय यसैमा खर्च गरिएछ । यो पत्रिका छाप्नको लागि चिनेचानेको नातागोता, आफन्तजनहरु, साथीभाइहरु गुहार्दै पैसा माग्ने गर्दैआएको छ ।
उहाँहरुले जानेर, बुझेर सहयोग गर्दैआउनु भएको छ । कतिले नजानेरै, नबुझेरै पनि यो गणेशले कत्ति कचकच गर्छ भन्दै पनि सहयोग गर्नु भएको छ । पत्रिकामा विज्ञापन दिनु भएको छ । मलाई नगद (पैसा) दिनु भएको छ । फोटो खिच्ने क्यामरा दिनु भएको छ । भिडियो खिच्न क्यामरा दिनु भएको छ । मोबाइल फोन दिनु भएको छ । विदेशमा रहनु भएको साथीहरुले ‘लिब्जु–भुम्जु पत्रिका बचाऊ अभियान’ नै संचालन गर्नुभएको छ । नेपालमा तत्कालीन अवस्थामा हुने गरेको बिजुली लोडसेडिङको बेला ल्यापटप किनेर पठाइ दिनु भएको छ । विज्ञान र प्रविधिको विद्युतीय सामग्री हो । एकपटक बिग्रिएपछि फेरि नयाँ चाहियो । मेरो आवश्यकताबारे जानकारी गराएपछि आफन्तजन, अभिभावकले फेरि पनि ल्यापटप पठाइदिनु भएको छ । म त्यसैमा काम गर्दैछु । मलाई विश्वास गरेर दिनु भएको विश्वासप्रति घात गर्न चाहन्न । तपाईहरुको निम्ति म आजीवन ऋणिमात्र हुनसक्छु । ऋण तिर्न सक्दिन । जे जति काम भएका छन्, त्यति नै हो । समाजले पाउने हो ।
यो मगन्ते जिन्दगी जस्तो भएको छ । तर, मेरो व्यक्तिगत भन्दा सामुदायिक काम भएकाले त्यत्ति धेरै लाज लागिरहेको छैन । तैपनि मन मनमा संकोच भइरहन्छ । वाम्बुले राई भाषा, संस्कृति, साहित्य, लिपि, इतिहासको कुरा गरेर व्यक्तिगत रुपमा सबै थोक मागेर काम चलाउने जस्तो भइरहेको स्थिति छ ।
यस्तै छ, जिन्दगी । आज २०७६ फागुनमा ‘इक लिब्जु–भुम्जु’ त्रैमासिकको नयाँ अंक छापिइसकेको छ । प्रेसमा पैसा तिरेर पत्रिका ल्याउनु पर्ने हो । साथमा १० हजार रुपैयाँभन्दा बढी नरहेकोले लिन जान सकिएन । लिब्जु–भुम्जु पत्रिका अक्षयकोषको ब्याज पनि थोरैमात्र छ । गाउँपालिकाले विज्ञापन भुक्तानी दिएको भए थपथाप हुने थियो । पालिकाले मेरो पीडा बुझ्दैन । यो पत्रिका छाप्ने काम पनि कुलतझैं भएको छ । पत्रिका छापिएपछि कसैले स्याबासी दिंदैन । यसरी गल्ती गरेछस् । जे पायो त्यही छाप्छस् । वाम्बुले भाषा बेचेर खान्छस् । तर मेरो व्यक्तिगत कुरामात्र मैले प्राथमिकता दिएको छैन । सबैको साझा विषयलाई समेट्ने गरेको छु । पत्रकारिताको मूल्यमान्यता, सिद्धान्तलाई अँगालेर पत्रिका प्रकाशन गर्दैआएको छु । लेख्न, पढ्न, पत्रपत्रिका दर्ता गर्न, छाप्न निश्चित योग्यता हुनु स्वभाविक हो । कसैलाई लागेको भए पत्रिका छाप्न सक्छ । तर निरन्तर २७ वर्ष प्रकाशित गरेर देखाउन चुनौती पनि दिन चाहन्छु ।
मैले भन्नै पर्छ, मेरो घर व्यवहार ‘लिब्जु–भुम्जु’ पत्रिका छापेर चलेको होइन । म आफैं एक प्रतिष्ठित सञ्चार माध्यममा २० वर्षदेखि काम गर्दैआएको छु । यदि यो लिब्जु–भुम्जु पत्रिकाको चिन्ता, चिन्तन, मन्थन गर्ने गरेको समय मूलधारकै पत्रकारितामा खर्चेको भए मेरो व्यवसायिक जिन्दगीमा आर्थिक लाभ हुने निश्चित थियो । तैपनि लागेको बानी त्याग्न सकिएन । अब गएको समय फर्काउन सकिन्न । वाम्बुले भाषा, साहित्य, संस्कृति संरक्षणमा जे जति काम भएका छन्, त्यसैमा आत्मसन्तुष्टि लिएर अघि बढ्नु एकमात्र उपाय हो । मलाई लाग्छ, वाम्बुले भाषा, साहित्यका स्रष्टाहरूले यो आलेख पढ्नु भएपछि रिस उठ्न सक्छ । निशासा पैदा हुनसक्छ । किनकि मैले गर्दा तपाईहरुले वाम्बुले भाषा साहित्य सिर्जना गर्दै आउनु भएको छ । मलाई लाग्दैन कि वाम्बुले भाषा मेरो मात्रै पेवा हो । म मात्रै वाम्बुले राई हुँ । वाम्बुले राई हुनको लागि के के मापदण्ड हुनुपर्छ । त्यसको निर्धारण मैले नै किटान गरौं । जिउवा बाःम । नमस्कार । हौवा बाःम । धन्यावाद ।
२०७६ फागुन २३ गते
ललितपुर महानगरपालिका–१४ नखिपोट,
प्रदेश नं.३, ललितपुर, नेपाल