मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ (भिडियोसमेत)

खेल प्रदेश १ विचार / ब्लग

यसरी दौडियौं ४२ दशमलब १९५ किलोमिटर उकाली–ओराली

मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९

रेवती थापामगर (लेकाली गिठ्ठा)

दौडिनु पर्ने जम्माजम्मी ४२ दशमलब १९५ किलोमिटर हो । बाटोचाहिं तेर्सो थोरै, ओराली र उकाली सबैभन्दा धेरै छ । ओरालीमा खुट्टा थामिनसक्नुको छ । उकालीचाहिं टोपी खस्ने नै छ । समय बिहान ६.३० बजे सुरु हुन्छ । साढे ९ बजे दुधकोशी किनार जयरामघाट पुग्नु छ । पुलपारि खोटाङतर्फ होटल बोडोममा १०.३० बजे पुग्ने र खाना खानु छ । खाना खाएर ११.४५ बजे रिचुवाको उकालो उक्लिनु छ । गाउँघर पाखारेखामा बस्नेको लागि पनि नयाँ काम हो यो । कुद्ने बानी हुनुपर्छ । दौडिने जाँगर चाहिन्छ । एक्लै होइन, दौडिने साथी चाहिन्छ । सबै सँगै दौडिनु पर्ने उद्देश्य चाहिन्छ । जुन काम गर्दा सामुहिकता जनिन्छ । हामीले त्यसै ग¥यौं, मार्च ११, २०२३ अर्थात् २०७९ फागुन २७ गते शनिबारका दिन । दौडको नाम ‘व्याकुल माइला म्याराथुन रन’ हो ।

पालिका अध्यक्ष र उपाध्यक्ष

सबैलाई थाहा छ कि नेपालको राष्ट्रगानका रचयिता व्याकुल माइला हुन् । व्याकुल माइलाको जन्मथलो ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी सोक्मटार हो ।

यो सबैलाई जानकारी नहुन सक्छ । स्वयं मानेभन्ज्याङ गाउँपालिकावासीलाई पनि धेरै ख्याल नहुन सक्छ । गाउँपालिका भित्रका तथा देश बासीहरूलाई राष्ट्रिय गानका रचयिता व्याकुल माइला सोक्मटारमा जन्मेका र हुर्केका हुन् भनेर देखाउने हो ।

नयाँ पिढीहरूलाई व्याकुल माइलाको जन्म घर देखाउने हो । त्यसैले हामीले ‘व्याकुल माइला म्याराथुन रन’को आयोजना गरेका हौं । यो तेस्रो संस्करण हो । अबदेखि हरेक वर्षको फागुन वा चैत महिनाको अन्तिम शनिबार हुनेछ ।

दुधकोशी किनारको ऊर्वर भूमि सोक्मटारमा उब्जनी हुने खाद्य तथा नगदेबाली सुर्तीको बुट्यान हेर्दै दगुर्ने पनि हो । म्याराथुन रनको रुट मानेभञ्ज्याङको अडिमर्दन चोकबाट सुरु भएर सिद्धिचरण राजमार्गका बस्तीहरू जेरुङगाउँ, तल्लो थाक्ले, गोगनपानी, लेखटार, हिलेपानी मितेरी भन्ज्याङ पुगिन्छ । त्यहीं भेट हुन्छ, पूर्व–पश्चिम मध्य पहाडी लोकमार्ग ।

लोकमार्ग पूर्वतर्फ फैलिएको छ, जहाँ दुधकोशी किनार सोक्मटार गाउँ पुग्छ । त्यहीं छ, व्याकुल माइलाको जन्मघर । हामी लोकमार्ग जयरामघाट सानो सीमाना बजार छ, ओखलढुंगा र खोटाङ जिल्लाको । दौड, त्यहीं जयरामघाटबाट बायाँ ओखलढुंगातर्फ टोपी खस्ने उकालो ग्रामिण सडक पच्छाउँदै पुर्सुमटार, तल्लो रिचुवा, माथिल्लो रिचुवा हुँदै जेरुङगाउँ उक्लिन्छ । जेरुगाउँमा उही अघि नाघेर गएको सिद्धिचरण मार्ग भेटिन्छ । दौड, मानेभञ्ज्याङस्थित अडिमर्दन चोकमा अन्त्य हुन्छ ।

व्याकुल माइला ओखलढुंगा जिल्लाको गहनामात्र नभई राष्ट्रको मणि हुन् भनेर गाउँपालिका बासीहरूलाई जानकारी र सूचना दिनु, महसुस गराउनु पनि हो । राज्यले के गर्छ, दिन्छ भन्दा पनि नागरिक तहबाट हामीले राष्ट्रकविको सम्झना गरिएको हो ।

व्याकुल माइला र हिलेपानी गाउँ

मुलुकको राजनीतिक परिवर्तन जनआन्दोलन २०६३ मा व्याकुल माइला जतिखेर ३४ वर्षका युवा थिए, त्यतिबेला सिर्जना गरेका राष्ट्रगान र उनै एक होनहार युवाको योगदान सम्झनालाई समाजमा जिवन्त राई व्याकुल म्याराथुन रन निरन्त राखिएको हो । आज व्याकुल माइला ५१ वर्षमा हिंडिरहेका छन् । तर हामीले दौडेको व्याकुल माइलाको निम्ति होइन । एक युगान्तकारी स्रष्टाको नामलाई लिएर सामाजिक परिवर्तनको आयाम थप्नका निम्ति हो ।

यति भन्दै गर्दा सन् २०२१ म पहिलो व्याकुल माइला म्याराथुन रन भएको बिर्सिन मिल्दैन । काठमाण्डुको पशुपतिनाथ मन्दिरको दक्षिण ढोका अगाडिबाट आरम्भ भई मानेभन्ज्याङको अडिमर्दन चोकमा समापन भएको थियो । तीनजना धावक थियौं । हामीले दिनमा ५० किलोमिटर दगुरेर ४ दिनमा २०० किलोमिटर पूरा गरेका थियौं । दोस्रो संस्करण सन् २०२२ मा व्याकुल माइला म्याराथन रनमा १० जना सहभागी थियौं । काठमाडौं–देखि ओखलढुंगाको मानेभन्ज्याङसम्म २०० किलोमिटर दूरीका म्याराथन पूरा गरेका थियौं । यी दुवै रनबारे मैले लेखेर इक लिब्जु–भुम्जु पत्रिकामा छापिएका छन् ।

म्याथन टोली हिलेपानी मितेरी भन्ज्याङ

फेरि तेस्रो संस्करणकै कुरा गरौं । यसपालि मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्ष आश्राचन राई, मानेभन्ज्याङ वडा नं.५ वडाध्यक्ष रामकुमार राई (आङ्गुस) र गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत छविलाल राईलाई हामीसँगै दौडिन सहमत तुल्यायौं । उहाँ तीनै जनालाई मैले निम्ति दिएको थिएँ भने वडाध्यक्ष आङ्गुस त दोस्रो संस्करणमा काठमाडौंदेखि अडिमर्दनचोकसम्मै दौडिनु भएका युवा हुनुहुन्छ । शनिबारको दिन विदा हो, त्यसैले जनप्रतिनिधि र कर्मचारीलाई पनि सहभागी गराउन सक्यौं । दौडको अघोषित नियम गाउँपालिकाभित्रकाले मात्र सहभागिता जनाउँन पाउँछ । अधिकृत राई खोटाङको हुनुहुन्छ र पनि पालिकाको एक जिम्मेवार कर्मचारी हुनुहुन्छ ।


होटेल रातेदाइ कफी मानेभन्ज्याङले प्रायोजन गरेको दौडमा ३५ जना सहभागी भयौं, जसमा ६ जना महिला थिए । १३ वर्षका दुईजना पुजन मगर र हेम मगर छन् भने सबैभन्दा जेठो गाउँपालिका उपाध्यक्ष आश्राचन राई ५० वर्षको हुनुहुन्छ । उपाध्यक्ष राईको एउटा सपना छ कि गोगानपानीमुनिको लेखटार जंगललाई ‘इको पार्क’ बनाउने उपाध्यक्ष आश्राचन राईको योजना छ । यो ठाउँमा अहिले सल्लाघारी छ ।

सुन्दर, शान्त, स्निग्न बगिरहेकी दुधकोशी नदी

म्याथनमा सहभागीहरू :
१) ज्ञानेन्द्र रुम्दाली २) आश्राचन राई ३) रामकुमार राई ४) छविलाल राई ५) रेवती थापामगर ६) सूर्य थापामगर ७) पवित्रा राई ८) साबित्रा राई ९) सुजता राई १०) सविता राई ११) तारा श्रेष्ठ १२) नबिना श्रेष्ठ १३) कैलाश मगर १४) महेन्द्र मगर १५) वीरेन्द्र मगर १६) रेवत मगर १७) जन्ताराम राई १८) समिर मगर १९) लेख मगर २०) तुलसी राई २१) राजु बिक २२) निशान श्रेष्ठ २३) जुनकुमार राई २४) हिमाल मगर २५) तुल्सी लिम्बु २६) सुरेस खड्का २७) देव थापामगर २८) हेम मगर २९) पुजन मगर ३०) नन्द मगर ३१) हिरण राई ३२) रमेश राई ३३) मदन राई ३४) राजु मगर र ३५) कुमार मगर ।

म्याथन टोली मानेभन्ज्याङ

सहभागीमध्ये ७ जनाचाहिं जयरामघाटबाट खाना खाएर गाडीमा फर्किनु भयो । बाँकी २८ जनाले म्याराथनको दूरी पूरा गरेका थियौं । म्याराथनको विश्व मापन दूरी ४२.१९५ किलोमिटर हो । हामी ४.४५ बजे मानेभन्ज्याङस्थित अडिमर्दन चोक आइपुग्यौं ।

यसरी मानेभन्ज्याङ गाउँपालिकावासी युवा र मध्य बैंसका जनप्रतिनिधिसमेतले लामो दूरीको दौडको अनुभव गर्न/गराउन पायौं । यसो गर्दा गाउँघरको स्थिति बुझिन्छ । भविष्यमा चर्चित म्याराथन रुट निर्माण हुनेछ भन्ने लागेको छ ।

हामी थाकेर सुस्ताएर बस्नेवाला छैनौं । अब यही चैत ७ गते घोडेजात्राको दिन ‘व्याकुल माइला माउन्टेन बाइक ट्रेल’ हुँदैछ । मानेभन्ज्याङदेखि ओखलढुंगा सिद्धिचरण शालिकसम्म ३० किमि र ओखलढुंगा–मानेभन्ज्याङसम्म ३० किलोमिटर गरी जम्मा ६० किलोमिटरको हुनेछ ।

यसमा मानेभन्ज्याङ अडिमर्दन चोक, बालेथुम्का, बाघपैले, विजयटार, दिब्जु कोलटार, बौद्धडाँडा, केतुके, गुरुङडाँडा, भुसुनेजंगल, लगलगे, गोरुमारेभन्ज्याङ (बलबहादुर राई शालिकचोक), ओखलढुंगा बजार हुँदै युगकवि सिद्धिचरण श्रेष्ठको शालिक तथा ऐतिहासिक ओखलढुंगाको दर्शन हुनेछ । ‘व्याकुल माइला माउन्टेन बाइक ट्रेल’को पहिलो संस्करण सन् २०२१ मा सम्पन्न भएको थियो । काठमाडौं–देखि ओखलढुंगाको मानेभन्ज्याङसम्म २०० किलोमिटर दूरी दुई दिनमा पार गरिएको थियो ।

तेस्रो व्याकुल माइला म्याथन रनको भिडियो यस्तो छ:

यसैगरी ‘लिब्जु माउन्टेन बाइक ट्रेल’ दोस्रो संस्करण यही चैतमा सम्पन्न हुनेछ । मानेभन्ज्याङदेखि लिब्जु उपो दर्शन, स्वालेवा पार्क, ब्ओकुला रंगशाला, जयरामघाट, हिलेपानी मितेरी भन्ज्याङ, तल्लो थाक्ले हुँदै मानेभन्ज्याङस्थित अडिमर्दन चोकमा समापन हुनेछ ।


तेस्रो व्याकुल माइला म्याराथन रन दौडिनुअघि मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले भन्नु भएको छ– ‘आगामी वर्षदेखि म्याराथन दौडिनेको संख्या बढ्दै जाओस् । आयोजना निरन्तर रहोस् । सबै युवादेखि ज्येष्ठ महिला, पुरुष सहभागी हुन सकौं ।’ यस मानेभन्ज्याङ गाउँपालिका जन्मथलो भएका दिदीबहिनी, दाजुभाइहरू देश–विदेशमा जो जहाँ हुनुहुन्छ, हाम्रो अभियानमा साथ दिनुहोस् । हाम्रो पालिकाको मुहार फेर्न हामी जुटौं ।

तेस्रो व्याकुल माइला म्याथन रनको भिडियो यस्तो छ:-

Leave a Reply

Your email address will not be published.