(कक्षा–७, सेन्ट मेरिज स्कुल, जावलाखेल, ललितपुर)
मेरो अन्तिम त्रैमासिक परीक्षा सकिन लागेको बेला हामी पाथीभरा मन्दिर जाने भन्ने सुनें । आमा, ठूलोबा र छेमाले कति धेरै रमाइला योजना बनाउनु भएको रहेछ । यी योजनाहरू सुनेर म मख्ख थिएँ । जाँच सकेर धरान जाने र त्यसपछि पाथीभरा जाने दिन गन्न थालें । त्यो दिन आउनै लागेको थियो । आमाले अफिसको छुट्टी मिलाइ सक्नु भएको थियो । तर ठूलोबा काम परेर हामीसँग जान पाउनु भएन । त्यसपछि म, आमा, छेमा मात्र जाने सोच बनायौं । हामीले बैनी युक्का र भाइ सायोगलाई पनि लाने भयौं तर साइली मामुलाई थाहा नदिई ।
जाने दिन हामी चारैजना उठेर तयार भएका थियौं । भाइबैनी पनि अल्छी नगरी उठे । बिहानको पाँच बजे उठेर खाजा खायौं । हामी ललितपुरको तिखेदेवल नजिकै बस्छौं । खाजा खाएर नर्सरी चोकबाट गाडी चढेर बाटो लाग्यौं । बाटोमा हामी घरी रमित हेर्दै घरी सुत्दै आयौं । धरान पुग्नेबित्तिकै हामी तीनैजना दिदीभाइ बहिनी भेटियौं भनेर रमायौं । अनि साइली आमाको घरमा ढोकामा पुग्यौं । उहाँले बैनी युक्का र भाइ सायोग देखेर आश्चर्यमा मान्दै रमाउनु भयो । अनि मन भित्रैदेखि स्वागत गर्नुभयो । हामी हातखुट्टा धोएर खाजा खायौं । हामी न्यायासँग पनि खुब रमायौं । अनि भोलि पाथीभारा जाने तयारी गरेर सुत्यौं ।
बिहान पबिस मामा, सन्तोष मामा, आमा, छेमा र म पाथीभारा तिर लाग्यौं । त्यस दिन हामी ताप्लेजुङ पुगेर रामसीता होटेलमा बास बस्यौं । बिहान चार बजे उठेर पालैपालो नुहायौं । अनि साढे पाँच बजे बाटो लाग्यौं । पाथीभारा मन्दिर पुग्नेभन्दा तल पुगेपछि सामान किन्यौं । लुगा पोको पार्ने प्लास्टिक, उकालोमा टेक्ने लठ्ठी, लेक नलागोस् भनेर खानुपर्ने भुटेको मकै, सातु आदि किन्यौं । उकालो लागेपछि रमिता हेर्दै गफ गर्दै र जिस्किदै हिंड्यौं । बिसाउँदै उक्लियौं ।
थाकेको बेला हामीले बोकेको चकलेट, सातु, रेडबुल खाँदै भोक मेटायौं । त्यहाँ हिउँ पर्दोरहेछ । हिउँ पनि खेल्यौं । मैले पहिलो पटक हिउँ परेको देखें । पुग्न आँटेको बेलाको कुरा हो, हामीले धेरै लोखर्के देख्यौं । तिनीहरुलाई सातु दियौं । पाथीभारा पुग्न घन्टौं हिंड्नु पथ्र्यो । यहाँको दृश्य सारै राम्रो छ । उकालोमा भरिया दाइहरु सँगसँगै हुनुहुन्थ्यो । उहाँहरुले हिंड्न नसक्ने मान्छे र भारी बोकेर सहयोग गर्नुहुन्छ । हामी रमाइलो मान्दै मन्दिर पुग्यौं । पूजा ग¥यौं । त्यहाँ मैले विश्व कल्याण र शान्तिको प्रार्थना गरें । पुजा गरिसकेपछि सबै जनाले हिउँ खेल्यौं । मैले र छेमाले हिउँको डल्लो पारेर मान्छेको आकृति बनायौं ।
त्यहाँ धेरै जाडो छ । त्यसैले धेरै बेर रहन सकेनौं । त्यसपछि फर्कियौं । फर्किदा भरिया दाइहरुले भन्नुभएको सुनें । अब त्यहाँ पुग्नको लागि केबल कार बन्नेछ । त्यसपछि अहिलेजस्तो हिंड्नु पर्दैन । गोरखाको मनकामना दर्शन गर्न जाँदा जस्तो सरर केबल कारमा पुगिनेछ । छेमा, म र सन्तोष मामा अघि अघि हिड्यौं । पछिपछि पबिस मामा र आमा प्रकृतिमा रमाउँदै झर्नुभएछ । आमाले फर्किदा पानी पर्न लागेकोले आफूसँग भएको प्लास्टिक जरुरी परेको भरिया दाइहरुलाई दिनु भएछ । उहाँभन्दा हामी १५ मिनेट अगाडि अघि सामान किनेको ठाउँमा आइपुग्यौं । त्यहाँ चिया खायौं । त्यसपछि हामी हिजो बसेको होटेलमा आएर बास बस्यौं ।
त्यसरी एक दिन दुई रात त्यही होटलको बास भयो । भोलिपल्ट सुमो गाडीमा धरान फर्कियौं । धरान बेलुका आइपुग्यौं । भाइ र बैनीसँग खेल्यौं । भोलिपल्ट सबै भाइबैनीहरु भेला भएर खेल्यौं । आधा दिन खेलेरै बितायौं । त्यसदिन पिज्जा खायौं । त्यसको भोलिपल्ट म, युक्का, सायोग, मन्सिल भाइ अनि अशोक दादा, क्लिन्टन मामा, छेमा मिलेर माछा पाकौं । त्यस दिन आमा काठमाडौं फर्किनु भयो ।
त्यसको भोलिपल्ट हामी खोटाङ मामाघर जाने भयौं । यो ठाउँ जन्तेढुंगा गाउँपालिका वडा नं. ६ चिसापानीको दिप्लुङ ओदाले गाउँ भन्दछन् । म, भाइ, बैनी, छेमा, पबिस मामा र क्लिन्टन मामा गाउँ जाने भयौं । हामीलाई हाम्रो सानी प्यारी बैनी न्यायालाई छोड्न मन नहुँदै बाटो लाग्यौं । अनि सबैजना गाउँ आइपुग्यौं । क्लिन्टन मामा एक दिन हाम्रोमा बसेर भोलिपल्ट आफ्नो घर जानुभयो ।
हामी ठ्याक्कै देश नेपालमा बन्दाबन्दी (लकडाउन) भएको दिन गाउँ आइपुगेका थियौं । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा बन्दाबन्दी भएको हो । गाउँ पुगेपछि रमाइलो भयो । गाउँघरमा हिंड्न, डुल्न, काम गर्न पाइयो । गाउँमा हामी धेरै कुरा सिक्यौं । बुझ्यौं । मकै रोप्दा सियो हाल्न सघायौं । दाउरा बोक्यौं । घाँस काटेर बोक्यौं । भाइले त आफैं दुईवटा चल्ला मा¥यो । कोदालोले मकै गोड्यौं । एक दिन हजुरआमा र छेमा जाँतो पिन्दै हुनुहुन्थ्यो । हजुरआमाको हात जाँतो र भित्तामा ठोक्किएछ । हातमा पुरानो मर्किएको ठाउँमा परेर बल्झियो । भोलिपल्ट चिसापानी अस्पतालमा जचाउँन गयौं । हामी डाक्टरलाई आफ्नो पनि समस्या सुनायौं । त्यही रात माथि गाउँमा बस्नु हुने बिकासेम्पा पनि खस्नुभयो ।
गाउँमा बस्दा म आमा र पापासँग फोनमा कुराकानी गरिहन्छु । आमाले हजुरआमाको ख्याल राख्नु भन्नुहुन्छ । बिहान बिहान बैनी र म दूध लिन जान्थ्यौं । नयाँ वर्षको एक दिन अगाडि ऐसेलु टिप्न गयौं । बिनी, म, छेमा, भाइ, बैनी गयौं । बाटोभरि ऐसेलु पाकेको देख्यौं । ऐसेलु टिपेर जन्तेढुंगामाथि बसेर खायौं । कत्ति मिठो लाग्यो । हामीले बोकेको चकलेट, जुस, चाउचाउ पनि खायौं । भोकको बेला ऐसेलु र खाजाको मजा लियौं । अनि घर फर्कियौं ।
आज २०७७ वैशाख १ गते नयाँ वर्षको दिन हो । हामीले खसीको मासु खायौं । दिउँसो चटपटे, पानीपुरी, करेन्ट (पिरो चाउचाउ) आदि खायौं । यसरी नयाँ वर्ष मनायौं । अब म नयाँ कक्षामा पुगेको छु । मलाई यो मेरो यात्रामा साथ सहयोग गर्नु हुने ठूलोमामा सुमन पुमा राई र माइजु, छेमा मनिकला राई, कान्छा मामा पबिस राई अनि सबै सबैलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ।
तस्बिर स्रोत : पाथीभारा फोटा, जन्तेढुंगा गा.पा. र नक्सा गुगलबाट