देशका विभिन्न स्थानमा हिमपातः कसैलार्इ रमाइलो, कसैलार्इ कष्ट

मुख्य समाचार

काठमाडाैं । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भएसँगै विभिन्न जिल्लामा हिमपात भएको छ । काठमाडौँको पश्चिमी डाँडो चन्द्रागिरी तथा आसपासका अन्य डाँडामा पनि हिमपात भएपछि कतिपय राजधानीबासी हिउँ खेल्न डाँडातिर लागेका छन् ।

चिसाको कारण उपत्यकाका आसपासका फुलचोकी, शिवपुरीलगायत ठाउँहरूको जनजीवन कष्टकर बनेको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनसभयाे । उहाँका अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव विस्तार भइसकेको छ । र, अहिले देशका अधिकांश ठाउँमा वर्षा भएको छ । साँझसम्म यो वायुको प्रभाव कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने उहाँको भनाइ छ । आज काठमाडौँ उपत्यकाको तापक्रम ७.३ डिग्री सेल्सियस भएपनि दिउँसो अधिकतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार वीरेन्द्रनगरबाहेक सबै स्थानमा वर्षा भएको छ । आज काठमाडौँमा दुई मिलीमिटर वर्षा भएको छ । सबैभन्दा बढी डडेल्धुरामा १२ मिलीमिटर वर्षा भएको छ । गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ ।
हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ ।

यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ । चिसोबाट बच्नका लागि व्यासको छाङरु र तिंकरका बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङ्गा झरिसकेका स्थानीयवासी दानसिंह तिंकरीले बताउनुभयाे ।

डडेल्धुरा सदमुकामलगायत भीमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टेलगायत स्थानमा हिमपात भएको स्थानीयवासी आषिश मल्लले जानकारी दिनुभयाे । बझाङको जयपृथ्वी नगरपालिका पणेश क्षेत्र, धामीलेक, पीठालेक, दौलीचौर, सुर्मा, काँडालगायत क्षेत्रमा पनि हिमपात शुरु भएको छ । सो क्षेत्रमा मंगलबार रातिदेखि पानी पर्न थालेको हो । उच्च पहाडी भेगमा हिमपात जारी छ । यस्तै अछामको उच्च हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ ।

हिमाली जिल्ला मुस्ताङमा आज बिहानैदेखि हिमपात भएको छ । हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयाे ।लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिउँ परेपछि स्याउ खेती फस्टाउने, जौ, गहुँ, उवा, फापर बालीमा सिँचाइ हुने भएकाले कृषक खुशी भएका हुन् । यस्तै, म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र घोडेपानीमा समेत हिउँ परेको छ । मंगलबार दिउँसोदेखि मौसम परिवर्तनसँगै रातिदेखि बाजुरामा पानी परेको छ । गहुँ बाली, तरकारी सुकेर जाने अवस्था पुगेकाले पानी परेपछि किसान हर्षित भएका छन् । बाजुराको बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च भेगमा हिमपात भएको छ ।जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मीनप्रसाद जैशीले पानी परेपछि केही मात्रामा गहुँ उत्पादन बढ्ने आशा व्यक्त गर्नुभयो । 

-राससको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *