‘राष्ट्रिय सभाको निर्वाचनलगत्तै पदाधिकारी चयन गर्छौं’

मुख्य समाचार

काठमाडाैं । नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रिय सभाको निर्वाचनलगत्तै पार्टीले पदाधिकारी चयन र विभागहरू गठन गर्ने स्पष्ट पारेका छन् । अाज राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै  उनले भने,‘निर्वाचन सम्पन्न भएलगत्तै हामी पदाधिकारी र विभागहरू गठन गर्छौं ।’ नेता साउदले पदाधिकारी मनोनयनको लागि पार्टीभित्र र बाहिर कुरा उठिरहेको बताउँदै निर्वाचनलगत्तै त्यसबारेमा ठोस निर्णय लिइने जानकारी दिए । उनले पार्टी सभापति शेरबहादुर देउवाको अहिले विकल्प नरहेको समेत जिकिर गरे ।

साउदले अहिले विशेष महाधिवेशनको कुनै संभावना नरहेको समेत स्पष्ट पारे । उनले भने,‘अहिले विशेष महाधिवेशनको कुनै संभावना छैन, यो पार्टीको हितमा पनि छैन, हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकमा ८० जना केन्द्रीय सदस्यहरूको उपस्थिति थियो, तर तीमध्ये कसैले पनि विशेष महाधिवेशनबारे एक शब्द उच्चारण गर्न सक्नुभएन, के को विशेषमा महाधिवेशन ? विशेष महाधिवेशन दुई वटा कारणले मात्रै हुनसक्छ, एउटा केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्छ, अर्को २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित बुझाउनुभयो भने विशेष महाधिवेशन बैठक बस्न सक्छ ।’

उनले कांग्रेस पार्टीका इतिहासमा सभापति महाधिवेशन र क्रान्तिबाट चयन हुने भएकोले १३ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको अहिले विकल्प नरहेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published.