किन फर्किएनन् नेपाली वैज्ञानिक ?

पत्रपत्रिका

काठमाडौं ।  विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्वाकांक्षी अभियान असफलप्रायः भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विदेशमा कार्यरत नेपाली वैज्ञानिकको सीप, दक्षता र अनुभव स्वदेशमा उपयोग गर्न भन्दै अघिल्लो वर्ष सुरु गरेको अभियानअन्तर्गत दुई जना मात्र वैज्ञानिक स्वदेश फर्केर काम गरिरहेका छन् । नास्टले पहिलोपटक ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ अभियान सञ्चालन गरेको थियो ।

सरकारको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत नास्टले अघिल्लो वर्षको अन्त्यतिर लोकप्रिय नारा दिएर सुरु गरेको यो कार्यक्रमले निकै चर्चा पाए पनि विदेशमा कार्यरत वैज्ञानिकलाई भने आकर्षित गर्न सकेन । नास्टले विदेशमा कार्यरत वा विदेशबाट फर्किएको एक वर्ष पूरा नभएका वैज्ञानिकलाई विज्ञानका क्षेत्रमा अनुसन्धानमा लगाउने जनाएको थियो ।

नास्टका अनुसार १९ जनाले आवेदन दिए पनि अन्तिममा चार जना मात्र छनोट गरिएको थियो । तीमध्ये दुई जना नास्टमै आएर काम गरिरहेका छन् भने दुई जना छनोट भए पनि नेपाल नफर्किएको नास्टले जनाएको छ । नास्टको कार्यक्रमअन्तर्गत एक दशकदेखि दक्षिण कोरियामा कार्यरत डा. माधव न्यौपाने र डा. लक्ष्मीप्रसाद थापा फर्किएका हुन् ।

नास्टका उपकुलपति डा. जीवराज पोखरलले विदेशमा रहेका नेपाली वैज्ञानिकको क्षमतालाई उपयोग गर्ने नीतिअनुसार यो कार्यक्रम सुरु गरिए पनि अपेक्षाकृत सफलता पाउन नसकेको स्विकारे । उनले भने, ‘उहाँहरूको सीप र अनुभवलाई आफ्नै देशमा उपयोग गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेका थियौं, सोचेजस्तो परिणाम आएन ।’

पछिल्लो समय नेपालबाट वैज्ञानिक पलायन बढेकाले नास्टले यस्तो कार्यक्रम ल्याएको थियो । सीमित साधन-स्रोतका कारण पनि वैज्ञानिकलाई आकर्षण गर्न नसकिएको नास्टको निष्कर्ष छ ।

सरकारले उक्त कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन गरेको थियो । ‘हामीसँग बजेट नै कम थियो, नास्टमा कार्यरत वैज्ञानिक साथीहरूले पाए जति नै सेवा-सुविधा दिने हो’, उपकुलपति पोखरेलले भने, ‘तर विदेशमा कार्यरत साथीहरूको अपेक्षा बढी देखियो ।’

सरकारले स्वदेश फर्किका वैज्ञानिकलाई उपसचिव तहको सुविधा दिएको जनाएको छ । विदेशमा राम्रो सेवा-सुविधा उपभोग गरिरहेकालाई सरकारी सुविधाले आकर्षण गर्न नसकेको नास्टमै कार्यरत वैज्ञानिकको ठहर छ । आजको अन्नपूर्णमा खबर छ ।

Leave a Reply

Your email address will not be published.