बान्तावा भाषाविद् रमेश तेन्चिपा रहेनन्

मातृभाषा समाचार

लिभु संवाददाता
काठमाडौं– बान्तावा भाषाविद् तथा किराती संस्कृतिकर्मी रमेश तेन्चिपाको निधन भएको छ । यही २०७५ पुस ७ गते उनकै निवास कालिम्पोङ, भारतमा ६४ वर्षको उमेरमा उनको निधन भएको हो । उनलाई पाइल्स रोगका कारण केही समयदेखि क्यान्सर पीडित थिए ।

बान्तावा भाषाविद् रमेश तेन्चिपाको कृति

उनी भारतको कालिम्पोङ, दार्जिलिङ, सिक्किम र नेपालको किरात राई समुदायमा उनको बान्तावा भाषा र किरात राई संस्कार–संस्कृतिका कारण निकै लोकप्रिय थिए । उनको बान्तावा भाषाको पहिलो खण्डकाव्य ‘हेत्छाकुवा’ कृति प्रकाशित छ । उक्त कृतिलाई बुङ्वाखा मासिक पत्रिकाले २०७२ सालको लागि ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’बाट झापाको दमकमा पुरस्कृत गरेको थियो ।

स्रष्टा तेन्चिपाको किरात लोककथाहरु, नाटक, किरात राईका पाछाहरु, बान्तावा गीतहरु विभिन्न पुस्तक प्रकाशित छन् । उनले दार्जिलिङबाट प्रकाशित हुने ‘पारुहाङ सालावा’, ‘चोमोलुङ्मा’जस्ता आवधिक पत्रिकाहरुको सम्पादन गरेका छन् । बहुमुखी प्रतिभाका धनी तेन्चिपाले ‘लेम्लेम्मा’ किराती लोककथाको सहसङ््कलन र सहलेखनसमेत गरेका छन् । बान्तावा भाषा, संस्कार–संस्कृतिसम्बन्धीको अथाह ज्ञानको कारण उनी कैयौं अनुसन्धाताहरुको लागि श्रोतव्यक्तिको रुपमा परिचित थिए । बान्तावा भाषाविद् रमेश तेन्चिपाको निधनप्रति बुङ्वाखा मासिकका सम्पादक पदम राईले विज्ञप्ति जारी गर्दै गहिरो शोक व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.