चारजनालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार

समाचार

लिभु संवाददाता
काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ ।

पुरस्कार छनौट समितिको सिफारिसमा फोनिज सचिवालय बैठकले अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो । फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरब आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र बिमला चौधरी (रेडियो) विधामा पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि जनही ४० हजार रुपैयाँ रहेको छ । सो पुरस्कार फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान सचिव मिलन लिम्बूले विज्ञप्तिमा जनाउनु भएको छ । पुरस्कृत पत्रकारको संक्षित विवरण-


उजिर मगर
२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारिता सुरुवात गर्नु भएका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसक्नु भएको छ । हाल एभरेष्टदैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव र फोनिजका सल्लाहकार समेत हुनुहुन्छ ।


भैरब आङ्ला
२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारिता सुरु गर्नु भएका भैरब आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिका साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसक्नु भएको छ । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहनु भएका आङ्ला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन् । उहाँले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रसाणरण गरेर मातृभाषा विकासमा समेत योगदान पु¥याउनु भएको छ ।


छेटु शेर्पा
२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारिता सुरु गर्नु भएका छेटु शेपाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसक्नु भएको छ । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।


बिमला चौधरी
२०६२ सालदेखि पत्रकारिता सुरु गर्नु भएका कमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसक्नु भएको छ । हाल बाँकेको नेपालञ्जस्थित रेडियो सद्भावमा कार्यरत चौधरीले पत्रकारिता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पु¥याउँदै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *