सिरिजङ्गाहाङ किरात लिपिका आविष्कारक होइनन्, पुनरुत्थानकर्ता मात्र हुन्

मुख्य समाचार
मञ्जुल याक्थुम्बा

ताप्लेजुङ जिल्लाको साविक याङवारकलाई हाल अपभ्रंसित शब्दमा याङरूप भन्ने गरिन्छ । नवौँ शताब्दीमा त्यहाँ एक थेबे थरका सिरिजङ्गाहाङ राजा थिए । उनी शुरवीर, प्रतापी र धर्मात्मा पनि थिए । उनैले किरात लिपिको आविष्कार गरेका हुन् भन्ने जस्ता कुराहरू केही विद्वान््हरूले लेख्ने गरेको पाइयो । तर यस प्रमाणहीन कुराले किरात इतिहासलाई नै बङ्ग्याउन खोजिएको ठहर्छ भन्नमा अत्युक्ति नहोला । किनभने निम्नलिखित प्रमाणहरूको आधारमा सिरिजङ्गा हाङले कुनै पनि हालतमा किरात लिपिको आविष्कार गरेका होइनन्, उनी यस लिपिका पुनरुत्थानकर्ता र परिमार्जनकर्ता मात्र हुन् भन्ने कुराको प्रमाणित हुन्छ ।

१.किरातबारे पर्सभिल ल्यान्डनको ‘नेपाल इतिहास’ द्वितीय भागमा किरातहरू द्वापरयुग १५००० पन्ध्रहजार वर्ष जाँदा नेपालमा राज्य गर्न लागेको हो भनी लेखिएको छ ।

त्यस्तै प्राचीन किरात जातिबारे निक्कै पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । किरातहरू ऋग्वेदको समयभन्दा निक्कै पुराना हुन् । एकादश रुद्र र पशुपति किरातेरेश्वरबीच समीकरण गर्ने काम वैदिक युगपछि गरिएको हो । ऋग्वेदका प्रमुख देवता ईन्द्र थिए भने किरातेश्वर पशुपति महादेव यो हिमाली उपमहादेशका ईन्द्रभन्दा पनि पहिलेका र सम्भवतः प्राचीनतम आराध्य पुरुष थिए । आर्यजनको आगमनभन्दा पहिले वैभवशाली र प्रतिष्ठित रहेका किरात समुदायसित आफ्नो सांकेतिक लिपि थिएन होला भन्न सकिन्न । वास्तवमा सैन्धव साङ्केतिक लिपिलाई हिमाली किरातहरूले आफ्ना निम्ति कायम राखेकोमा पछि गएर ब्राम्ही लिपिको उदय पश्चात् किरातहरूले कायम राखेको लिपिलाई नै नवौँ शताब्दीमा सिरिजङ्गाहाङले पुनरुत्थान गरेको हुनुपर्छ । किरात लिपिको प्रथम आविष्कर्ता सिरिजङ्गाहाङ थिए भन्न युक्तिसङ्गत देखिँदैन, बरु उनी सो लिपिका पुनरुत्थानकर्ता हुन् भन्ने कुरा २०५९ जेठको मधुपर्कमा मदनमणि दीक्षितले उल्लेख गर्नु भएकोछ ।


२. सर फ्रान्सिस ह्यामिल्टन बुकानन्ले सन् १८१९मा छपाएका An account of the kingdom of the Nepal and sorronding tergritories annexed भन्ने पुस्तकमा ईशा मसिहभन्दा ४००० चार हजार वर्षअघि परसिया खाडीको उत्तरी समभूमिमा बस्ने सौमर किरातहरूसँग एक प्रकारको अक्षर भएको कुरा विरही काइँलाद्वारा लिखित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘लिम्बू भाषा र साहित्यको परिचय’ नामक पुस्तक प्रथम संस्करण २०४९ भदौ पृष्ठ ३४ मा उल्लेख छ । आजभन्दा ६००० छहजार वर्षअगाडि नै किरात लिपिको अस्तित्व रहेको कुरा सो पुस्तकबाट प्रमाणित हुँदाहुँदै नवौँ शताब्दीमा मात्र सिरिजङ्गाहाङले किरात लिपिको आविष्कार गरेको भन्न मिल्दैन । अतः विभिन्न कारणवश प्रायः प्रयोग गर्न छोडिएको लिपिलाई नवौँ शताब्दीमा पाएर उनले पुनरुत्थान मात्र गरेका हुन् भन्नमा अत्युक्ति नहोला ।

३. शिवकुमार श्रेष्ठद्वारा लिखित किरात प्रकाशन तथा अभिलेख केन्द्रबाट प्रकाशित लिम्बूवानको ऐतिहासिक अध्ययन दोश्रो संस्करण २०५२ को पृष्ठ ११५ मा सिरिजङ्गाहाङले किरात लिपिको पुनरुत्थान गरी प्रचार प्रसार गर्नमा योगदान गरे भन्ने स्पष्ट उल्लेख भएकोले सिरिजङ्गाले किरात लिपिको आविष्कार गरेको होइन भन्ने पुष्टि हुन्छ ।

४. प्राज्ञ बैरागी काइँलाद्वारा सम्पादित २०४९ भदौमा लिम्बू भाषा किरात सिरिजङ्गा लिपिमा प्रकाशित वर्ष १ अङ्क १ ‘याक्थुङ साप्सक नु साक्थिम’ नामक पत्रिकामा २५०० वर्ष अघि पुरानो बौद्ध धर्मग्रन्थ ललित विस्तरमा वर्णन गरिएको किरात लिपि र नवौँ शताब्दीमा सिरिजङ्गाहाङले पाएर प्रचारप्रसार गरेको किरात लिपि सम्बन्धी खोजकार्य अब विद्वान्हरूको काँधमा आएको छ भन्नेसम्म उल्लेख भएकोछ । तर सिरिजङ्गाहाङले लिपि आविष्कार गरेको हो भन्ने कुरा उल्लेख भएको छैन । यस लेखबाट तीन कुराहरू स्पष्ट हुन्छ । एक— सिरिजङ्गा हाङले नवौँ शताब्दीमा किरात लिपिको आविष्कार गरेका होइनन् । दुई— पाएको लिपिलाई परिमार्जन गरी प्रचारप्रसारमात्र गरेका हुन् । तीन— ६००० वर्ष अघि नै अस्तित्वमा आएको किरात लिपि २५०० वर्ष अघिसम्म निरन्तर रूपले प्रयोगमा आएको प्रमाणित हुन्छ ।

५. इमानसिंह चेम्जोङद्वारा अङ्ग्रेजीमा लिखित किरात इतिहास तथा संस्कृति नामक पुस्तकलाई शेरबहादुर इङ्नामले २०५१ मा अनुवाद गरी प्रकाशित भएको पुस्तकको पृष्ठ १२३ मा कुम्भकर्ण हिमाल फेदीको गुफामा पातलो ढुङ्गामा लेखिएका लिपिहरू निशाम साम्माङले सिरिजङ्गाहाङलाई दिएको कुरा मुन्धुममा उल्लेख छ भनी लेखिएको छ । सो लेखाइबाट पनि निशाम साम्माङले दिएको अक्षरहरूलाई सिरिजङ्गाहाङले परिमार्जन गरी प्रचारप्रसार मात्र गरेका हुन्, उनले लिपिको आविष्कार गरेका होइनन् भन्ने प्रमाणित हुन्छ ।

६. ढुङ्गामा कुँदिएको अक्षरहरू भएको ठाउँमा लगी निशाम साम्माङले सिरिजङ्गाहाङलाई देखाई दिएकोले सोही लिपिलाई सिरिजङ्गा लिपि भनियो भनी त्येअङसी सिरिजङ्गा सिङ्थेबे (दोस्रो सिरिजङ्गा) जन्म जयन्तीको अवसरमा सिक्किम राज्य भारतको ‘निङ्वासोम’ नामक १४ डिसेम्बर १९९७ को स्मारिकामा उल्लेख भएकोले सिरिजङ्गाहाङलाई किरात लिपिका आविष्कारक भन्न मिल्दैन । निशाम साम्माङले देखाई दिएको लिपिलाई उनले परिमार्जन गरी प्रचारप्रसारमात्र गरेका हुन् ।

७. आर्यहरूको कैरात देश नेपालमा आगमन हुनुअघि नै नेपालमा हजारौँ वर्षसम्म ३३ पुस्ता राज्यगर्ने किरातहरूको लिपि थिएन भन्न माथि उल्लेखित प्रमाणहरूको आधारमा मिल्दैन । ईस्वी ३—५ सय वर्ष पूर्व प्रयोगमा आएको ब्राम्ही लिपिबाट देवनागरी लिपिमा रूपान्तर भएको लिपिभन्दा किरात लिपि धेरै जेठो भएकोले नवौँ ईस्वीमा मात्र सिरिजङ्गाहाङले आविष्कार गरेको भनी दिँदा हाम्रो लिपि र अस्तित्व आर्यहरूभन्दा पछिको हो भन्ने प्रमाणित गर्न खोजिएन त ? पाएसम्मका प्रमाणहरूलाई केलाएरमात्र निक्र्यौलमा पुग्नु पर्नेमा आफ्नो इतिहास आफैँँंले बिगार्ने खालको काम हाम्रा अग्रज एवम् विद्वान् बन्धुहरूबाट हुनु भएन ।

८. इमानसिह चेम्जोङद्वारा लिखित किरात सम्बन्धी सम्पूर्ण पुस्तकहरूमा, स्वदेशी तथा विदेशी इतिहासकारहरूद्वारा लिखित ग्रन्थहरू र नेपालको राष्ट्रिय सङ्ग्रहालयमा समेत किरात लिपि नै उल्लेख भई मान्यता पनि पाइसकेको देखिन्छ भने सिरिजङ्गाहाङले गुफामा प्राप्त गरेको लिपिलाई उनले परिमार्जन र पुनरुत्थान गरी प्रचार प्रसार गरेकाले उनको योगदानको पनि कदर होस् भन्ने अभिप्रायले किरात लिपिलाई किरात याक्थुङ चुम्लुङको २०४९ सालमा भएको दोस्रो महाधिवेशनले ‘किरात सिरिजङ्गा लिपि’ भनी घोषित गरेको सान्दर्भिक कुरालाई सम्पूर्ण याक्थुङ बन्धुहरूले बिर्सनुु भएन ।

९. किरात लिपिलाई कसैले लिम्बू लिपि र कसैले सिरिजङ्गा लिपि पनि भन्ने गरेको पाइयो । प्रायः गरेर धेरैजसो लिम्बूहरूले प्रयोग गर्ने लिपि भएकोले ‘लिम्बू लिपि’ भन्ने र सिरिजङ्गाले पुनरुत्थान÷परिमार्जन गरेकोले सिरिजङ्गा लिपिमात्र भनी दिँदा किरात लिपिबारे यदाकदा भ्रम पनि फैलिएको छ । अतः यो लिपिलाई ‘किरात सिरिजङ्गा लिपि’ मात्र भन्ने र किरात हौँ भनी गर्व गर्ने लिम्बू, राई, याक्खा, सुनुवार आदि सम्पूर्ण किरातहरूको साझा लिपि हो भन्ने कुरा नभुलौँ ।

१०. विभिन्न कालखण्ड पार गर्दै लिपिले विकसित रूप लिँदै जाने भएकोले ६००० वर्षअघि संवर किरातको पालामा प्रयोग भएको किरात लिपि, ललितविस्तरमा उल्लेख भएको किरात लिपि र नवौँ शताब्दीमा सिरिजङ्गाहाङले निशाम साम्माङबाट प्राप्त गरी परिमार्जनका साथ प्रचारप्रसार गरेको किरात लिपि एउटै हो वा होइन भन्ने विषयमा चर्चा चल्नु र छलफल हुनु प्रासङ्गिक कुरा हुन सक्छ । तर ६००० वर्षअघि नै अस्तित्वमा आएको लिपिलाई नवौँ शताब्दीमा मात्र सिरिजङ्गा हाङले आविष्कार गरेको भन्न खोज्नुचाहिँ भारत र नेपालमा किरातहरूभन्दा आर्यहरू अघिका हुन् भनी इतिहास बङ्ग्याउनु खोजिए जस्तै हाँस्यास्पद कुरो हो ।

११. सम्बन्धित विषयमा ज्ञान नभए पनि, खोज अनुसन्धानबाट प्रमाण नभेटिए पनि, कसैले भनेको कुरालाई सुनेकै भरमा कैयौँ ग्रन्थहरू र इतिहास लेखिने गरिएको छ र लेखिन्छ पनि । तर अनुसन्धान र अध्ययनबाट तथ्य कुरा पत्तालागेपछि त्यस्ता ग्रन्थहरूको संशोधन गर्ने परिपाटी कायम छ र गर्नु पनि नितान्त आवश्यक छ । देशको इतिहास नै तथ्यमा आधारित भएर नलेखिएको रहस्य खुलेपछि इतिहास संशोधन मण्डल हाम्रो देशमा खडा भएको कुरा सर्वविदितै छ । अतः चुम्लुङले निर्णय गर्नुअघि किरात लिपिबारे जेसुकै भनि आए पनि, जेसुकै लेखिआए तापनि माथि उल्लेखित बुँदागत प्रमाणहरूको आधारमा सिरिजङ्गाहाङले नवौँ शताब्दीमा किरात लिपिको आविष्कार गरेका होइनन्, सो लिपिको परिमार्जन गरी प्रचारप्रसार गरेका मात्र हुन् र सो लिपिलाई लिम्बू लिपि वा सिरिजङ्गा लिपि नभनी ‘किरात सिरिजङ्गा लिपि’ भन्नुपर्छ भनी आफ्नो भाषा, लिपि, साहित्य, संस्कृति, धर्म, इतिहास एवम् जातीय उत्थानमा लागीपर्ने सम्पूर्ण लिम्बूहरूको एक मात्र प्रतिनिधिमूलक सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको २०४९ को निर्णयले ऐतिहासिक तथ्यलाई प्रष्ट पारेकोछ ।

२०५९÷७÷२७÷४
(लेखक किरात याक्थुङ चुम्लुङको पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)
(साभार– तान्छोप्पा वर्ष ७, अङ्क १२, बिहिबार,१२ मङ्सिर २०५९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *