मातृभाषा विकासमा पत्रपत्रिका प्रकाशन महत्वपूर्ण रहेको विज्ञले बताउनु भएको छ ।
‘लिब्जु–भुम्जु पत्रिकाको १०० अङ्क विमोचन तथा मातृभाषा संवर्धनमा पत्रपत्रिकाको भूमिका विमर्श’ विषयक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
पूर्वराजदूत तथा भाषाशास्त्री प्राध्यापक डा. नोवल किशोर राईको प्रमुख आतिथ्यतामा उक्त पत्रिका विमोचन गरिएको हो । इक लिब्जु–भुम्जु त्रैमासिक पत्रिकाले २०८२ वैशाख १३ गते शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल शिवटोलमा आयोजना गरेको थियो ।
राष्ट्रियगानबाट शुभारम्भ भएको कार्यक्रममा लिब्जु–भुम्जु त्रैमासिक पत्रिकाका संस्थापक सम्पादक स्वर्गीय लघुधन राईको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
इक लिब्जु–भुम्जु त्रैमासिक पत्रिकाका सम्पादक तथा प्रकाशक गणेश वाम्बुले राईले २०५० सालमा लिब्जु–भुम्जु पत्रिका प्रकाशन आरम्भ भएपछिको उपलब्धीबारे चर्चा गर्नुभएको थियो ।
राष्ट्रगानका रचयिता व्याकुल माइला, वाम्बुले राई समाज, नेपाल (वाम्रास)का अध्यक्ष गजुरधन राई, वाम्रासका संस्थापक महासचिव तथा शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अध्यक्ष तिखबीर राईले वाम्बुले राई जाति, भाषा र संस्कृति संरक्षणमा लिब्जु–भुम्जु पत्रिकाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
यसैगरी भाषाविद् डा. नेत्रमणि दुमी राईले लिब्जु–भुम्जु पत्रिकाको १ देखि ९९ अंक ऐतिहासिक दस्तावेजको रूपमा पाएको बताउनु भयो । भाषाविद् डा. तारामणि राईले मातृभाषा अभिलेखीकरण गरेर मात्र नहुने र यसलाई विज्ञानसम्मत तुल्याएर एआई (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग गराउन योग्य तुल्याउनु चुनौतीपूर्ण रहेको बताउने भयो ।
बान्तावा भाषाको पत्रिका ‘बुङ्वाखा’ मासिकका सम्पादक पदम वालाहाङ राई २०६१ सालदेखि प्रकाशन आरम्भव गरेको र अहिले २ सय ४२औं अंक प्रकाशन तयारी रहेको बताउनु भयो ।
चाम्लिङ भाषाको पत्रिका ‘सितिमी’ मासिकका सम्पादक तिलक चाम्लिङले यो पत्रिका अहिले ९९औं अंक प्रकाशन तयारी गरेको बताउनुभयो ।
सम्पादकको मन्तव्य
वाम्बुले राई जाति, भाषा, साहित्य, संस्कृति, इतिहास इत्यादि विषयका सामग्री प्रकाशन गर्ने उद्देश्यले वि.सं. २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ त्रिभाषीय (वाम्बुले–नेपाली–अंग्रेजी) त्रैमासिक पत्रिका प्रकाशन आरम्भ गरिएको हो । लिब्जु–भुम्जु प्रकाशन भएको २५ वर्ष, २०७५ वैशाख–असारमा ७३ अंक प्रकाशित भयो । २०७० सालमा संस्थापक सम्पादक लघुधन राईको निधन भयो ।
खासमा मैले २०७० सालमा ‘स्वालेवा’ त्रैमासिक पत्रिका दर्ता गरेर एक अंक प्रकाशित गरेको थिएँ । सो पत्रिका महामहिम पूर्वराजदूत प्राध्यापक डा. नोवल किशोर राईज्यूको बाहुलीबाट विमोचनसमेत गरिएको थियो । तर, व्यवहारिक रूपमा एकसाथ एकैजनाले मातृभाषाको दुइवटा पत्रिका प्रकाशन गर्न असम्भव भएपछि सोही ‘स्वालेवा’ पत्रिकालाई विधिवत रूपमा ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक नाम परिणत गराइ ‘लिब्जु–भुम्जु’ कै निरन्तरताका रूपमा २०७५ सालदेखि प्रकाशन हुँदैआएको छ ।
भरखरै २०८१ माघ–चैत ‘लिब्जु–भुम्जुको १००औं शृङ्खला’ विशेष सामग्रीसहित प्रकाशन गरिएको छ र आज विमोचन गर्न उपस्थित भएका छौ । ‘लिब्जु–भुम्जु’ पत्रिकाको ५०औं अंक र ७१ औं अंकसमेत भाषाशास्त्री नोवलकिशोर राईबाट विमोचन भएको थियो ।
विगत ३१ वर्षदेखि यस पत्रिका प्रकाशन गर्दै आउँदा लेख रचनाहरू, अन्तरवार्ता निःशुल्क उपलब्ध गराउनु भएका सबै लेखक स्रष्टाहरूलाई धन्यवाद दिन चाहन्छु । आज लिब्जु–भुम्जु पत्रिकाको १००औं अंकको विमोचन भइरहँदा यो पत्रिकाले के के काम गरेको छ भन्ने फेहरिस्त विवरणतर्फ जान्नँ ।
वाम्बुले राई समुदाय उहिल्यैदेखि थियौं । अहिले पनि छौं । भविष्यमा पनि रहरहने छ । तर, लिब्जु–भुम्जु पत्रिका प्रकाशन आरम्भ भएपछि वाम्बुले राईहरू एकतावद्ध भएर वाम्बुले राई भएका हौं । एकताको परिणाम नै वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्था गठन हुनु र हामी भेला भएर बसिरहेको वाम्रास भवन बनेको हो ।
यो पत्रिका निरन्तर प्रकाशन हुँदै आएकोले वाम्बुले राई भाषा, साहित्य, संस्कृतिका विषय अघिलेखीकरण हुँदै आएको हो । यसैगरी नेपाल सरकारको तथ्यांकमा वाम्बुले राई भाषा बोल्नेको जनसंख्या १५ हजार २ सय ८५ जना उल्लेख रहेको छ ।
लिब्जु–भुम्जु पत्रिकाको आवश्यकता छ भन्ने पक्षमा युवाहरूको पंक्ति अग्रभागमा उभिएकोले यहाँसम्मको यात्रा सम्भव भएको हो । हाम्रो कामप्रतिको उत्साहलाई देखेर अग्रजहरूले आर्थिक, भौतिक, नैतिक, बौद्धिक रूपमा साथ सहयोग दिंदै आउनु भएको छ । विद्वत्त वर्गले मातृभाषा प्रकाशन कार्यलाई स्विकार गरेर प्राज्ञिक रूपमा साथ सहयोग गर्दै आउनु भएको छ ।
२०५६ सालदेखि लिब्जु–भुम्जु पुरस्कार प्रदान गरिदै आएको छ । २०८० सालसम्ममा २४ जना वाम्बुले कवि सम्मानित भइसक्नु भएको छ । २०६६ साल अर्थात् १५ वर्षदेखि हरेक ३–३ महिनामा पत्रिका नियमित प्रकाशित हुँदै आएको छ । त्यसअघि वर्षमा एक–दुई अंकमात्र छापिन्थ्यो ।
२०७२ सालदेखि लिब्जु–भुम्जु पत्रिका अक्षयकोष निर्माण थालनी गरिएको हो । २०८१ सालसम्म आइपुग्दा लिब्जु–भुम्जु पत्रिका अक्षयकोषका ८९ जना दाता व्यक्ति, परिवार तथा संस्थाबाट जम्मा १० लाख ९ हजार ६०७ रुपैयाँ मूलकोष निर्माण भएको छ । ब्याजबाट पत्रिका प्रकाशन, वार्षिक आय–व्यय नविकरण, लिब्जु–भुम्जु पुरस्कार, लिब्जुभुम्जु डटकम अनलाइन निर्माण तथा नविकरण गर्ने गरिएको छ ।
२०८१ पुस ११ गतेबाट गोरखापत्र दैनिक बहुभाषिक नयाँ नेपाल पृष्ठमा वाम्बुले राई भाषा छापिन थालेको छ । वाम्बुले भाषा पृष्ठ संयोजक स्वयं गणेश वाम्बुले राई रहेको छु भने सहसंयोजकमा आजका कार्यक्रम संचालक श्याम वाम्बुले राई रहनु भएको छ । उहाँले त्रि.वि. आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागबाट भर्खरै २०८२ वैशाख १० गते पत्रकारिता विषय स्नातकोत्तर तहको ‘पोट्र्रेयल अफ किरात कल्चर इन राई मेगाजिन्स’ शीर्षकमा शोधपत्र बुझाएर अध्ययन पूरा गर्नुभएको छ ।
साथै, अब्बल पत्रकार कुम्भराज वाम्बुले राई राष्ट्रिय समाचार समितिमा समाचार सम्पादक अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ । यसैगरी अरु वाम्बुले राई नयाँ पुस्ताका पत्रकार, कवि स्रष्टाहरू वाम्बुले भाषा, साहित्य सिर्जनामा तल्लीन रहेका छन् । तर पनि ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) जस्तै अरु पत्रपत्रिका प्रकाशन गर्न अहिलेसम्म कोही पनि कम्मर कसेका छैनन् ।
रेडियो, एफएम, टेलिभिजनमा वाम्बुले भाषाका कार्यक्रम चलेका छैनन् । अनलाइन, युट्युबमा छिटफुट मात्रामा वाम्बुले राई जाति, भाषा, साहित्य, संस्कृतिबारे सामग्री पाउन सकिन्छ । त्यति हुँदाहुँदा वाम्बुले राई जातिको पहिचान खोज्ने युवाहरू अग्रसर रहेको पाइन्छन् ।