उपेन्द्र यादव भन्छन् – संविधान संशोधन गर्न तयार भए सरकारमा जान्छौं

राजनीति

काठमाडाैं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पार्नुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभएको हो । यादवले माओवादी र कांग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार भएको स्मरण गराउँदै अब एमालेले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

यद्यपी उहाँले एमाले-माओवादी नेतृत्वको वाम गठबन्धनले सरकार चलाउनका लागि स्पष्ट जनादेश पाएकाले आफूहरु सरकारमा जान आवश्यक भने नरहेको जिकिर गर्नुभएको छ । आफूहरु अहिले पनि आन्दोलनरत पक्ष भएकाले संविधान संशोधनको मुद्दा छिनोफानो नभएसम्म सरकारमा सहभागी हुन नसक्ने उहाँको भनाई थियो ।

प्रदेश नम्बर २ मा भने फोरमको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे । उहाँले भन्नुभयो, ‘२ नम्बर प्रदेशमा राजपासँगको सहकार्यमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ, यसमा कुनै दुईमत छैन ।’ प्रदेश नम्बर दुई सबैभन्दा बढि पिछडिएको क्षेत्र भएकाले त्यहाँ बन्ने सरकारले आर्थिक विकासलाई प्राथमिकता दिने यादवको स्पष्टोक्ति थियो ।

Leave a Reply

Your email address will not be published.