प्रधानमन्त्रीबाट नयाँ वर्षका दिन रारा तालबाट सम्बोधन हुने

मुख्य समाचार

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । कर्णाली प्रदेशले आयोजना गरेको ‘पर्यटन पर्ष २०७५’ को उद््घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने हुनु भएको हो ।
प्रधानमन्त्री ओलीले नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को सातौं महाअधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै बुधबार जानकारी दिनुभएको हो ।

‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।’ समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्नेमा उहाँको जोड छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताउनुभएको छ । ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो सरकारले नेपाल बनाउँछ । केही वर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन् ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताउनु भएको छ । तर हत्या, हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने पनि चेतावनी दिनुभएको छ । ‘सरकार जनताको सेवक हो । कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेहरुलाई चाहिं छोड्दैन ।’

प्रधानमन्त्री ओलीले महासंघले राष्टिकय राजनीतिमा ठूलो प्रभाव नपारे पनि उसका विचारले राजनीति प्रभावित भएको बताउनुभएको छ । ‘समाजको गरीखाने वर्गलाई अधिकार दिलाउने, उनीहरुको उत्थान गर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ,’ ओलीले भन्नुभयो, ‘अहिलेको सरकारको प्राथमिकता पनि त्यही हो ।’

प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने दावी गर्नुभयो । ‘यसपाली म एकजना बालिकालाई विद्यालय भर्ना गराउँछु र देशैभरिका जनप्रतिनिधीलाई पनि त्यसै गर्न लगाउँछु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जफन्टले पनि यस अभियानको तयारी गर्नुहोस । यसपाली वैशाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं ।’ भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती, विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले उद्घोष गर्नुभएको छ ।

तस्बिर ः प्रधानमन्त्रीको सचिवालय

Leave a Reply

Your email address will not be published.