आचार संहिता उल्लघंन गरे उम्मेदवारी खारेजीसँगै एक लाख जरिवाना

मुख्य समाचार

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंन गरेमा राष्ट्रियसभा सदस्यको उम्मेदवारी खारेज गर्नुका साथै एक लाख रुपैयाँ जरिवाना तिराउने चेतावनी दिएको छ ।

आयोगले आजदेखि लागू भएको आचारंसहिता पालना गर्न सबै पक्षलाई आग्रह गर्दै उल्लंघन गरेमा सम्बन्धित पक्ष वा व्यक्तिलाई सजायको दायरामा ल्याउने चेतावनी दोहोराएको हो । यसअघिका निर्वाचनमा आचारसंहिता पूर्णरुपमा कार्यान्वयनमा गराउन असफल आयोगले यसपल्ट कार्यान्वयनमा कडाई गर्ने दाबी गरेको छ ।

आचारसंहिता अनुसार निर्वाचनमा मतदातालाई प्रभावित वा असर गर्ने काम गर्न नपाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।  निर्वाचन आउन १२ दिन बाँकी रहँदा आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको हो । आचारसंहिता सरकार, सरकारका तल्ला निकाय, राजनीतिक दल तथा तीनका भ्रातृ संगठन, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, उम्मेदवार तथा सञ्चारमाध्यमका हकमा लागू हुने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

आचारसंहिता लागू भएपछि सरकारले आयोगको अनुमतीबिना कुनैपनि दुरगामी असर पार्ने निर्णय गर्न पाउँदैन । यद्यपी वार्षिक बजेट र यसअघिकै कार्यक्रममा परेको कार्यक्रमका हकमा भने आचारसंहिता नलाग्ने आयोगले जनाएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्म लागू हुने प्रवक्ता ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.