प्रदर्शन हुँदै व्याकुल माइलाको मातृभाषामा पहिलो चलचित्र ‘ढ्वाङ्कुम’

कला साहित्य -संस्कृति मनोरन्जन

लिभु संवाददाता
काठमाडौं– आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’ यही भोलि (२०७५ वैशाख १९ गते बुधबार ४ बजे) प्रदर्शन हुने भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल नयाँ बस्तीस्थित सामुदायिक भवनमा प्रदर्शन हुने आयोजक तथा चलचित्रका निर्देशक शन्तकुमार राईले विज्ञप्तिमा जनाउनु भएको छ ।

‘ढ्वाङ्कुम वाम्बुले राईहरुको महान् चाड हो,’ उहाँले भन्नुभयो, ‘ढ्वाङ्कुम वाम्बुले राई यूवाहरुले वाम्बुले पहिचान भाषा र संस्कृतिको प्रवद्र्धन र जगेर्नाको लागि बनाएको चलचित्र हो ।’ चलचित्रको कथावस्तु मानिस जब आफ्नो गाउँघर, भाषा, संस्कृति र रीतिरिवाजबाट दुरीका हिसाबले टाढिन्छ । त्यतिखेर उसमा आफ्नोपनप्रति माया र महत्व बढ्छ ।

‘यो ढ्वाङ्कुम चलचित्रलाई अन्य मुलधारको चलचित्रसंग दाजेर हेर्न हुन्न,’ उहाँ भन्नुहुन्छ, ‘यसलाई विशुद्ध वाम्बुले संस्कारभित्र रहेर हेरिदिनु भएमा धेरै कुरा पाउन सकिने छ ।’ यस चलचित्रको मुख्य पात्र रोशनको बाजे उहिल्यै गाउँबाट बसाइ सरेर गएरका हुन्छन् । उनका नाति रोशनलाई वाम्बुले मातृभाषा, संस्कार र संस्कृति प्रतिको मायाले गाउँसम्म पु¥याउँछ । यस चलचित्रका अन्य पात्रहरु रिम्सा र सुरिम हुन् ।

यस चलचित्रले भाषा, संस्कार र संस्कृतिको जगेर्नाको लागि शिक्षित युवाहरु नै लाग्नु पर्छ र ती कुराहरुको गहन अध्ययन पश्चात दस्तावेजीकरण गर्नु आवश्यक रहेको कुरा औलाइएको कथा लेखक विकास सौगात बताउनु हुन्छ । वाम्बुले राईहरुको उद्गम थलो ओखलढुंगाको उँबु गाउँ सेरोफेरो तथा जनजीवनलाई लिएर निर्माण गरिएको चलचित्र लगभग एक घण्टाको रहेको छ ।

यो चलचित्र वाम्बुले राई भाषा र संस्कृतिको श्रीवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ । सीमित समय र लगानीमा बनेको यो चलचित्र वाम्बुले राई जातीको लागि एउटा सौगात भएको निर्माता सदस्य उल्लेख गर्नु हुन्छ । वाम्बुले भाषा राष्ट्रगानका रचयिता व्याकुल माइलाको मातृभाषा पनि हो । उहाँबाटै यस चलचित्रको उद्घाटन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.