मुग्लिन–नारायणगढ सडक बिहान १० देखि ४ बजेसम्म बन्द

मुख्य समाचार

चितवन । रातको समयमा सवारी साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्डको काममा प्रगति हुन नसकेपछि आजदेखि दिउँसोदेखि सवारीसाधन रोकेर काम सुरु गरिएो छ ।

रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको भनाइ छ ।

गत पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो ।

गत वर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणको रुपमा राति सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।

रातिको समयमा सवारी रोकिँदा उक्त सडकखण्डमा दिउँसो सवारी चापका कारण काम पनि प्रभावित हुने गरेको छ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले राति सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताउँदै भने,–रातमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित भयो जसले गर्दा प्रगतिमा चार गुणा कमी आयो ।

सो सडकको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी छ । घुमाउनेमा २ सय मिटर, चेपाङ डाँडा र १६ किलोमा ३ सय मिटर भित्ता काट्ने काम बाँकी छ।

हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भइसकेको र १४ दशमलब ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिउँसो सवारी रोक्ने ठाउँ तय गरेको छ। कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा रोकिनेछ भने बस र साना सवारीलाई जुगेडी र दाशढुंगामा रोकिनेछ ।

यस्तै, काठमाडौंबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेवाटारमा रोकिनेछ । पोखरातर्फबाट आउने बस र साना सवारीलाई बेनिटार र ट्रकलाई आँबुखैरनीमा रोकिने पन्तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *