फिचर – ओखलढुंगामा २ सय ३ मानिस हराए, एक सय ३९ महिला

प्रदेश प्रदेश १ समाचार

एसबी जेरो
ओखलढुंगा– ओखलढुंगाबाट तीन वर्षको अवधिमा दुई सय तीन मानिस हराएका छन् । आर्थिक वर्ष २०७२÷२०७३ देखी चालु आर्थिक वर्ष २०७४÷२०७५ सम्मको तथ्यांकको आधारमा दुई सय तीन मानिस हराएका हुन् । तीन वर्षमा जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा बेपत्ता तथा हराएको आफन्त खोजी दिन भनी दुई सय तीन निवेदन परेका छन् ।

महिलाको संख्या बढी
हराएका मध्ये सबैभन्दा बढी महिला तथा बालबालिका रहेका छन् । तीन वर्षमा एक सय ३९ महिला हराएको उजुरी परेको छ । संख्याका आधारमा आर्थिक वर्ष २०७२÷२०७३ मा ५५ जना महिला हराएका छन् । त्यसै गरी आर्थिक वर्ष २०७३÷२०७४ मा ५२ र आर्थिक वर्ष २०७४÷२०७५मा ३२ महिला हराएको प्रहरीमा उजुरी दर्ता भएको छ ।
हराएका महिलाहरु उमेरका हिसाबले १८ देखि ६६ वर्षसम्मका छन् । अधिकांश विबाहित महिला हराएको उजुरी परेको प्रहरीले जनाएको छ । औसतमा श्रीमान वैदेशिक रोजगारीमा गएकाहरुका श्रीमती बढी हराएको उजुरी कार्यलयमा आउँने गरेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रका प्रहरी हवल्दार दशरथ चौधरीले बताए । श्रीमान विदेशमा रहेका बेला श्रीमती बेपत्ता हुन्छन्, स्वदेश फर्केपछि सम्पत्तिसहित श्रीमतीको खोजीका लागि प्रहरीमा उजुरी आउने गरेको छ ।
कतिपय दोस्रो विवाह गरेका महिलाले साथमा लगेको गरगहना तथा सम्पत्ति फर्काउनका लागि पनी महिला हराएको भनी उजुरी दिने गरिएको पाइन्छ । ती हरकाएका महिलाहरु भेटिएपछि तथा घर फर्किएपछि प्रहरीमा जानकारी नगराएका कारणले पनि प्रहरीको तथ्यांकमा वर्सेनी जिल्लाबाट महिला हराएको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।

दोस्रोमा बालवालिका
प्रहरीमा परेको उजुरी तथा तथ्यांक अनुसार तीन आर्थिक वर्षमा ४१ जना बालवालिका हराएका छन् । सबैभन्दा बढी १५ जना बालबालिका आर्थिक वर्ष २०७२÷२०७३ मा हराएका छन् । त्यसै गरी आर्थिक वर्ष २०७३÷२०७४ मा १२ र चालु अर्थिक वर्षमा १४ जना बालबालिका हराएको उजुरी परेको छ ।
हराएका मध्ये बालकभन्दा बालिकाको संख्या बढी छ । तीन वर्षको अवधिमा २१ जना बालिका हराएको उजुरी प्रहरीमा परेको छ । १३ देखि १६ वर्ष उमेरका बालिका बढी हराएका छन् । यो आर्थिक वर्षमा छ जना बालिका हराएका छन् । उनीहरु १४ देखी १६ वर्षका छन् ।
तथ्यांक अनुसार सिद्धिचरण नगरपालिका–९ की १४ वर्षीय रिता खड्का, मानेभन्ज्याङ गाउँपालिका–९ की १५ वर्षिय मैया सार्की, मोलुङ गाउँपालिका–४ की १५ वर्षिय रेनुका घिमिरे हराएको आफन्तले प्रहरीमा उजुरी दिएका छन् । त्यसैगरी मोलुङ गाउँपालिका–२ की १६ वर्षिया मञ्जु बिक, चिशंखुगढी गाउँपालिका–१ की १६ वर्षिया उषा मगर र खोटाङकी १६ वर्षिया उमा राई हराएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा उजुरी आएको छ ।
त्यसैगरी २० जना बालक हराएका छन् । तीन वर्षको तथ्यांक केलाउदा सबैभन्दा बढी चालु आर्थिक वर्ष ०७४÷०७५ र आर्थिक वर्ष ०७२÷०७३ मा आठ–आठ जना बालक ओखलढुंगाबाट हराएका छन् । आर्थिक वष ०७३÷०७४ मा ४ जना हराएका बालक खोजिका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी आएको जिल्ला प्रहरी कार्यलय महिला तथा बालवालिका सेवा केन्द्रका प्रहरी हवल्दार चौधरीले बताए ।
चालु आर्थिक वर्षमा आठ जना बालक बेपत्ता छन् । लिखुगाउँपालिका–३ का १३ वर्षीय सुरेन्द्र खड्का, सुनकोशी गाउँपालिका–९ का ११ वर्षिय कुसाङ तामाङ, चिशंखुगढी गाउँपालिकाका १३ वर्षिय अर्जु घिमिरे हराएको प्रहरीमा उजुरी आएको प्रहरी हवल्दार चौधरीले बताए । उनका अनुसार मोलुङ गाउँपालिका–२ एउटै वडाबाट चार जना बालक हराएको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको छ । एउटै वडाका १० वर्षिय रविन विक, १० वर्षिय नकुल राई, १३ वर्षिय मन्दिप राई र १५ वर्षिय सिजन राई हुन् ।
हर्कपुरको जलजलेश्वर विद्याश्रममा अध्ययनरत दैलेखका १२ वर्षिय नविन दाहाल पनि हराएका छन् । हराएका अधिकांश बालकहरु घरबाट भागेर काठमाडौं लगायतका सहरमा कामका लागि पुगेको हुन सक्ने प्रहरीको आकलन छ ।

पुरुष २३
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तीन आर्थिक वर्षको तथ्यांक हेर्दा २३ जना पुरुष ओखलढुंगाबाट हराएका छन् । आर्थिक वर्ष ०७२÷०७३ र चालु आर्थिक वर्षमा जिल्लाबाट हराएका पुरुषको संख्या बराबर आठ आठ जना रहेका छन् । आर्थिक वर्ष ०७३÷०७४ मा जिल्लाका विभिन्न स्थान बाट सात जना पुरुष हराएका छन् ।

फेला पर्ने न्युन
ओखलढुंगाबाट हराएका मानिसहरुमध्ये फेला पर्नेको संख्या अति न्युन रहेको छ । उजुरी परेकामध्ये करिब २६ प्रतिशतमात्र मानिसहरु फेला परेको जानकारी प्रहरीमा आएको छ । तीन आर्थिक वर्षको विभिन्न समयमा २ सय ३ मानिसहरु हराएको प्रहरीसँग तथ्यांक छ । त्यसमध्ये चालु आर्थिक वर्षको अहिले सम्म ५१ जना फेला परेका छन् ।
प्रहरी कार्यलयमा भएको तथ्यांकअनुसार ओखलढुंगाका अझै एक सय ५२ जना मानिस हराइरहेका छन् । चालु आर्थिक वर्षमा हराएका ५४ जनामध्ये कोही पनि फेला परेका छैनन् । यसैगरी आव ०७३÷०७४ मा ७१ जना हराएका मध्ये १५ जना फेला परेका छन् । फेला पर्नेमा महिला १०, बालिका २, र पुरुष ३ हुन् । अझै ५६ जना फेला परेका छैनन् ।
आव ०७२÷०७३ मा ७८ जना हराएका मध्ये ३६ जना फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको रेकर्ड फाइलमा छ । महिला २२, बालक ६, बालिका ६ पुरुष २ हराएपछि फेला परेका हुन् । प्रहरीको रेकर्ड अनुसार ४२ जना मानिस अझै हराइरहेका छन् ।
जिल्ला प्रहरी कार्यलय ओखलढुंगाको तथ्यांक अनुसार ओखलढुंगाका अझै एक सय ५२ जना मानिस हराईरहेको देखिन्छ । मानव अधिकारकर्मी शिव ढुंगानाका अनुसार यति धेरै संख्याका मानिस हराएको नभई उजुरी गर्ने क्रम बढेको तर हराएको आफन्त फेला परेपछि प्रहरीमा पुनः जानकारी नगराउदा यत्तिको धेरै संख्या देखिएको हो । हराएको आफन्त फेला परे नपरेको जानकारी प्रहरीमा गराउन जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.