सांस्कृतिक कथा – नयाँ बिहानी

कला साहित्य -संस्कृति समाज

जगत रार्ई (प्लोकोचे)

घरमा बिहानैदेखि मान्छेहरुको चहलपहल थियो । ती मान्छेहरु सधैजसो देखिरहेको आफ्नै काका, बडा, दाज्यु, आफन्तहरु थिए । कतिलाई भने पहिलो पटक देख्दै थिए । किन बिहानैदेखि मान्छेहरु घरमा भेला भएका होलान् । यसबारे उसको बालसुलभ मनले बुझ्न सकिरहेको थिएन । ऊ छिमेकी बालबालिकाहरुसित खेल्दै ठीक थियो । तर आज उसलाई सबैले खास महत्वा दिइरहेका थिए । सबैले उनीप्रति स्नेह र माया देखाइरहेका थिए । हिजोसम्म फलाना भन्दै नाम काढेर बोलाउनेहरु सबैले जाबा भनेर बोलाइरहेका थिए । त्यसरी अप्रत्यासित रुपमा एक्कासी सबैको स्नेह, माया आफूमाथि ओइरिएको देखेर ऊ दङ्ग थियो । करिब आधा बिहानतिर उसलाई लिएर सबै जना नजिकैको पँध्यारोतिर लागे । त्यहाँ पुगेर पनि सबैजना व्यस्त हुँदा पनि ऊ प्रतिको माया र स्नेह उस्तै थियो । उसलाई आमाले काखमा राखेकी थिइन् । केही बेरपछि फुपू पुसैहरु पनि आइपुगेपछि उसको कपाल खौरी दिएर नुहाइ दिएपछि नयाँ कपडा लगाइदिएर नयाँ नै टोपी, जुत्ता लगाइदिदा ऊ मख्ख थियो । छेवैमा उभेर हेरिरहेका उसका फुच्चे साथीहरुलाई देखेर ऊ गजक्क थिए मानौं उनी आजको लागि राजा हुन् ।
दिनको कार्यक्रम सकेपछि घरमा बेलुकीको अर्को कार्यक्रम पनि थियो । मान्छेहरु दिनको भन्दा धेरै थिए । उसलाई थकान लाग्दै थियो । तर पनि सबैले उसैलाई घेरेर राखेका थिए । सबैले उसैलाई हेर्न चाहिरहेका थिए । घरमा ठुलो हल्ला भैरहेको थियो । त्यही हल्लाबीच उसलाई अगेना (चुल्हो)को अगाडि तीन चार जना बुढोमान्छेहरुको बीचमा नयाँ काठको पीरामा राखिएको थियो । त्यसपछि एउटा डालोमा ऊभन्दा ठुलो र अग्लो चिण्डो अगाडि राखिदिए । त्यसपछि टाउकोले थामिनसक्ने सेतो पगरी गुथी दिदै दाहिने देब्रे बस्ने ती बुढोपाकोहरुले के के भन्दै उनकै बराबर वजन भएको र ऊ भन्दा दोब्बर अग्लो खँुड़ा भिराइदिएका थिए । यो के हँुदैछ, किन उसलाई आज यस्तो बनाइदैछ ? उसले केही बुझ्न सकिरहेको थिएन । यो ठाउँमा त बाउ पो यसरी बसेको देखेको थियो । यसरी नै यी बाजेहरू पनि बाउको दाहिने देब्रे बस्ने गर्थे । तर अहिले बाउ कहाँ गए ? मलाई किन बाउ जस्तै बनाइएको ? उसको बाल मनमा यस्तै कुराहरु खेलिरहेको थियो ।
त्यो एक दिन, एक रातले उसको जीवन नै परिवर्तन गरिदिएको थियो । अब ऊ साधारण बालक थिएन । उसको प्रत्येक क्रियाकलाप र खानपिनमा सिमा तोकिएको थियो । अन्य बालकहरु जस्तो जताततै उफ्रिन कुद्न खेल्न पाउँदैन थिए न खानु पिउनु नै ! किनकि ऊ राजा भएको थियो । नाक्सो बनिसकेको थियो । जजमानहरुले मायासित हाम्रो राजा भनेर बोलाउथे । टाढाको जजमानहरुले नुवागी या अन्य पितृ सम्बन्धी कामको लागि लिन आउँदा र पु¥याउन आउँदा बलियो, दह्रो युवाहरुलाई खटाउँथे । किनकि उनीहरुको राजा, नाक्सो बालक नै भएकोले बोकेर लानु–ल्याउनु पथ्र्यो । जजमानहरुले आफ्नो राजा यानेकि नाक्सोको हरेक कुरामा राम्ररी ध्यानपु¥याउथे । मुन्धुमअनुसार कुनै कार्जे गर्दा खाजा, प्रसाद, सगुनको रुपमा जाँड रक्सी सेवन गर्न सकिने मान्यता भएपनि त्यो सानो नाबालकसित जाड रक्सीलाई पच्न सक्ने क्षमता नहुने भएकोले उसको निम्ति चोखो गरेर बिहानै दुधमा घिउ हालेर चामलको खीर पकाइन्थ्यो । पुजा सकेर अरुले प्रसादको रुपमा जिर्मा, जाँड, रक्सी सेवन गर्थे भने उसलाई दही या दुध दिइन्थ्यो ।
समयसँगै उसले पनि उमेरको खुड्किलोहरु चढ्दै गयो । बुढापाकाहरुको संगत भन्नु वा कुलपित्रीहरुको आशिष, ओठमाथि जुँगाको रेखी राम्ररी नबस्दै सबै मुन्धुम रीतहरुमा निपुण भैसकेका थिए । त्यस कलिलो उमेरमै मुन्धुममा उसको ज्ञान देखेर सबैजना दङ्ग हुन्थे । त्यसरी आफ्नो काममा त ऊ निपुण थियो नै साथी भाइहरुसित पनि त्यत्तिकै मिलनसार थिए । कुनै काम सघाउनु होस् या गीत गाएर सोल्टेनीहरुलाई जिस्काउनु सबैमा तयार हुन्थे । उमेरको परिपक्वातासँगै स्वरमा पनि त्यतिकै निखार आएको थियो । स्वर साह्रै राम्रो । चाहे आशिष (स्वाम्दी) गर्दा होस् या गीत गाउँदा, उसको आवाज अलग सुनिन्थ्यो । ऊ हाँस्दा गाउँ नै हाँसेकोझैँ लाग्थ्यो । आफ्नो काम यस्तो कुसलताका साथ गथ्र्यो कि काम कति र कस्तो थियो अरुलाई यसको आभास नै हँुदैन थियो ।

वास्तवमा भन्नुपर्दा उसको बराबर अरु कोही थिएनन् । उसकोमा गुणमात्र भेटिन्थ्यो र पनि अहंकारको नाममात्र पनि थिएन ।
समय सँधै एकै प्रकारको हँुदैन । अब ऊ एक्लो ज्यान थिएन । गाउँकै एउटी सुन्दर युवतीसित उसको बिवाह भएपछि क्रमशः एक एक गर्दै तीन जना छोराछोरीहरु जन्मिएका थिए । छोराछोरीहरुको जन्मसँगै घरमा अभावले ढोका ढकढक्याउन थालेको थियो । सानैमा बाबाको मृत्यु भएकोले गर्दा एक्लो ज्यान आमाले सबै खेतबारीहरु सम्हाल्न नसक्ने भएपछि धेरैजसो खेतबारी बेचिदिएका थिए वा कतिपय अवस्थामा आफ्नैहरुले नै बेच्न बाध्य बनाएका थिए । र जे जति भएको खेतबारीले पनि खासै उब्जनी दिने खालको नभएकोले आमा छोरालाई जसोतसो छ महिना खान पुग्नेले अब त्यति पनि पुग्न छाडेको थियो । छोराछोरीहरु दिनदिनै बढ्दै थिए । खानु लाउनुको समस्या आफ्नै ठाउँमा हँुदाहुँदै नानीहरुको पढाइको खर्च पनि निकाल्नु पर्ने अर्को समस्या थपिएको थियो । आफ्नो नाम लेख्न नसक्दा लाहुरे हुन नपाएको पीडा मनमा अझै ताजा थियो । अझ यस्तो अभावमा उसले ती दिन खुब सम्झन्थे । त्यसैले पनि पढ्नु पर्छ भनेर बुझेको उसले आफु खाइनखाइ छोराछोरीहरुलाई पढाउन चाहन्थ्यो । तर भन्नलाई जति सजिलो हुन्छ व्यबहारमा त्यति सजिलो हँुदैन । जजमान धेरै र टाढा टाढा गाउँहरुमा पनि फैलिएकोले गर्दा कुनै कुनै बेला महिना महिना दिनसम्म उतै हराउनु पथ्र्यो । ऊ नाक्सोको साथमा रीतभात त जान्ने नै थिए भने प्रख्यात ङाबुचो, स्वाम्दिचो र पुजारी पनि बनिसकेका थिए । समग्रमा धर्मगुरु भैसकेका थिए ।
गाउँका मान्छेहरुले सानो भन्दा सानो कुरा पनि उसैलाई सोध्थे । ङाबुचो र स्वाम्दिचो भएर टाढा टाढासम्म पनि जानुपथ्र्यो । गाउँमा भन्थे, कुनै पुजा गर्दा उसले फलाकेको सुनेरमात्र पनि बिरामी आधा निको हुन्थे रे । त्यसैले पनि उसलाई भ्याइनभ्याइ हुन्थ्यो । कुलपितृलाई पुज्ने एउटा निश्चित महिना, समय भए पनि टाढादेखि बल्लबल्ल नाक्सो आउँदा कुलपितृहरुको लागि केही न केही भरभाकल वा कुनै कुनाकानीको देविदेवाताको पुजा गराउने सोच सबै जजमानहरुको हुने भएकोले नाइँ र हुँदैन र भ्याउदिन भन्न पनि कर्तव्यले दिदैन थियो । तर यसको प्रत्यक्ष असर घर व्यवहारमा पर्न जान्थ्यो । नानीको आमा गन्गनाउँथिन् । रिसाउँथिन् । त्यसबेला हाँसेर गीत गाएर फकाउने गर्थे । जति नै रिस उठे पनि अन्तत नानीको आमा मान्थिन् । तर त्यसरी व्यबहार कतिन्जेल चल्थ्यो र ! ऊ सित अर्को विकल्प पनि थिएन । नाक्सो गर्नु उसको कर्तव्य थियो । यो उसको पुर्खादेखि चलिआएको उपाधि थियो । जिम्मेवारी थियो । यसैको निम्ति नै जजमान र कुलपितृले चुनेका थिए । यो इज्जत मान सम्मान सबै यसैको कारणले थियो । घर व्यवहार नमिल्दा र अभावमा पिल्सिएर बस्नु पर्दा भने दिक्दार मान्दै भुतभुताउँथे ।

परिवर्तन भनेको एउटा प्राकृतिक नियम नै हो । उसको जीवनमा पनि धेरै परिवर्तन आयो तर यो परिवर्तनको कल्पना उसलाई थिएन । यस्तो जिन्दगीको कल्पनासम्म पनि गरेको थिएन । उसलाई विश्वास थियो आफु खाइनखाई हुर्काएको, बढाएको, पढाएको छोराछोरीहरुले बुढेसकालमा साथ दिने छन् । तर त्यसो हुन सकेन । छोरी त अर्काको घर जाने जात नपरे । बिहे गरेर गए । तर छोराहरु ? गाउँमा सुनेको हल्लाको पुष्टि गर्न एक दिन जेठो छोरालाई बोलाएर सोधेथ्यो– ‘ए छोरा, तैले त बाइबल कि केपो पढ़्दैछस् रे । अनि राति राति कता मण्डली सन्डलीतिर नि जान्छस् रे । के हो ?’
‘हो बाउ । किनकि तिमीले मनाउने गरेको सैतानहरुमा मैले आफ्नो मुक्ति देखिन । त्यसैले अनन्त मुक्तिको बाटो रोजिसकेको छु ।’ छोराको जवाफ सुनेर ऊ एकछिन निस्तब्ध भएको थियो । दाहिने हात छोराको गालामा कतिखेर बज्रिन पुगेको पनि होस् भएको थिएन । त्यो नै जेठा छोरासितको अन्तिम सम्बाद थियो । एक दिन थाहै नदिई बिबाह गरी बुहारी ल्याएर घर नभित्राइ नै आफ्नो भाग मागेपछि उसले पनि चुपचाप दिएको थियो । जेठो छोराले त्यसरी धर्म नै परिवर्तन गरेर गए पनि कान्छो त छ भन्नेमा उसलाई सन्तोष थियो । र पनि कताकता डरलाग्थ्यो । अहिलेको केटा न हुन् । कसैले फकाए भने उतै ढल्किनु कुनै बेर हुँदैन ।

यदि त्यसै भयो भने ? यो नाक्सो यो इज्जतको के होला ? मरेपछि हामीलाई कसले पिण्ड देला ! मरेर जाँदा पितापुर्खाहरुलाई के जवाफ दिनु होला ! यी यस्तै कुराहरु सम्झेर झस्किन्थ्यो र कान्छोलाई छेउमा राखेर दाज्यूको बाटो नजानु भनेर सम्झाउने गथ्र्यो ।
गाउँमा सबै युवाहरु विदेश जाने लहरजस्तै चलेको बेला कान्छोलाई पनि त्यो लहरले नछुने कुरै थिएन । बुढाबुढीले नजानु, खेतबारी राम्ररी गर्नुपर्छ भनेर कति सम्झाउँदा सम्झाउँदै पनि एक दिन भर्खर ल्याएको नयाँ बुहारीलाई समेत छोडेर विदेश गएको थियो । त्यसरी कान्छो विदेश गएदेखि घर व्यबहार राम्रै चलाउँदै सुत्केरी बुहारीलाई पनि उकास्न सजिलो भएको थियो । कान्छो छोरोको कमाइ पनि राम्रै र घरमा पनि नातिको जन्मले गर्दा घरमा खुशी थियो । बुढाबुढी सन्तुष्ट थिए । मेलोपात वा कतैबाट थकित भएर आउँदा नातिको मुहार हेर्दामात्र पनि ती सबै थकानहरु छुमन्तर भएर जान्थ्यो । नातिको निश्चल मुस्कानमा आफुलाई भुलाउथे । उसको कोमल हत्केलालाई हातमा लिएर सुम्सुम्याउँथे ।

त्यसरी नातिसित भुल्दै गर्दा कान्छो विदेश गएको पनि तीन वर्ष बितिसकेको कुरा एक दिन ऊ टुप्लुक्कै घर आइपुग्दा मात्र थाहा भएथ्यो । साँच्चै त्यो दिन कस्तो खुशीको दिन थियो । कान्छो आएको खुशियालीमा घरम ापालेको एउटा सुँगुर (तिला) ढालेको थियो । टोल छिमेकीलाई सानोतिनो भोज नै चलाएको थियो । तर त्यो खुशी धेरै दिन टिक्न सकेन । कान्छोले एक दिन बाउ–आमालाई सँगै राखेर सम्झाए– ‘हेर बाउ आमा, अब तिमेरुको नातिलाई पनि स्कुल लगाइ दिने बेला भयो । यसलाई सहरको स्कुलमा हालीदिने सोचेको छु ।’
‘के भन्छ यो पागल ? यत्रो सानो नानीलाई सहरमा लगेर कोसित राख्छस् ? पर्दैन सहर लानु यही गाउँमा पढ्छ ।’ भन्दै बाउ–आमाले थर्काएका थिए । तर त्यसपछि कान्छोको कुरा सुनेर बाउ–आमा केही बोल्न सकेका थिएनन् । किनकि ऊ बुहारीलाई पनि सहर लानखोज्दै थियो । गाउँकै स्कुलमा नातिलाई पढाऊ, तिमीले पनि यहीं पढेर यतिको जान्ने बुझ्ने भएका हौ भनेर जति सम्झाए पनि सहरको स्कुल र गाउँको स्कुलमा आकाश धर्तिको फरक हुन्छ । हामी त यस्तै भयौं । किन यसको जिन्दगी पनि हामी जस्तै बिगारी दिने भनेर कान्छोले जिद्दी गर्न थालेपछि, कहिल्यै सहर नदेखेको बाउ–आमाले यदि सहरमा पढ्दैमा नातिको भविष्य राम्रो हुन्छ भने ठिकै छ भनेर स्वीकृति दिएका थिए । र एक दिन आँखाभरि आँशु पारेर छोरा, बुहारी र नातिलाई बिदा गरेका थिए ।
त्यसरी कान्छोलाई परिवारसहित विदा गरिपठाएपछि फर्केर आएको छैन । आमाले कान्छो छोरा एक दिन बुहारी र नाति लिएर आउँछ भनेर बाटो हेर्दाहेर्दै थलिए कि त्यसपछि कहिल्यै उठेनन् । जबसम्म नानीको आमा थिइन्, कराउँदै भएपनि चिसो तातो हेर्थिन् । बनाउँथिन् । कहींबाट आउँदा बोलाउथिन् । सोध्थिन् । तर ऊ बितेर गएपछि न चिसो तातो हेर्ने छ न बोलाउने सोध्ने नै छ ! ऊ नितान्त एक्लो भएको छ । जेठो छोरोको घर मुस्किलले दुइ सय गज टाढा होला तर एक दिन आएको होइन । आमा मरेपछि एक पटक आएका थिए । त्यस बेला लामो भाषण दिएका थिए । भन्दैथिए, ‘बाउ–आमा पनि मरिगए, भाइ पनि आएन ! म स्वर्ग जान पाउँछु, मुक्ति पाउँछु भनेर यो धर्ममा लागेको होइन । तर जुन तिमीले गरिरहेको छ नि यो नाक्सो, हो यसबाट भने मुक्ति पाउनलाई यस धर्ममा लागेको हुँ । देख्दै छौ नि जति दरिद्रता हाम्रो घरमा छ तर अरुको घरमा छैन । जति शान्ति अरुको घरमा छ हाम्रो घरमा खै ? अरुले वर्षमा एक दुइ पटक कुलपितृ पुजा गराए हुन्छ । तर तिमी ? तिमी जतिखेर, जहिले पनि तयार बस्नु पर्छ । नाइँनास्ती गर्न सक्दैनौ र हुदैन पनि । सकि नसकी भनेको ठाउँमा तिमी पुग्नै पर्छ । त्यसबापत के पाउँछौ ? एक बटुको जाँड, एक दुनो मासु या एक छाक भात ? यो काम तिमी मरेपछि म र भाइमध्ये एक जनाले गर्नै पर्छ । सिधा कुरा भन्नुपर्दा त्यसैबाट बच्नलाई नै यस धर्ममा लागेको हुँ । अब यो धर्मलाई मन पराउनु नपराउनु ,मान्नु नमान्नु तिम्रो मर्जी तर अहिलेलाई भने हिड मेरोमा ।’

छोराको नीच घटिया मतलवी कुरा सुनेर छानाबाट खसेझैँ भएका थिए । यसो भन्दैमा बाजे बराजुको पालोदेखि मान्दै ल्याएको कुलपितृ देवीदेवतालाई छोड्नु ? त्यो कदापि हुँदैन । बाँचुन्जेल त के मरेपछि पनि तेरोमा जान्नँ भनिदिएका थिए । उसलाई विश्वास थियो कान्छो अवश्य सहरबाट फर्केर आउँने छ । तर यतिका वर्ष बितिसक्दा पनि एउटा खबरसम्म आएको छैन । कान्छो जाने बेला उसको आमालाई एउटा पुरानो मोबाइल फोन दिंदै मोबाइल बजेपछि यो बटनमा थिच्नु, अनि म बोलेको आवाज आउँछ भन्दै सिकाएको देखेको थियो । त्यै फोनलाई आफ्नो भोटोको भित्रि गोजीमा सम्हालेर राखेकोछ । नानीको आमा छउन्जेल कहिले काही त्यो बज्थ्यो अनि बोल्थे । उसले पनि एक दुई पटक बोलेको थियो । तर नानीको आमा बितेदेखिन कहिल्यै बजेको छैन । कहिले काही गोजीबाट निकालेर ओल्टाइपल्टाइ हेर्छ । त्यो बटन थिच्छ कतै कान्छो बोलिहाल्छ कि भनेर । तर कान्छो कहिल्यै बोलेन । छोरी कहिले काही आउँछ । माया लाउँछ अनि जान्छ । उसलाई यतै बस भन्न पनि नहुने, पछ्याएर जान पनि नसकिने । कस्तो विडम्बना !

अधिक मदिरापान र अनियमित खानपिनको असर उसको बृद्ध शरीरमा स्पष्ट देखिदैछ । पहिले कसैको आँखामा नबिझाउने मान्छे एक्लोपन, थकान अनि निराशाले होला सानो सानो कुरामा पनि झर्किन थालेको छ । उसको स्वभाव झगडालु भएको छ जसले गर्दा कति पटक आफ्नै जजमानहरुको हातबाट नै मरणासन्न हुनेगरी कुटिएको छ । धेरै पटक बहिस्कृत भएर आवश्यक परेको बेला शिर उठाइ पुनःस्थापना पनि त्यति नै पटक गरिइएको छ । हिजोको त्यो इज्जत, मानसम्मानहरु सबै अतित बनिसकेका छन् । तर पनि उसलाई कसैसित गुनासो छैन । आफ्नै रगत त आफ्नो भएन भने अरुले मानेको वा बहिस्कार गरेकोले के नै अर्थ राख्छ र ! पुर्खादेखि गरिआएको आफ्नो कर्तव्य निभाइरहेको छ । यसैमा मन बुझाउँछ । अरु समयमा के खायो खाएन कसैलाई मतलब छैन । खेतबारी बाँझै छ । घरबारीमा यसो कुटोले खोस्राएर के के छर्छ तर बिना मलजल के हुन्थ्यो र ! त्यो पनि यो तीन दिनदेखि दर्केको पानीले राखेन होला । पानी परेको जति दिन भयो चुल्होमा आगो नबलेको पनि त्यति नै भएको छ । साउनको महिना । रात चुक घोप्टाएझैँ अँध्यारो छ । बेला–बेलामा अँध्यारोलाई चिर्दै ठुलो गर्जनसहित बिजुली चम्किन्छ । छेवैको खोल्सामा उर्लिएको भलले वातावारणलाई अझ भयावह बनाइरहेको छ ।

जताततै आतंक मच्चिरहेको छ । यस्तो लाग्छ आज प्रकृति आफ्नो चरमोत्कर्ष छ । उसको अगाडि कसैको केही लाग्ने छैन । जे छ ती सबै आजै सकिने छ । त्यही खोल्साको डिलमा रहेको घरको अँध्यारो एउटा कुनामा ऊ एक्लै छ । घरि घरि चल्बलाउँछ । खस्याकखुसुक गर्छ । कहिले काही लामो सुस्केरा तान्छ । आफैमा सुस्तरी बर्बराउँछ । फुस्फुसाउँछ । भगवानलाई सम्झिन्छ । कुलपितृहरुलाई पुकार्छ । लिब्जुबाजेलाई पुकार्छ । तर धेरै भने नानीको आमालाई सम्झिन्छ । तर भगवान, कुलपितृ, नानीको आमा कोही आएनन् । उसलाई आफ्नो जीवन अभिशाप लाग्दैछ । कति पटक उसले मृत्युको इच्छा पनि गरिसक्यो । तर इच्छाले मात्र नहुने रहेछ । सकिनसकी घरि यता घरि अर्कोपट्टि कोल्टे फेर्छ । त्यसबेला ओठहरु स्वतः आफैं हल्लिन्छन् । ‘हे भगवान !’ यसरी संघर्ष गर्दागर्दै कतिखेर फुस्स निदाएछ ।
उसले आफ्नो अगाडि एक जना छोरी मान्छे ठिंग उभेको देख्यो । उज्यालो पछाडिबाट आएकोले गर्दा उसको अनुहार देख्दै थिएन । उसले सोच्यो मेरो पुकारको सुनवाइ भएछ । नानीको आमा लिन आइछे । ‘ए , बाउ उठ । यी तातो सुप खाऊ ।’ छोरीको आवाजले झसंग झस्किए । छोरीले सहारा दिदै उठाएर बसाइन् । उसको कम्जोर नजरले जस्केलोबाट बाहिर हे¥यो पानी रोकिएर घाम लागिरहेको रहेछ । धर्तीमा फेरि एउटा नयाँ बिहानी भइसकेको रहेछ ।
समाप्त (लिब्जुभुम्जु–७१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *