नेपालीको एकता क्वाँटी एकता हो – प्रा.डा. नोवलकिशोर राई

मातृभाषा

लिभु संवाददाता
काठमाडौं– प्रसिद्ध भाषाशास्त्री नोवलकिशोर राईले नेपालीको एकता क्वाँटी एकता भएको अभिव्यक्ति दिनु भएको छ । ‘हाम्रो नेपाली सभ्यता, संस्कार, संस्कृति चाहिं क्वाँटी सभ्यता हो, र बृहत् रूपमा नेपाली भाषा र हामी नेपाली भनेर बिर्सनु पनि हुँदैन,’ विश्वभरि छरिएर रहनु भएका नेपालीलाई नेपालीत्व बचाइराख्न तपाई के भन्नुहुन्छ ? भनेर गरिएको सवालको जवाफमा उहाँले भन्नुभयो, ‘यसमा हाम्रो परिचय हुनुपर्छ, अहिलेको जस्तो अन्तर्राष्ट्रिय अर्थात् विश्वव्यापीकरण भएको अवस्थामा । अनि त्यसभित्र आफ्नो छुट्टाछुट्टै परिचय पनि हुनुपर्छ । त्यो चाहिं सधैं हामीले अंग्रेजीमा भन्छौं नि ‘युनिटी इन डाइभर्सिटी’ (विविधतामा एकता) । त्यो कुरा हामीले कहिल्यै बिर्सिनु हुँदैन ।’

उहाँले भरखरै काठमाडौंबाट प्रकाशित ‘लिब्जु–भुम्जु’ त्रैमासिक पूर्णाङ्क ७३ मा अन्तर्वाता दिंदै उक्त विचार व्यक्त गर्नुभएको हो । ‘मैले गुरूङ, मगर, लिम्बूसँग बोल्दा नेपाली प्रयोग गर्ने गर्छु । तराईका मान्छेहरूले तराईकै मान्छेसँग बोल्दा हिन्दी प्रयोग गर्लान् । तर उसले पनि हामीसँग कुरा गर्दा नेपाली बोल्छन् । त्यसकारण हाम्रो ठूलो परिचयचाहिं नेपाली संस्कार, संस्कृति, नेपाली भाषा हुन्छ । त्योचाहिं बृहत् (म्याक्रो लेभल)मा हुन्छ । अनि त्यसभित्र सानो सानो आफ्नो परिचय छुट्टै छ । त्यसकारण यो एकता भनेको चाहिं पानीभित्र रंग हालेर रंग नै हुनेजस्तो होइन कि हाम्रो नेपालीको एकता भनेको चाहिं क्वाँटी एकता हो ।’ उहाँको कथन छ ।

सन् १९८५ मा बान्तावा भाषाबारे विद्यारिधि (पीएचडी) उपाधि हासिल गर्नु भएका भाषाशास्त्री राईले वैज्ञानिक हिसाबले निर्माण गरिएको पहिलो बान्तावा भाषा शब्दकोश प्रकाशोन्मुख रहेको जानकारी दिनुभएको छ । करिब १३ हजार शब्द प्रविष्टि दिइएको उक्त शब्दकोश बान्तावा–नेपाली, नेपाली–बान्तावा र अंग्रेजी गरेर तीन भाषामा निर्माण भएको छ ।

प्राध्यापक राई नेपाल सरकारले हरेक जातिको पहिचानलाई जोगाउन विशेष पहल हुनुपर्ने बताउनु हुन्छ । ‘एक नम्बर प्रदेशमा राई समूह अधिकांशले बोल्ने भाषामा बान्तावा, चाम्लिङ हो । त्यसपछि साङपाङ, थुलुङ, कुलुङ, खालिङहरू आउँछ । सबभन्दा सानो संख्याले बोल्नेचाहिं तिलुङ हो । एउटा भाषाचाहिं ठूलो जनसंख्याले बोल्छ । अर्को भाषाचाहिं सारै सानो जनसंख्याले बोल्छ । त्यसकारण त्यो प्रदेशले एउटै किसिमको हतियार चलाएर हुँदैन । जस्तो, पल्टनमा एक समूहले तोप चलाउँछ । अर्को समूहले मिसिनगन चलाउँछ । अर्कोले राइफल चलाउँछ । तिनीहरूले पिस्तोल पनि चलाउँछ । हुँदाहुँदा खुकुरी पनि चलाउँछ । त्यस्तै भाषाको विकासको लागि पनि त्यही गर्नुपर्छ ।’

मातृभाषालाई सरकारी कामकाजको भाषा प्रयोगको सवालमा उहाँ भन्नुहुन्छ, ‘बान्तावालाई जुन प्रकारले हामीले विकास गर्न सक्छौं, प्रयोग गर्न सक्छौं । तिलुङलाई त्यो हुँदैन । त्यो विधि थुलुङलाई नहोला । उसको जनसंख्या हेरेर, क्षेत्र हेरेर प्रयोग गर्नुपर्छ । बान्तावाको प्रयोग गरियो भने अधिकांश प्रदेश १ मा जहाँ राईहरूको बसोबास छ, हुनसक्छ । तर सोलुखुम्बु, खोटाङ, ओखलढुंगा जस्तो ठाउँहरूमा चाहिं आफ्नो गाउँ क्षेत्र, वडा जहाँ भाषाभाषीको जनघनत्व बाहुल्य छ । त्यसकारणले पिस्तोल, राइफल, तोप चलाउने हो कि ग्रिनेट चलाउने हो ? त्यस प्रकारले जानुपर्छ । यसकारणले भाषालाई आर्थिक औकातसँग, आर्थिक स्थितिसँग पनि जोड्नु पर्छ । जुन कुरा न हामी समाजले त्यतातिर सोचेको छ न सरकारले सोचेको छ । भाषाचाहिं उत्पादनको क्षेत्रमा, आर्थिक विकासको क्षेत्रमा, आर्थिक लगानीको क्षेत्रमा लैजानु पर्ने सोंच जरूरी छ ।’

साथै, पञ्चायतकालदेखि उठ्दै आएको किरात विश्वविद्यालयको मुद्दा कार्यान्वयनको सही समय आएको उहाँको मत रहेको छ । ‘किरात विश्वविद्यालयको कुरा उठेको पञ्चायत कालदेखि नै हो । त्यस बेला हामी झिनो, सानो स्वरले बोल्थ्यौं । अब अहिले त निक्कै ठूलो स्वरले बोलिरहेका छौं । किरात विश्वविद्यालय हुनसक्छ । तर त्यसको के के उद्देश्य हो ? त्यो उद्देश्य निर्धारण गरेर, ती उद्देश्यमाथि किरातीहरूले सरकारसँग मिलेर काम गर्नुपर्छ । माग ग¥यो बस्यो । त्यो चाहिं ढुंगा पकाएर केटाकेटीले पर्खेर बसेजस्तै मात्रै हुन्छ । तर सम्भावनाचाहिं छ । यदि कसैले त्यसमा चासो लियो, सरकारले ध्यान दियो भने किरात विश्वविद्यालय नहुने भन्ने छैन । हुन सक्छ ।’

यसैगरी ‘लिब्जु–भुम्जु’ त्रैमासिक पूर्णाङ्क ७३ मा विविध सामग्री समेटिएका छन् । आवरण लेखमा गणेश राईको ‘वाम्बुले भाषाको चलचित्र’ र विकास सौगातको ‘ढ्वाङ्कुम चलचित्रको जन्म’ रहेका छन् । पदम राईको ‘यसरी बन्दैछ बान्तावा शब्दकोश’, डा. तारामणि राईको ‘लिम्चुङबुङ (सुन्तारी फूल) के हो ?’ छन् ।

अविनाथ राईको ‘अवकाशित जीवन’, बसन्त राईको ‘वाम्बुले भाषा बोल्दाको अप्ठ्यारो’, जगतधन राईको ‘वाम्बुले भाषाको सेरोफेरो’ र शुभराज राई (काजी)को ‘वाम्बुले राई भाषाको तीस वर्षे यात्रा’ आलेख छन् ।

वाम्बुले भाषामा कुम्भराज राईको ‘फर्केर हेर्दा ओखलढुंगा’ निबन्ध, व्याकुल माइला, धिरेन्द्र रुम्दाली, धु्रव संयम, गगन राई, इन्द्रकुमार राईको कविता तथा बाहिङ भाषा धीरेन सुस्तोचा बाहिङको रचना रहेका छन् । नियमित स्तम्भअन्तर्गत तस्बिरमा वाम्बुले राईहरु, समाचार समेटिएका छन् ।

अन्तरवार्ता हेर्न तलको लिङ्क खोल्नुहोला:-

Leave a Reply

Your email address will not be published.