लिभु संवाददाता
काठमाण्डौ । किरात वाम्बुले राईहरुले जब साउन १५ लाग्छ त्यही समयमा बाँसुरी बजाएर मनोरञ्जन लिने परम्परा रहेको छ । त्यही परम्परालाई स्मरण गर्दे मंगलबार ललितपुरको इमाडोल स्थित वाम्रास भवनमा उनीहरुले बासुरी दिवस मनाएका छन् । संस्थाका अध्यक्ष गजुरधन राई, सल्लाकारद्वय अविनाथ राई र भुवनसिंह राई तथा किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष जनक राईले बाँसुरी बजाए दिवसको उद्घाटन गर्नुभएको थियो ।
आफ्नो लोक, संस्कृति र परम्परालाई जोगाउनको लागि किरात वाम्बुले समुदायमले प्रत्येक साउन १५ गतेका दिन सुमधुर ताल सगैँ राम्दले भाकाका साथ बासुरी बजाउदै आएका छन् । वाम्बुले राई समाज, नेपाल वाम्रास संस्थाको आयोजनामा दोस्रो पटक यो दिवस मनाएको हो । दिवसको अवसरमा बासुरी बादक, जिबन राई, बडाजित राई र विकास राईले लोक परम्परा अनुसार बाँसुरी बजाएका थिए भने मादल वादकमा मोतिलाल राई र विष्णु माईलाले साथ दिएका थिए । उनीहरुले दूधकोसी र सुनकोसी संगम आसपासमा बजाईने राम्दले भाकामा बाँसुरी बजाएका थिए ।
संस्थाका अध्यक्ष, गजुुरधन राईले भने “ वाम्रास संस्थाले वार्षिक कार्यक्रम बाँसुरी दिवस, ढ्वाङकुम चाड, वाम्रास स्थापना दिवसमा मातृभाषा कविता गोष्ठी गर्दै आएको छ, यो वार्षिक तालिका हो, हाम्रो परम्परा, लोक संस्कृति पुस्तौपुस्ता सम्म निरन्तर रुपमा हस्तान्तर, पुस्तान्तरण गर्ने काम गौरवपूर्ण छ, विकट गाउँमा जन्मे हुर्केका हामी मातृभाषा बाहेक नेपाली भाषा बोल्न नजानेर डोकोमुनि लुकेर बस्ने समुदायका मानिस हौं, अब हामी पुर्खाको नासो सबै मिलेर जगेर्ना गर्नुपर्छ ।” त्यस्तै गरी कोशकार अविनाथ राईले, बाँसुरी संस्कृति बारे अध्ययन, अनुसन्धान र दस्तावेजीकरण अवको गन्तव्य हुनुपर्नेमा जोड दिए ।
कृषि कर्मपछि मनोरन्जन गर्ने परम्परा, बाँसुरी परम्परा हो । बर्खामासमा काम गर्नु पर्छ भनेर असार साउनमा काम गर्न नदिने पुर्खाले परम्परा बसाएको किरात राई सांस्कृतिक कलाकार संघका अध्यक्ष जनक राईले बताए । पन्ध्र बीस वर्षदेखि किरात राईहरुको सांस्कृतिक अभियान निरन्तर छ । यसको प्रभाव समाजमा देखिन थालेको छ । १३ हजार ४ सय ७० जना वक्ता रहेका वाम्बुले राई समुदाय भाषा, संस्कृति संरक्षण कार्यमा अगाडि रहेको साथै किरात राई सांस्कृतिक कलाकार संघले मौलिक लय संकलन गर्दै आएकोले अब वाम्बुले राई समुदायमा रहेका संस्कृति पनि दस्तावेजीकरण हुनु पर्ने उनले बताए ।
संस्कृत विदहरुका अनुसार, साउन १५देखि भगवन उपवास सकेर गुफाबाट बाहिर निस्कन्छन् । त्यसै दिन देखि विशेष रहरका साथ तन्नेरी युवा, वयस्कहरु बाँसुरी झिकेर पाखा पर्वत नै गुञ्जाएमान हुने गरी बजाउँछन्् । वाम्बुले राई समुदायमा, साउने संक्रान्ति देखि दुई साता भगवान गुफा बस्छ भन्ने मान्यता छ । त्यसैले नङ काट्न, कपाल काट्न हुँदैन । महिलाले कपाल कोरेमा भुइँमा झार्न हुँदैन, घरको छानोमा सिउरिने चलन छ । ठूलो स्वरले कराउन हुँदैन । ठूलो आवाज आउने कुनै बाजागाजा बजाएर होहल्ला गर्न हुँदैन । देउता रिसाउँछन् भन्ने मान्यता रहेको छ ।
त्यसैले मादल लगायत बाजागाजा केही बजाउँदैनन् । जब साउन १५ गते लाग्छ, त्यस दिनदेखि कालो मैलो, अँध्यारो हट्छ भन्ने लोकमान्यता छ । त्यस दिनदेखि किराती वाम्बुले समुदायमा नयाँ रौनक छाउँछ । समाजका तन्नेरीहरु अँगेनोको माथि ध्वासे बलोमा या खोल्मो छानोमा सिउरिएर जतन साथ राखेका बाँसुरी, मुरली झिकेर बजाउँन तम्सिन्छन् । भाका भने यस्तो हुन्छ, तिरिहुरी तिति माई मुरली, बाटैमा भेटें गाई कोरलीफापरको ढिंडो अरमले साग, कति राम्रो मुरली सुमधुर राग…। गाउँघर, बनपाखा, खोलानाला, दुधकोसी र सुनकोसी नदी गडतीर गुन्जिने गरी बजाउँन थाल्छन् । माया प्रिती या बिरह, मनै हर्ने भाकाहरु बजाउँछन् । लोकभाका जो कसैले नक्कल गरेर बजाउँन तम्सिन्छ । त्यसैगरी एकल र जोर मुरली बजाउँछन् ।
फोटो – गणेश वाम्बुले राई