कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा – उपाध्यक्ष कडेल

प्रदेश प्रदेश ६

लिभु संवाददाता
काठमाडौं– राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसँग नीति संवाद गरेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा भदौ २८ गते बिहीबार सिंहदरबारस्थित आयोगको सभा हलमा आयोजित कार्यक्रममा १७ जना सांसदले कर्णालीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री जनार्दन शर्माले सबै भन्दा पछि परेको क्षेत्र भएकाले कर्णालीको विकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले खासगरी कर्णालीमा सडक र विद्युत प्रशारण लाइन र कृषिमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । साथै कर्णालीको समस्या मात्र उजागर गर्नुभन्दा पनि समाधानको उपाय दिन राष्ट्रिय योजना आयोगलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री सहित सांसदहरुले उठाएको सवाललाई सम्वोधन गर्दै राष्ट्रिय योजना आयोका उपाध्यक्ष कडेलले कर्णालीलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । उपाध्यक्ष कडेलले कर्णालीको विकासका लागि सडक, विद्युत लाइन, अप्टिकल फाइवर, वित्तिय संस्था, विद्यालय तथा विश्वविद्यालयमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यहाँ उठेको सवाललाई आगामी १५ औं योजनामा समेट्ने र आवश्यक परे राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पनि पेश गरिने बताउनुभयो । आयोगले नीति संवादको थालनी गरेको यो चौंथो पटक भए पनि तहगत रुपमा कर्णाली पहिलो भएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कर्णाली प्रदेश समन्वय गर्ने सदस्य मीनबहादुर शाहीले कर्णालीको आर्थिक सामाजिक अवस्थाको तथ्यांक प्रस्तुत गर्दै विषय प्रवेश गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.