वाम्बुले भाषा पाठ्यक्रम स्विकृत

प्रदेश प्रदेश १ समाचार

लिभु संवाददाता
ओखलढुंगा– मानेभन्ज्याङ गाउँपालिकाले वाम्बुले राई भाषाको पाठ्यक्रम स्विकृत गरेको छ । वाम्बुले राई शिक्षक समाज (वाराशिस)को प्रस्तावलाई लिएर कक्षा १, २ र ३ को पाठ्यक्रम स्विकृत गरेको हो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीले पत्रमार्फत् निर्णय जानकारी दिनु भएको हो । ‘वाम्बुले राई मातृभाषाको पाठ्यक्रम २०७५, आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा १–३),’ पत्रमा छ, ‘यस मानेभन्ज्याङ गाउँपालिकाको मिति ०७५।१२।१८ को बैठकको निर्णयअनुसार स्विकृत भई चौथो गाउँसभाबाट अनुमोदन भएको व्यहोरा अनुरोध छ ।’

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार ओखलढुंगालगायत विभिन्न जिल्लामा वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेको छ । त्यसमा मानेभन्ज्याङ गाउँपालिका वाम्बुले राईहरुको उद्गम थलो हो भने सबैभन्दा धेरै वक्ता संख्या यही पालिकामा रहेका छन् । वाम्बुले राईहरूको भाषा, साहित्य, मुन्दुम, धर्म, संस्कार संस्कृति, परम्पराको जगेर्ना तथा इतिहासको खोजी गर्ने उद्देश्यसहित वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्था २०५४ सालदेखि क्रियाशील छ । वाम्रास संस्थाको भ्रातृसंगठनका रुपमा वाम्बुले राई शिक्षक समाज २०६८ सालमा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published.