चलचित्र ‘सायाबुङ’ विशेष प्रदर्शन

मनोरन्जन

लिभु संवाददाता
काठमाडौं– किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा शनिबार प्रदर्शन गरिएको हो ।

द ह्वाइट फेसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राईले फिल्म निर्माण टिमलाई बधाई दिनुभयो । प्रिमियर शो उद्घाटन गर्दै उहाँले यस्तो फिल्मको निर्माणले संस्कृति संरक्षणमा ठूलो योगदान पुग्ने उल्लेख गर्नुभयो ।

त्यस्तै संघीय सांसद सुदन किरातीले संस्कृति संरक्षण तथा पहिचानको आन्दोलनमा चलचित्र क्षेत्रको पनि ठूलो भूमिका रहेको बताउनु भयो । दर्शकको बृहत् उपस्थितिले आफुलाई थप काम गर्ने जाँगर आएको मात्र नभएर गर्व महसुस भएको निर्मात्री साया राईले बताउनुभयो ।

द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई सँस्कृतिमा आधारित रहेको छ । चलचित्रले किरातीहरुको परम्परागत मूल्यमान्यता, प्रेम तथा विवाह जस्ता संस्कारहरुसमेत समेटिएको छ । चलचित्रको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि चलचित्र नेपालीभाषामा रहेको छ । पूर्वी नेपालको उच्च पहाडी भेगमा रहेको चौरीगोठ पालनको संस्कृतिलाई चलचित्रमा समेटिएको छ ।

सायाबुङ विशेष प्रदर्शनीमा दर्शक

मोफसलमा निर्माण भएकाले केही प्राविधिक कमजोरीका बाबजुद फिल्म राम्रो रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । फिल्म हेरिसकेपछि किरात राई युवा संघका केन्द्रिय अध्यक्ष सञ्जय राईले नेपाली फिल्म उद्योग सायाबुङले नयाँ विषय पस्केको बताउनुभयो ।

चलचित्रको छायाँङ्कन पूर्वी नेपाल, भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ । सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको यस चलचित्र साया राईले निर्माण गरेका हुन् । भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रहेको छ । देबजंग थापाले सम्पादन गर्नुभएको छ । चलचित्रमा दिपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको गीत समेटिएको छ ।

काठमाडौंको विशेष प्रदर्शनपछि झापाको बिर्तामोड, इलाम, धरानलगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक भगीराज राईले जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.