१०० वर्ष टेकेपछि राष्ट्रकवि माधव घिमिरे

जीवनशैली

गणेश वाम्बुले राई
काठमाडौं– कर्मले आयु महान् बनाउँछ । त्यही आयु लिएर १०० वर्ष टेक्नु भएको छ– राष्ट्रकवि माधवप्रसाद घिमिरे । शतायु पाउनु आम मानिसका निम्ति आफैंमा अनौठो हो । राष्ट्रभाषाको श्रीवृद्धिमा आजीवन सुम्पिने व्यक्तित्वले त्यो आयु पाउनु नेपालीकै निम्ति गौरवको विषय हो ।

माधवप्रसाद घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो । उहाँ यतिखेर १०० वर्ष टेकेर जन्मदिन मनाइरहनु भएको छ । उहाँ काठमाडौंको लैनचौरस्थित आफ्नै निवासमा बस्नुहुन्छ ।

नेपाली साहित्यकाशमा कवि, गीतकार, नाटककार, महाकाव्यकारको रूपमा चिन्दछौं, जान्दछौं– माधवप्रसाद घिमिरेलाई । समालोचकको ठम्याइमा स्वच्छन्दतावादी भावधारा, प्रकृतिवादी र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार हुनुहुन्छ– माधव घिमिरे ।

बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्य साधन गर्दै अघि बढ्नु भयो र नै आज यो शिखरमा उभिन सक्नु भएको हो, कविवर माधव घिमिरे । उहाँको १९९२ सालमा गोरखापत्रमा ‘ज्ञानपुष्प’ शीर्षकमा उहाँको कविता प्रकाशित भएको थियो ।

त्यसयता माधव घिमिरेको फुटकर रचनादेखि दर्जनौं कृतिगत संग्रह प्रकाशित छन् । नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नर–किन्नरी (२०३३), गौरी (खण्डकाव्य) लगायत दर्जनौं कृतिहरु प्रकाशित छ । अहिले ‘ऋतन्भरा’ महाकाव्य प्रकाशोन्मुख छ ।

लमजुङको दुराडाँडाको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीस्थित संस्कृत पाठशालामा अध्ययन गरी प्रथमा उत्तीर्ण गर्नुभयो । त्यसपछि भारतको बनारसस्थित क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री हासिल गर्नुभयो । नेपालको भाषा, साहित्य, संस्कृति, दर्शन, इतिहास आदिको अभिलेखिकरण गर्ने पहिलो संस्था हो, नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठान । राष्ट्रकवि माघव घिमिरे यो प्रज्ञा–प्रतिष्ठानको उपकुलपति, कुलपतिसमेत भएर योगदान गर्नुभएको छ भने यो संस्थाको आजीवन सदस्य हुनुहुन्छ ।

गाउँछ गीत नेपाली,
ज्योतिको पँख उचाली
जय जय जय हे नेपाल
सुन्दर शान्त विशाल…
जय जय जय हे राष्ट्रकवि
नेपाली भाषा साहित्य सुन्दर र विशाल…. ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको शताब्दी आयुप्रति हार्दिक शुभकामना ।

स्रोत – विकिपिडिया र अन्य
फोटो – गुगुल

Leave a Reply

Your email address will not be published.