थुलुङ भाषाको बालगीत संग्रह सार्वजनिक

मातृभाषा

लिभु संवाददाता
काठमाडौं- थुलुङ भाषाको पहिलो बालगीत संग्रह ‘थुलुङ’ सार्वजनिक गरिएको छ । ६ वटा भिडियोसहित बालगीत संग्रह सार्वजनिक गरिएको हो ।

किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा आज (शनिबार) आयोजित कार्यक्रममा उद्यमी तथा समाजसेवी तेजबहादुर राईबाट उक्त संग्रह सार्वजनिक गरिएको हो । सो अवसरमा विभिन्न क्षेत्रमा ख्याति कमाएका थुलुङ समुदायका २४ जना व्यक्तित्वहरुको जिवनी समेटिएको ‘थुलुङ’ नामक मुखपत्र समेत लोकार्पण गरिएको छ ।

थुलुङ राई भाषा पाठ्यक्रम विकास समितिको आयोजनामा दुवै कृति एकसाथ सार्वजनिक गरिएको हो । समितिका संगीत विभाग प्रमुख पदम थुलुङ राईका अनुसार थुलुङ भाषाको संरक्षण र विकास गर्ने उद्देश्यले खोटाङ, सोलुखुम्बु र ओखलढुंगाबाट १७ जना बालबालिकाहरुलाई काठमाडौंमा ल्याई उनीहरुकै स्वरमा बालगीत तयार पारिएको हो ।

उद्यमी राईले कुनै पनि जाति र समुदायको भाषा संस्कृतिको जगेर्ना गर्ने काम राज्यको दायित्व भएको बताउनु भयो । उहाँले आफू थुप्रै देश घुमेको र विदेशमा संस्कृति जोगाउनका लागि राज्यले करोडौ रुपैयाँ खर्च गर्ने बताउनु भयो । ‘भाषा, संस्कृति भनेको त देशको सम्पति हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले भाषा संस्कृति जगर्ने गर्ने काम राज्यको दायित्व हो ।’
उहाँले आफ्नाे भाषा र संस्कृतिप्रति गर्व गरे मात्रै त्यसको विकास हुने बताउनु भयो । उहाँले थुलुङ भाषाको पाठ्यक्रमलाई नै भिडियोको रुपमा बालगीत निकालेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

किरात राई यायोक्खाका उपमहासचिव जनक राईले थुलुङ भाषाको बालगीत निकालेर थुलुङ भाषालाई अन्तर्राष्ट्रियकरण गरिएकोमा आफूलाई खुसी लागेको बताउनु भयो । उहाँले अहिलेको समय सांस्कृतिक पुनर्जागरणको समय भएकोले राज्यबाट विभेद र दमनमा पारिएका भाषा संस्कृतिहरुको उजागर गर्नुपर्ने बताउनु भयो ।

खुक्सङ खम्बुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा थुलुङ बालगीत तथा मुखपत्र तयार पार्ने क्रममा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई कदरपत्र समेत प्रदान गरिएको थियो । समितिले यसअघि नै कक्षा १ को पाठ्यक्रम तयार पारिसकेको छ भने हाल थुलुङ बाहुल्य क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरुमा ती पुस्तक पठनपाठन भइरहेको छ ।

थुलुङ भाषाको पहिलो बालगीत संग्रह सार्वजनिक

Leave a Reply

Your email address will not be published.