संस्मरण: बाहिङ संस्कृतिको सेग्रो

कला साहित्य -संस्कृति मातृभाषा
–रेनुका बाहिङ राई

दिवासी किरातहरुमध्ये बाहिङ  राई पनि पर्दछन् । बाहिङहरुको मुलथलो सोलुखुम्बु र ओखलढुंगा जिल्ला हो । बसाइसराइको क्रममा खोटाङ, उदयपुरलगायत देश–विदेशमा पुगेर बसोबास गरेका छन् । बाहिङहरु बसाइँ सरेर गएसँगै बाहिङ भाषा, संस्कार–संस्कृतिहरु लोप भइरहेको छ । आफ्नो मौलिकता, भाषा, संस्कार–संस्कृति आधुनिकताको चेपुवामा पर्दै गएको छ ।
बाहिङहरुको संस्कारिक पितृकार्यमध्ये हङ अर्थात् सेग्रो सबैभन्दा जेठो वा ठूलो पितृकार्य मानिन्छ । र, यो बाहिङभित्र पनि जसले पायो उसले, जहिले पायो तहिले गर्दैनन् । त्यसैले, बाहिङ समुदायभित्रै पनि यो पितृकार्य महत्वपूर्ण र चासोको विषय बनेको छ । त्यही चासो ममा पनि बढेको हो । त्यसैले मौकामा चौका हानेर दाजुसँग हुर्रिएर ओखलढुंगाको रातमाटे, फाकु पुगियो । देसेन्द्र दाजुको घरमा पाहुना बन्न पुगियो ।

घरबाट फाकु पुग्न सदरमुकाम हुँदै जानुपर्छ । हामी उकालो त्यार्सो ओरालो गर्दै सदरमुकामतिर लाग्यौं । फाकुसम्म रोड पुगेपनि दैनिक रुपमा सार्वजनिक गाडी नजाने हुँदा हामी रुम्जटारसम्म गाडीमा जाने निर्णय लियौं । ओखलढुंगाको रमाइलो डाँडामा गाडीको प्रतिक्षामा केहीबेर बस्यौं । कुनै सवारी जाने छाँटकाँट नपाएकाले हामी रुम्जटारतिर लम्कियौं । जाँदै गर्दा सिस्ने खोलाको पुल तरिसक्ने बित्तिकै एउटा जिप आयो । रोक्यौं । सिट एउटा मात्र खाली रहेछ । हामीले सानोटारसम्म लान आग्रह गरी पस्यौं । संजोकबस जिपमा गायक कल्याण राई दाजु पनि हुनु हुँदोरहेछ । गफिदै पुग्यौ -सानोटार । कल्याण दाजुसँग बिदा मागेर लाग्यौं -फाकुतिर । हङ ९ गते सुरु भएर १२ गते सकिने’थ्यो । हामी त्यहाँ ८ गते पुगेका थियौँ  ।

फागुन ९ गते सेग्रोको पहिलो दिन । द्याम्बुलु सेम्चोमको रात । बेलुकीपख निकै पाको बुढो मान्छे दौरा, सुरुवाल, मोक्ते, पटुका र टाउकोमा फेटा गुथेर लौरो टेक्दै देसेन्द्र दाजुको घर आउनुभयो । दाजुले भन्नुभयो, ‘उहाँ नै हुनुहुन्छ यो गाउँको ध्यावा नक्सो, बन्दुबिर किकी । मुÞपुद्याल(रातमाटे)बाट आउनुभएको । उहाँले नसकेर अहिले उहाँको साटो अर्कोलाई राखेको छ ।’ साँझ अन्य नक्सो, ङाबुचा तथा गाउँका सबै दाजुभाइहरु जम्मा भए । सेग्रोको पहिलो दिन अर्थात् द्याम्बुलु सेÞम्चोमको रात मुलघरमा सबै जम्मा भएर दाजुभाइ पाहुनाहरु हामी सबैले खाना खायौं । अनि सुरुभयो कामको बाँडफाँड ध्यावा नक्सोको नेतृत्वमा । मुख्य महिला–पुरुष मःसिमी–मःसिचाहरु, स्याल्फोचा, सेचा, कायामी–कायाचा, भान्से, चुरीचा–खःसिचा, सेख्लिचा, ङार्मोचा, ग्राचा, सेख्लिचालगायत । सेग्रोमा चाहिने जनशक्ति, गर्नुपर्ने कामको बाँडफाँड गरिसकियो । जसलाई ‘कायाचा फक्चो’ भनिन्छ । कामको बाँडफाँड सकिएपछि सबैजना भोलिको आ–आफ्नो काम–कर्तव्य तथा जिम्मेवारी लिएर आ–आफ्नो घरतिर लागे ।
सेग्रोको दोस्रो दिन । अघिल्लो दिन दिइएको जिम्मेवारी निर्बाह गर्न घामको गतिसँगै सबैजना सेग्रोघरमा जम्मा भए । कामदारको लागि सेग्रोघरमा खाना पाकिसकेको थियो । भान्सेहरुले सबै कामदारहरुलाई खाना खुवाए । खायौं । अनि सुरुभयो सेग्रोको तयारी । दुईजना चुरीचा–खःसिचाहरुले नजिकैको चाँपको रुख चुरी–खःसी बनाउन हातेआरीले आकारप्रकार हेरेर मिलाएर गिड्न थाले । म हरेक कामदारहरुको काम गरेको नियाल्न, फोटो क्लिक गर्दै, भिडियो खिच्दै र बेलाबेलामा प्रश्न सोध्न दौडिएँ । आरीले चाँपको रुख गिँडिसकेपछि आरा लगाउन लाग्दै थिए । मैले सोधें, ‘यो चुरी–खसीको लागि कुनकुन जातको रुखहरु हुन्छ दाजु ?’ आरा लगाउन कोइलाको कालो रंगले गिँडेको मुडामा नाप्दै धागोले प्याट्ट प्याट्ट चिनो लगाउँदै एकजना दाजुले भन्नुभयो, ‘यसको लागि जुनपायो त्यही रुखले हुन्न । दार, कटुस, साल सबैभन्दा राम्रो त चाँपको मानिन्छ ।’
उता द्याम्बुल स्याम्बmाहरु आँगनको कुना अर्थात् कान्लातिर पुरानो कान्ला खन्न थाले चारपाँच जनाले । हेर्दाहेर्दै केही गहिरो खनिसकेर आठजोडी एकनासको चेप्टो ढुंगा त्यार्सो वल्लो छेउ र पल्लो छेउमा एक–एक वटा गरेर जम्मा १० वटा चेप्टो ढुंगा ठडाइयो । बmागु लुङ आठजोडी राखेको देखेर म लगायत केहीले सोध्यौ, ‘यो बmागु लुङ आठजोडीमात्रै राखिन्छ कि ?’ हाम्रो कुरा सुनेर एक अग्रजले भन्नुभयो, ‘हैन ६, ८, १० जोडी राख्ने गरिन्छ । तर प्रायले ८ जोडी राख्ने गर्छन् ।’ हिजोमात्र देसेन्द्र दाजुको घरको घुर्यान हुँदै घरको दक्षिणतिरबाट डोजरले रोड खनेर घर मास्तिर गएर बिसाएको छ । त्यही रोडमा दुइजना पाको उमेरका ग्राचाहरु गफिदै ग्रा (डोरी)को लागि अघि काटेर ल्याएको बाँसको चोया काड्दै थिए ।

यही रातमाटे पुर्खाघर भएका र हाल खोटाङवासी तीन बाहिङ दाजुहरु सेग्रो संस्कार हेर्ने, डकुमेन्टेसन गर्ने उद्देश्यसहित आएका छन् । चोया काड्दै गरेको फोटो क्यामेरामा कैद गर्दै थिएँ । उहाँहरु मध्येबाट एकजनाको मुखबाट प्रश्न फुत्क्यो, ‘रेनुकाजी यो चोया किन उक्काएको ?’ मैले भनेँ, ‘सेग्रोको लागि डोरी बाट्न नि ।’ ‘सेग्रोको लागी डोरी के–केको बाटिन्छ नि ?’ त्यसको जवाफमा ग्राचा अग्रज आङाचाहरुले बोल्नुभयो, ‘सेग्रोमा खासगरेर बाबियो, चोया अनि भोर्ला था’छ बाबुहरुलाई ? (अँअँ हामी एकै स्वारमा था’छको जनाउँ दियौं) हो त्यसको बोक्राको पनि डोरी बनाइन्छ ।’ दाजुहरुले टाउको हल्लाउँदै, ‘ए’ भने । फागुनको महिना भएकाले आकाशिदैगरेको घामको रापबाट छलिन उहाँहरु छेवैको छिमेकीघरको आँगनमा घाममा छेलिनु भयो ।

म फेरि एक क्लिक फोटो लिएर कुदें । किनकी अर्का दुईजना ङार्मोचाहरु ङार्मो खोज्न जान लाग्नुभएको थियो । म र दाजु उहाँहरुको पछिपछि लाग्यौं । घरको पुर्वतिर केहीपर खरबारीमा केही भिरालो बाटोमाथि चढ्नुभयो । खोज्न थाल्नुभयो ङार्मो (बन अदुवा) । खोस्रिदै, ‘ए याँ ता सानो मत्तै र’छ ।’ एकपछि अर्को गर्दै खोस्रदै निकाल्न थाल्नुभयो । केहीबेरमा सेग्रोको लागि चाहिनेजति ङार्मो खनेर जम्मा पारेपछि जरा–माटो सफा गर्नुभयो । त्यसपछि दुबैजनाले त्यो ङार्मो खोस्रिदा खन्दा वा खोज्दा प्रकृतिलाई वा त्यो ङार्मोलाई केही दुःखचोट परेमा दुःखेसो नमान्नु, दुःख दियो भनेर गुनासो, दुःखेसो नमान्नु’ भनेर तोक्तीमा लगेको रक्सीले ङार्मोलाई चढाउँदै फ्रेलोमार्फत् माफि माग्नुभयो, ‘….. अस्याङ्गिरी ल्याङ्गिरीदिङ रुक्तिनी दाःसो दिखा मापावो दलो मापावो है ।’ अनि तल झरेर, ‘लौ पर्साद खाऔं ।’ सबैले ङार्मो पुजेको पर्साद रक्सी पिएर घरतिर लाग्यौं ।

घरपुगेर फेरि स्याल्फोचाको पालो थियो । सेली ल्याएर स्याल्फो बनाउने स्याल्फोचामा मेरो दाजु, देसेन्द्र दाजु पर्नुभयो । उहाँहरुसँगै म र खोटाङबाट आउनुभएका तीन दाजुहरु पछि लाग्यौं । घरतल्तिर गहुँबारी मिच्दै सेलीको बोटमा मेरो दाजुले टिप्ने र देसेन्द्र दाजुले थाप्ने गरेर एक अँगालो सेली सबैले एक–एक डाला बोकेर चारपाँचजना स्याल्फोचा बनेर घरपुग्यौं । घरपुग्दा आँगनमा बmागु लुङ राख्नेहरुले बmागु लुङमाथि गाह्रो चिट्दै रहेछन् । चुरीचा–खःसिचाहरुले काठ आरा लगाइसकेर चुरी र खःसीको बुट्टा कुँद्दै रहेछन् । दाजुले पनि बुट्टा कुँद्न सघाउन थाल्नुभयो । बेलुकीपख घरको पश्चिमतिर भान्साघर बनाइयो । भान्साघरनिर नै बनाइएको छ १६ वटा घैंटी राख्ने चिग्रो । दुईजना चिचालाई त्यसको जिम्मेवारी दिइएको छ । उहाँहरुले बिधिअनुसार घैटी भान्साघरनिरको चिग्रोमा लगेर राख्दै भन्नुहुन्छ, ‘उहिले त १९ घैटी राख्ने चलन थियो । अहिले परिमार्जन गरेर भित्र १ र बाहिर १६ घैटीले काम चलाइआइएको छ ।’ बाहिरको १६ घैटी ची राखीसकेर भित्रको लागि चिचाहरु जान्छन् । भान्सामा बेलुकाको लागि भान्साको जिम्मेवारी पाएकाहरु दालभात पकाइरहेका छन् । सेग्रोमा राँगा या सँुगुरको बलि नदिएसम्म पाहुनापाछा तथा दाजुभाइ सबैलाई दालभात दिइन्छ ।

आँगनमा स्याल्फोचाहरु अघि ल्याएको सेलीको बाँसको सानोसानो कप्टेरा र चोयाको सहायताले स्याल्फो बनाइरहेका छन् । द्याम्बुल स्याम्बmाहरु आँगनको कुना अर्थात् काँल्लातिर पुरानो काँल्ला भत्काएर नयाँ बmागु लुङमाथि गाह्रो चिटेर त्यसमाथि चुरी र खःसी गाड्दैछन् । ध्यावा नक्सो बन्दुबिर किकी उमेरले निकै पाको हुनुभएको छ । त्यसैले नै केही बर्ष यतादेखि उहाँको सट्टा अर्को ध्यावा नक्सो नियुक्त गरिएको रहेछ । अन्य नक्सो भन्दा सेग्रो ध्यावा नक्सो नियुक्त गरेपनि उनलाई अघिल्लो वा पुरानो नक्सोले दुईचार बर्ष नेतृत्व गर्नुपर्ने हुन्छ । त्यसैले उहाँ रातमाटेबाट लट्ठीको सहायताले आफ्नो संस्कार–संस्कृति पुस्तान्तरण, हस्तान्तरण गर्न सकिनसकी आउनुभएको छ । घरी आँगन त घरी घरभित्र कामदारीहरुको गल्ति सच्याउँदै हुनुहुन्छ । उहाँलाई चिन्ता छ– आजभोलिको ठिटाहरु आफ्नो संस्कारमा चासो दिदैनन् । दिनेहरु पनि पारा ल्याउँदैनन् । साँझ प¥यो । सबै कामदारीहरुले भोलि अर्थात् मुख्य सेग्रो सिलीको लागि चाहिने सरसामान आदि सबै करीब तयार गरिसकेका छन् ।

स्याल्फोचाहरुले स्याल्फो बनाइसकेर भित्र अँगेनाको ठिक भित्तामा बिधिबिधान अनुसार राखीरहेका छन् । जुन जतिबेला पायो उतिबेला र जसले पायो उसले निकाल्न, फाल्न मिल्दैन । यसलाई बिधिबिधान अनुसार फेरि त्यो घरमा अर्को सेग्रो गर्दा त्यो निकालेर चुरी–खःसीमा लगेर राखिन्छ । फेरि नयाँ स्याल्फो राखिन्छ । सेग्रोको लागि सबै काम सकियो । अब सुरुभयो, बकल लुक्चो वा अँगेना पुजा । सेल्खिचाले सेल्खी अर्थात् सिकार गरेर ल्याएको कालिज अँगेनामाथिको भारमा सिकुटी बनेर तन्किरहेको । अब सेल्खिचाले निकालेर विधिअनुरुप बनाउँदैछ । अघि दिउँसो ङार्मोचाले ल्याएको ङार्मोले ध्यावा नक्सो, नक्सो, ङाबुचा, घरमुली, छिमेकी, नरनाता आदिको मेलैसँग ध्यावा नक्सोले फ्रेलो फलाक्दै ङार्मो काटेर सिरउभौनी, जोखना हेर्नथाले, ‘… सारी ङार्मो नाए, रेरी ङार्मो नाए, ……’ जोखना तीन वा चार पटकमा ङार्मो काट्दा शुभ भएको संकेतमा प्रत्येकपटक ४ जोर झ्याम्टा झ्यामऽ झ्यामऽ झ्यामऽ झ्यामऽ.. को तालमा बजाइदैछ ।

तेस्रो दिन बिहानैदेखि सेग्रोको चहलपहल हुनुपर्ने हो । तर घाम निकै उक्लिदासम्म पनि कोही कामदारीहरु सेग्रोको मुख्य तयारीमा नजुटेको देखेर आँगनमा सेग्रोको तयारीको प्रतिक्षामा बस्नुभएको ध्यावा नक्सो बन्दुबिर किकी रिसाउँदै कराउन थाल्नुभयो, ‘के हो आज यो घरमा सेग्रो तुम्लो गर्ने कुनै सुरसार नै छैना, तुम्लो भन्ने, फलाक्ने त निकै पो छ त । यस्तो पाराले त भरे बेलामा सकिदैन त !’ किकी बोलेपछि बल्ल सबै सेग्रोको तरखरमा लागे । ध्यावा नक्सो, नक्सो, ङाबुचा, मःसिचा–मःसिमीहरु सबैजना सेग्रोमा लगाउने विषेश पहिरन चाम्फुरी, सालामा, गाधा, दौरासुरुवाल लगायत सहयोगीका साथ पहिराउने काम सुरुभयो ।
आँगनमा राँगा बाँधियो । हिजो ग्राःचाले बाटेको चोयाको डोरीले र खःसीमा बाँधियो । बाबियोको डोरीले राँगाको सिङमा बाँधेर चुरी–खःसी हुँदै घरको गाह्रोबाट भित्र अगेनाको ठिक अगाडिको स्याल्फो राखिएको ठाउँमा जसलाई सारी ग्रा भनिन्छ । घर भित्र सुँगुर बाँधियो । नक्सो ग्वालो, नक्सो चीस्था दिचो, तिरी हिक्चो तुम्लोमा आगनमा चुरीमा राँगा बाँधिएको छ । हिजो गाडिएको बmागु लुङ जुन लुङले गरिएको निश्चित छेत्रमा नक्सो–ङाबुचा र चुरीखःसी कुर्ने बाहेकका अन्य जो–कोही जान निषेध हुन्छ । किनकी त्यो निकै संवेदनशिल क्षेत्र हो । ध्यावा नक्सो, नक्सो, ङाबुचाहरु छन् । त्यसपछि अन्य गाउँले, आफन्त आदि सबैजना केन्द्रित भयौं । किकी बन्दुबिर कुर्सिमा बस्नुभएको छ । उहाँको सट्टा राखिएको ध्यावा नक्सो तिरी समाएर तयारी हुनुभयो । आयताकारमा निश्चित दुरीमा ६ ठाउँमा सानो खाल्डो जस्तो नमुना छ । तिरी गन्दै हिड्दा त्यो निश्चित तोकिएको खाल्डो जस्तोमा मात्र ध्यावा नक्सोले त्यो तिरीले टेक्न वा बिसाउन पाउँछ । सुरुभयो तिरी हिक्चो फ्रेलो, ‘…स्वाक्सि ब्यार्बु युकुयुङ्मा, सारी ब्यार्बु खारी…, युकुयुङ्मा युमादाती,…………….।’ तिरी हिक्चोमा ध्यावा नक्सो जतिपटक काम्छ उतिपटक अन्य नक्सो तथा ङाबुचाहरु पनि काम्छन् । तिरी हिक्चो फ्रेलो सकिएसँगै सुरुभयो मसिचा–मःसिमीहरुको सिली । अर्कातिर ध्यावा नक्सोले फ्रेलो फलाकिरहेको छ ।
राँगालाई बलि चढाउन एकजना वाब्लोचा धनुकाँड लिएर तयारी बसेका छन् । राँगालाई तीन पटकसम्म तीरले हान्दा पनि ढलेन ! सेग्रोमा बलि चढाउँदा यस्तो लक्षण देखिनु अत्यन्तै अशुभ मानिन्छ ! राँगा नढल्दा सबैको मनमा डर र अशुभ संकेतको चिन्ताले भरिएको थियो ! बल्ल चार पटकमा राँगा ढल्यो ।
मःसिमी मःसिचाहरु भित्र सिली गर्दै आँगनमा सिली गर्नथाले । मानिमोको झ्यामझ्याम तालमा । राँगा र भित्रको सुँगुर सेचाहरुले विभिन्न रित अनुसार छुटाइ भोजको लागि तयार पारिरहेका छन् । भान्सेहरुले खाना तयार पारिसकेपछि सबैजनाले खाना खायौं । भित्र रितहरु नाग्ले पाचो, हादी लुक्चो, याप्धो पाचो, हादी झम्चो, हादी प्लेचो, लायो अन्चो, पुनिका लेचो, बकल सम्दी पाचो, गःल सम्दि पाःचो, ग्रुःसे सोःचो जस्ता रितहरु चलिरहेको छ । बाहिर अन्य मसिमी–मसिचाहरु रातभर बाहिर मासिमी–मःसिचाहरु सिली गरिरहे । उनीहरुको लहरमा म पनि खुब नाचे ।
चौंथो दिन, सबै दाजुभाइ नरनाताहरुलाई भोज खान बोलाइएकोले सबैजना आइरहेका छन् । सुँगुर, राँगा नचल्नेलाई भेडाको मासुको व्यवस्था गरिएको छ । सम्पुर्ण पाहुनाहरुलाई भोज खुवाउने र मःसिमी, मःसिचाहरुले ङार्कुवा सिली गर्ने आजको मुख्य र अन्तिम हो । यो सँगैसेग्रोको अन्तिम दिन सेग्रोको लोरो तुम्लो सकियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *