जेबी राई
विशेष धन्यवाद बेलायत बासी वाम्बुले दिदी-बहिनीहरुलाई !
पहिला उँबुमा मेरो मावली बजुले तान बुन्दै गर्नु हुँदा (साम्फा प्रोसाङ बा:लो) खत्री गाँउको एक जना खत्रेनी बजु आइपुग्नु भएछ । “रैनीहरुको सीप जिवै (शरिर) भरी, खसिनीहरुको सीप बारी भरी” भन्नु भयो रे । अनि बजुले सोध्नु भएछ “कसरी बज्यै ?” तपाईहरुले बुनेको कपडा जिउ भरी लाउछौ, हामीले सिलाको दुना, टपरी र ठहरहरु चलाईसके पछी बारी भरी फाल्छौं । भन्नु भएछ ।
सीप, सृजना र कला जहाँ पनि आबश्यक्ता छ । मैले पनि केहि त्यो सीपहरु देखेको थिएं । चैत-बैषाख मा हावा हुरीले काङ्ला, बारी डिलतिर उडाएको कति राम्रा-राम्रा आकारका दुना-ठहरहरु । दुइ चार जोर कमिज र दौरा-सुरुवालहरु फटाइएको समय-कालहरु ।
शायद त्यो बेलाको जस्तो बिभिन्न आकार, रुप र नामको सालको पात वा भोर्ला को पात बाट गाँसिने पातको सामाग्रीहरु अहिले त्यति नपाउन सकिन्छ तर त्यो जिउ भरी लाइने कपडा बुन्ने सीप र चलन भने लोप नै भैसकेको छ ।
हामी पनि बेलायतमा बसेर सम्भव हुने सम्मको कामहरु गरिरहन्छौ जस्ले गाँउ-घर र स्वादेश को यादलाई सन्तुलित गर्ने प्रयत्न गर्दछ । अनि हाम्रो चालचलनहरुलाई बचाइराख्दछ । वर्षमा एक दुई चोटि जम्घट हुँदा तितो-मिठो गफ गर्ने, मिठो-मसिनो खाने र आफ्नो सभौ (सम्मान) स्वारुपको कोसेली ल्याउने- बाँडि, लिने-दिने आदि चलनले हाम्रो आत्मियता एक दमै राम्रो र घनिष्ठ छ ।
यसपालीको तिहारको लागि यो फूलहरुले कति धेरै स्याहार सुसार पाएका थिए भन्ने कुरा मालाको आकार र वजनले प्रस्ट हुन्छ । बगैचालाई हेरचाह गर्नु हुने दिदी-बहिनीहरुको पौरखी हातहरु सधै सृजनसील रहिरहुन । साथै दाजु भाइहरुको योग्दानलाई पनि भुल्नुहुँदैन ।
यस वर्षको सामुहिक देउसी कार्यक्रममा बिभिन्न स्वदिष्ट परिकार र अत्यन्तै सुन्दर फूलमालाहरु उपलब्ध गर्नु हुने दिदी-बहिनीहरुलाई धन्यवाद सिबाय केहि दिन सकिएन ।
तपाईंहरुको सीप र कलाले बुन्नु भएको यो मालाहरु हाम्रो गलामा सधैभरी नरहेपनि तपाईहरुको सीप प्रति गर्ब गर्दछौ र गर्बको साथ भन्दछौं त्यो माला र सीपहरु हाम्रो हृदय भरी सदाबहार रही रहनेछ । र, तपाईहरुको कला र सीप निरन्तर जारी रहिरहने छ ।
अन्तमा नौमूरी तिल जति मेरो धन्यवाद सम्पूर्ण दिदी-बहिनीहरुलाई ।