खाक्चिलुपा रिनाखाको मुन्धुम कथा

विचार / ब्लग

–गणेश वाम्बुले राई र शुभराज राई (काजी)

यस ब्रम्हाण्डमा शून्य थियो । त्यस शून्यतामा केवल जलै जल मात्र थियो । सृष्टिकर्ता भगवानको अनुकम्पाले सटङमडा मटङमडा नाम गरेको देवताको उत्पत्ति हुँदा पृथ्वीको उत्पत्ति भयो । त्यही बखतमा आकाशको उत्पत्ति भयो र पृथ्वीलाई ढाकेछ । त्यसपछि पृथ्वी र आकाश बीच को ठूलो भनेर विवाद भयो । दुवैले आफू ठूलो भनेर दावी गरेछन् । तीन वचन सत्य वचनमा पृथ्वीले मै ठूलो भनेर जिद्धी गरेछ । र आकाशले लौ भैगो तिमी नै ठूलो होऔं भनिदिएछ । तर म भन्दा कसरी ठूलो हुँदारहेछौं भनेर विद्ये बाह्र वर्षसम्म वृष्टि गरिदिएन छ । धर्तीमा अनावृष्टि भए छ । धर्तीको आँचल सम्पूर्ण रुपमा सुख्खा भएछ ।

त्यसपछि धर्तीले माफी माग्दै म ठूलो हुँ भनेको त होइन रहेछ । तिमी ठूलो रहेछौं आकाशदेव । अब मलाई जल चाहियो । त्यसैले म माथि वृष्टि गरीदेऊ भनेर आग्रह गरेछ ।

म ठूलो हुँ भन्थ्यौ फेरि मैसँग जल माग्दैछौ ? लौ ठीकै छ भनी वृष्टि गराएछ । तर उपद्रव गरी अतिवृष्टि गरिदिएछ । र पृथ्वीमा भएको सम्पूर्ण चिजलाई बगाई पुनः पृथ्वप्मा जलैजल भएर शून्यतामा परिणत भएछ । त्यस बेला ¥यान्जिमो (एक प्रकारको वनस्पति बिरुवा र कतै काँसको बुट्यान भन्ने गरेका छन्)को बुटामा एक जोडी धमिरा अल्झिएर बसेछन् ।

प्रलयपछि चारैतिर हेर्दा जलमग्न शून्यतामात्र देखेछन् । यो के को दोष वा श्रापले हो यसरी प्रलय भएछ । अब दिवाल उठाएर पृथ्वीको सृजना गरौं । त्यो आकाशलाई छुवाऔं भनेर सल्लाह गरेछन् । पहिलो र दोस्रो पटकको प्रयास विफल भएछ । दिवाल भत्किएछ । आकाश छुवाउन असफल भएछन् । पुनः तेस्रो पटक दिवाल उठाउँदा विशाल पृथ्वीको उत्पत्ति भएछ । त्यसपछि दुबो, दाँदे मौलाए छ । त्यसलाई भाग चलन गर्ने किरा फट्याङ्ग्राको उत्पत्ति भएछ । त्यसरी नै दुलो, ओढार, गुफामा बस्ने, भोगचलन गर्ने जीव जनावर, अजिङ्गर आदिको उत्पत्ति भएछ । एवं तरिकाले वनजंगल, रुख बिरुवा भोगचलन गर्ने चराचुरुङ्गीको उत्पत्ति भएछ ।

त्यसपछि यस आदिम भूमिमा युरिता–पातिप्सा (दम्पती)को कोखबाट जाउ, ख्लिउ र खाक्चिलुपाको जन्म भएछ । युरिता–पातिप्साको निधनपछि सानो उमेरमै जाउ, ख्लिउ र खाक्चिलुपा टुहरा भएछन् । त्यसपछि जंगली कन्दमुल, फलफूल, झारजंगलका खाएर सास धानेछन् । त्यसरी नै सल्लाको खोटो खाएछन् । त्यसमा अरुले तीतो हालिदिएछन् । त्यसपछि गिठा, भ्याकुर खाएर बाँचेछन् । त्यो पनि थाहा पाएपछि त्यसको जरा पाताल भसाइदिएर लहरा काटिदिएछन् । बाँच्नको लागि अन्न खोज्दै गाउँ पसेर ढिकी, जाँतो ओल्टाइपल्टाइ गरेछन् । जाँतोमा अल्झिएर अलि अलि बचेको अन्नको पिठो जम्मा पारेर पेटपालो गरेछन् । यो कुरो थाहा पाएर गाउँलेहरुले सभा कचहरी बसेछन् । लौ यी टुहुरो बालबालिकाहरुले त हाम्रो जाँतो, ढिकीमा रहेको अन्न बटुलेर पो खाँदारहेछन् । अब हामी सबैले जाँतो, ढिकी उल्टापारेर राखौं अनि के खाएर बाँच्दारहछन् भनेर सल्लाह गरी उर्दी जारी गरेछन् ।

सबैले त्यसै गरेछन् । तर एकजना बहिरोले त्यो उर्दी थाहा नपाएर आफ्नो ढिकी, जाँतो पल्टाएन छ । त्यही बहिरोको घरको जाँतो, ढिकी कोट्याएर संकलन गरी ल्याएको अन्नलाई माटोको हाँडी बसाएर पकाएछन् । कैयौं दिनदेखि भोकै बसेका खाक्चिलुपा अन्न खान पाइने भयो भनेर रमाएछ । ‘जाम बुरुबुरु, जाम बुरुबुरु’ भन्दै थपडी मार्दै अँगेनु वरिपरि नाच्न थालेछ । (खाक्चिलुपाले नाचेको नाच नै खाउमो सित्लि हो । त्यस कारण खाउमो समापन गर्ने बेलामा आँगनदेखि नाच्दै घरभित्र पसेर अँगेना वरिपरि परिक्रमा गर्दै नाचिन्छ । नाचिसकेपछि नाक्सो, ङाबुचोहरुले अदुवा र जिर्मा छर्केपछि खाउमो समापन हुनेगर्दछ ।)

उता खाक्चिलुपा नाचिरहँदा उता दिदी जाउ र ख्लिउले ‘खाक्चिलुपा त्यसो नगर । अहिले हाँडी घोप्टिएर छरपस्ट हुन्छ । खान पाइँदैन भनेछन् । तर दिदीहरुको कुरोमा ध्यान नदिई खाक्चिलुपा एकोहोरो ‘जाम बुरुबुरु’ भन्दै नाचेछ । त्यत्तिकैमा एउटा लामो अगुल्ठो कुल्चेछन् । र अगुल्ठोको धक्काले हाँडी घोप्टिएर उम्लिदै गरेको खानेकुरा पोखिएछ । दिदीहरुले खाक्चिलुपा हामीले अघि भन्दा सुनेनौ । टेरेनौ । बल्लतल्ल जम्मा पारेर तुल्याएको भोजन पनि घोप्ट्यायौ । अब के खानु ? भनेर कराएछन् । खाक्चिलुपा रोयो । हिक्का छोड्दै रुँदारुँदा त्यहीं निदाएछ । दिदी दुईले हाम्रो भाइ के भयो भन्दै मुखामुख गरेछन् । उठाउँदा उठेन । भाइले मृत्युवरण गरेछ भन्ठानेछन् । भनेछन्– लौ एकजना भएको भाइ माइतीको मुख हेरेर बसेका थियौं । मरेछ । अब हामी यहाँ बस्नुको औचित्य सकियो । बस्ने आधार रहेन । त्यसैले यो ठाउँ छाडेर अन्त कतै जाउऔं भनेर सल्लाह गरेछन् । अब हाम्रो भाइको प्रतीक बनाऔं भनेर सल्लाह गरेछन् । र चिण्डोको टाउको गोगनको करङ र ढोंडको नलिहाड बनाएर छोडिदिउँ भनरे मत गरेछन् । र अन्तमा छुट्टिने निधोमा पुगेछन् ।

अन्तमा दिदीले भनेछन्– म अब स्वायोखा दक्षिणतिर जान्छु । तिमी नियोखा उत्तरतिर जाऊ । मामा गाउँ पर्छ । कुनै दिन यही ठाउँमा भेट गर्नुपर्छ भनेछन् । तर, को अगाडि जाने भन्ने भएछ । दिदीले बहिनीलाई तिमी पहिले जाऊ । बहिनीले दिदी पहिले जाऊ भन्ने भएछ । अन्तमा बहिनीले दिदीलाई अगाडि प्रस्थान गर्नु पर्ने भनेछ । दिदी नै पहिले बाटो लागी छन् । जानुभन्दा पहिले दिदी–बहिनीले जाई र जुही फूल (आत्मपूmल) र तान बुन्दा प्रयोग गरिने ठोकौनी एकअर्काको चिनो कायम गरी लिएर जाने र आआफ्नो आँगनभन्दा उत्तरतिर फूलबारीमा रोपेर राख्ने बाचा गरेछन् । फूलमा हरियाली रहेसम्म आफ्नो दिदी वा बहिनी सन्चै छ । यदि फूल ओइलायो र चिनो ढलेको पाए अशुभ भयो भनेर बुझ्नु पर्ने भनेर वाचा गरेछन् ।

त्यसरी बहिनीको ढिपीबाट आजित भएर दिदी जाउमोले आफ्नो सम्पूर्ण गहनागुरियाले सजिएर महाभारत नाघेर दक्षिणतिर गइछन् । घरजम गरेर बसिछन् । यता बहिनी ख्लिउमोले दिदीको आज्ञा नमानेकोले आत्मादोष लाग्यो । तीन पटकसम्म उडेर जाने प्रयास गर्दा पनि सफल भइनछन् । प्वाँख झरेको झरेइ भएछ । (त्यसैले वाम्बुले समुदायमा कान्छोलाई बाटो हिंड्दा अगाडि लगाउने चलन छ ।) र साँझ परेपछि क्वा¥वाक्वारसो (राजपंखी) कराउन थालेछ । ख्लिउमोले उहिले हाम्रो बा हुँदा तिम्रो गिदी काँसे डाडुले पस्केर खान्थ्यौं । भन्दै जिस्काएछ । उता क्वा¥वाक्वारसोले भने मलाई नजिस्काऊ है भान्जी अहिले खाइदिऊँला भनेछ । तर ख्लिउले तीनपटकसम्म जिस्काइसकेपछि बाध्य भएर क्वा¥वाक्वारसोले खाएछ । त्यस बखत सारा धर्ती थर्किएछ । बहिनीले दिएको चिनो ढलेछ । जुही फूल ओइलाएछ ।

दिदीबहिनी छुट्टिनुभन्दा पहिले बेला बेलामा जाउजुममा भेट्ने बाचा गरेका थिए । त्यसरी अप्रिय घटनाको संकेत पाएर जाउमोले जाउजुममा हेर्न आएछ । बहिनीको आत्माफूल ओइलाएको देखिछन् । त्यसपछि बहिनीलाई खोज्दै माइती गाउँ पुगेछन् । तर त्यहाँ पनि बहिनीलाई नपाएर चिन्तित भइछन् । जाउले क्वा¥वाक्वारसोलाई मेरो बहिनीलाई देख्नु भएन मामा ? भनेर सोधेछन् । तर छट्टु क्वा¥वारसोले ‘अहँ देखिन भान्जी’ भनिदिएछन् । तीन वाक्यसम्म पनि देखिन भनेपछि त्यसलाई पक्कै थाहा छ । मलाई ढाँटेको हो भनेर जुक्ति निकाले छन् । लौ त्यसो हो भने हामी मामा–भान्जी दुवैजना एकपल्ट बेस्सरी हाँसौं भनेछन् । त्यसरी हाँस्दाखेरी क्वा¥वाक्वारसोको दाँतमा आफ्नो बहिनीको केश अल्झिएको देखेछन् । त्यसपछि जाउले मामा मेरी बहिनीलाई तिमीले खाएछौ । पक्कै हाड, छाला सबै त खाएनौ होला । यसो उसको चिनो, दुमो होला, कहाँ छ ? भनेर सोधेछ ।

क्वा¥वाक्वारसोले भनेछ– ‘हाम्रो बा हुँदा काँसको डाडुले तिम्रो गिदी खुर्केर खान्थ्यौं भन्दै जिस्काइरहिन् । मैले दिएको चेतावनी बेवास्ता गर्दा तीन वाक्यमा ऊ हारेकोले मैले खाएँ । आहारा बनाएँ । तर मलाई खाए पनि मेरो चिनो राखिदिनु भनेको हुनाले ऊ त्यो धोद्रोमा राखिदिएको छु’ भान्जी भनेछ । त्यसपछि जाउले हेर्न जाँदा साँच्ची नै रुखको धोद्रोमा बहिनीको हाडछाला रहेछ । त्यसलाई लिएर घरमा गएछ । नुन, तोरीको तेल छुवाएर चोख्याएर ख्वार्बु (काठको सानो आरी प्याला आकारको)मा राखेर मुन्धुम विधि फलाकेर राखि छोडेर आफू चाहिं खानपिनतिर लागेछ । चुला चौका गर्दै रहँदा बाहिर कसैले तान चलाएको आवाज सुनेछ । ए कसले मेरो तान चलाइदिएको ? अहिले बिगारौला है भनेर आफ्नो काममा मात्र ध्यान दिएछन् । दोस्रो पटक पनि आवाज सुनेर नचलाउन भनेछन् । तर फेरि पनि आवाज आएपछि को रहेछ अटेर गर्ने भनेर हेर्न गएछन । त्यतिखेर अटेर गर्ने त आफ्नै बहिनी ख्लिउ पो तान बुन्दै रहेछ । दिदी भित्रबाट निस्केको देखेर भनेछ, ‘ओहो दिदी म त भुसुक्कै निदाएँछु ।’

दिदीले कुरो त्यसो होइन । तिमी अगाडि जाऊ भन्दा मानिनौ र म अघि लागेर गएकोले तिम्रो शिर ढल्यो । त्यसकारण वाचा बन्धनमा हारेकोले क्वा¥वाक्वारसोले तिमीलाई खाइदिएछ । र मैले तिम्रो चिनो हाडखोर पत्तालगाएर मुन्धुम विधि गरेर तिमीलाई पुनःजिवित गराएको हुँ । अब यो जाउजुमदेखि तिमी मावली देशतिर गएर बस्नु । म माइती देशतिर गएर बस्छु भनेछन् ।

तर यता खाक्चिलुपा भने रोएर हिकहिकाउँदै निाएको थियो । पछि निद्राबाट ब्युँझिदा दिदी दुई कोही पनि देखेनन् । सुनसान थियो । त्यसपछि भौतारिदै हिंड्दा सानो फलामको टुक्रा भेट्टाएछ । त्यसलाई बल्छी थापेर माछा मारेर जिविकोपार्जन गरेछ ।

उता बाह्रजना दिदीबहिनी सबैको बिहेबारी भएर कान्छी बहिनी रिनाखाको बिहे हुन सकेनछ । र उनको आमाले भाले र बिरालो, चिउरा आदि कोसेली बोकाएर लामो लौरो थमाएर दुधकोसी, सुनकोसी नदीमा तिम्रो मामामावली छन् । त्यहाँ जानू । बाटोमा बिरालो कराएपछि बास बस्नु । भाले बासेपछि उज्यालो भयो भनेर थाहा पाउनु र उठेर मावली गाउँ प्रस्थान गर्नु । जाँदाखेरी बाटोमा गोज, जलकपुरहरुले दुःख दिन आए भने जिर्मा, अदुवाले छर्किदिनू । असला, सहरहरुले दुःख दिए भने चिउराले हानिदिनू । र उनीहरु अलमलिदा तिम्रो शिर उभ्याउनी लौरा गाड्दा जहाँनिर गाडिन्छ त्यहीनिर मामाघर रहेछ भनी डुबुल्की मारेर मामाघर पुग्नु । आमाले अर्ती दिएछन् ।

त्यसैअनुसार सत्य साँचो हुँदा मामाघर, धनपति, गनपति, बासुकी नाग, नगेनीको बालबच्चाहरुले मनुवाको गन्ध आएको थाहापाए । त्यतिखेर आमा बाबुले त्यो त सबै भान्जीहरुको बिहेदान भएर कान्छी बहिनीको बिहेदान नभई बसेको थियो । सायद भान्जीको आगमन भएको होला । खोई हेर्न जानू भनेर अराएछन् । खोजी गर्दा मामाको घरको कुलेसोमा रिनाखा बस्दै गरेको देखेछन् र ए भान्जी यतै आउनु । यहाँ सँगै बसौं भनेछन् ।

रहँदा बस्दा एकदिन घर आँगन बढारकुढार गर्दा माइजुले रगतको थोपा देखेछन् । र लौ हाम्रो भान्जी त नहुनु पो भएछ । अब यहाँ हामीसँग खाएर बसेर नहुने भयो । कुटुम्बको जिम्मा लगाउनु पर्छ भनेछन् । अनि नाग नगेनीले सल्लाह गरेछन् । र भान्जी अब हामीसँग यहाँ रहेर बसेर नहुने भयो । अब तिमीलाई हामी अन्माएर पठाइदिन्छौं । गएर त्यो धर्तीमा दुधकोसी, सुनकोसीमा बल्छी खेलेर जिविकोपार्जन गर्ने खाक्चिलुपा छ । उसको बल्छीमा लोहोरो ढुंगा भएर अडिनु र ऊसँग घरजम गरी सृष्टि थाम्ने हुने भनेर उपदेश दिएछन् ।

खाक्चिलुपाले सधैझैं बल्छी थाप्न गएछ । बल्छीमा माछा नपरेर लोहोरो अल्झिएर आएछ । केको उपद्रव भन्दै चुँडाएर फालेछ । र मास्लो घागीमा गएर थाप्दा फेरि त्यही लोहोरो ढुंगा नै परेछ । फेरि पनि फालेर अर्को घागी छहरामा बल्छी थापेछ । त्यहाँ पनि त्यही लोहोरो ढुंगा परेछ । तीनचोटि पनि त्यही लोहोरो ढुंगा परेपछि त्यसैलाई लिएर नुन, खोर्सानी पिस्ने काममा उपयोग गर्छु भनेर घर लिइगएछ । लोहोरोलाई अगेनु माथिको चोयाको भारमा राखेछ । भोलिपल्ट फेरि बल्छी थाप्न गएछ । फर्केर आउँदा चुलाचौका गरी भाततिहुन तयार भएको पाएछ । त्यही भाततिहुन खानपिन गरी आफ्नो काम धन्दामा लागेछ । अर्को दिन फेरि बल्छी थाप्न गएर फर्किदा त्यसरी नै भाततिहुन तयार गरी राखेको अवस्थामा पाएपछि यो घरमा को छौ ? यसरी मेरो दुःख बुझिदिने, मेरो चुलाचौका गरिदिने ? भनेर सोधेछ ।

त्यसरी सोध्दा कुटुनी बजुले ‘तिम्रो हाँसजोर, परेवाजोर (जोडी) कन्याजोर छ नाति । एक दिन आफ्नो काममा हिंडेजस्तो गरेर दैलो ढप्काएर नाङ्लोले आफूलाई छेकेर दैलोको बाहिरपट्टि बस्नु । त्यस बेला उसले कुचोले घर बढार्दै आउँनेछ र नाङ्लो हटाउन खोज्दा उसलाई समाएर दुःख, सुख सुनाउनु । फकाउन र घरजम गर्नु ।’ भनेर सम्झाएछन् ।

साँच्चै नै खाक्चिलुपाले हिंडेजस्तो गरेर मूलढोकाको बाहिरपट्टि नाङ्लोले आफूलाई छलेर बसेछ । त्यत्तिकैमा अँगेना माथिको भारबाट आफूले राखेको लोहोरो ढुंगा भूइँमा खसेछ । कन्या रुप धारण गरी कुचोले घर बढार्दै बाहिर निकाल्ने बेलामा उक्त नाङ्लो पन्छाएर कुचो लाउन खोज्दा खाक्चिलुपाले पाखुरामा च्याप्प समाएर ‘तिमी को हौ ? मेरो दुःख बुझ्ने रहिछौ । अब हामी घरजम गरेर बसौं ।’ भनेछ ।

त्यतिखेर कन्याले भनिछ– ‘पहिले तिमीले मलाई हेला घृणा ग¥यौ । फलाना घागी भँगालोमा फाल्दा मेरो गहनागुरिया चुँडियो । अर्को भँगालोमा फाल्दा मेरो कपडा च्यातियो । त्यस कारण अब म तिमीसँग गृहस्थी जीवन बसाउन सक्तिन ।’

त्यसपछि खाक्चिलुपाले त्यसो भए तिम्रो लागि गहना गुरिया पनि किनिदिन्छु । लत्ताकपडा पनि हालिदिन्छु । तिमीले मेरो दुःख बुझिदिनु । हामी हाँसजोर, परेवाजोर भएर बाँचौं भन्दै फकाएछ । तीन वाक्यसम्म पनि खाक्चिलुपाले ढिपी कसेपछि रिनाखाले सोचेछ कि कन्याजोर (कुमार)को वचन काटें भने उसको पाप र श्राम पो लाग्छ कि ? त्यसपछि राजी भएर बिवाह बन्धनमा बाँधिएछन् ।

त्यसपछि रिनाखाले अब त्यो दुधकोसी, सुनकोसी नदीमा बल्छी जाल खेल्न नजानु । त्यो मेरो मावली गाउँ हो । लाज सरम हुन्छ । अब जंगल गएर गोगन इत्यादि लिएर आउनु । त्यसबाट डोरीको आविस्कार गरेर लिसोपासो थाप्नुपर्छ भनेर अराएछ । पहिलो र दोस्रो पटकमा पनि खाक्चिलुपाले अन्य झारजंगल मात्रै ल्याएछ । र तेस्रो पटकमा चाहिं गोगनसहितको एक भारी जंगल लिएर आएछ । र त्यही गोगनको लहरा बोक्रालाई उसिनेर डोरीको आविस्कार गरी पासो थाप्न खाक्चिलुपालाई रिनाखाले सिकाएछन् । पठाएछ ।

भोलिपल्ट बिहान खाक्चिलुपा अगेनुको दुईतिर खुट्टा फारेर आगो तापेर बसेछ । रिनाखाले सोधेछ । ए खाक्चिलुपा पासोमा केही परेन छ ? तिमी त मौन छौ भनेर सोधछ । ‘तिमीले के सिकायौ र ? खोई कसले हो कुन्नि बाख्रा बोका परेछ । अब हाम्रो उठिबास हुने भयो’ भनेछ । त्यसपछि रिनाखाले खोई त्यसो भए गएर पुच्छर काटेर लिएर आउनु भनेछ । गएर लिएर आउँदा त्यो त जंगलमा विचरण गर्ने मृग रहेछ ।

‘खाक्चिलुपा लिएर आउनु । यसले हाम्रो छाक टार्नुपर्छ’ भनेर अराएछन् । अर्को पटक पनि त्यसरी नै मौन बसेको देखेर रिनाखाले सोध्दा ‘खोई तिमीले गर्दा कसैको सुँगुर परेछ । अब हाम्रो उठिबास हुने भयो’ भनेछ । फेरि रिनाखाले गएर त्यसको कान काटेर ल्याउनु भनेछ । खाक्चिलुपाले कान काटेर लिएर आउँदा त्यो त बँदेल पा रहेछ । त्यसले पनि आफ्नो छाक टारेछन् ।

त्यसपछि तेस्रो पल्ट पनि त्यसरी नै सोध्दा ‘खोई कसको परेवा परेछ अब हाम्रो उठिबास हुने भयो’ भनेछ । गएर त्यसको प्वाँख लिएर आउनु भनेर अराएछन् । खाक्चिलुपाले प्वाँख लिएर आउँदा त्यो त ढुकुर रहेछ । ‘लौ खाक्चिलुपा यो त भोट–मधेस गर्ने ढुकुर रहेछ ।’ त्यसको गाँड फोरेर हेर्दा एक दाना धान, एक दाना कोदो रहेछ । अब यसलाई आगोले नछुवाइ बिजन जोगाएर राख्नुपर्छ र कर्म (खेती) गर्नु पर्छ भनेर सल्लाह गरेछन् ।

साल सम्वत् फेरियो । रुख बिरुवाको मुना पलायो । प्रकृतिले वर्षात् गराइन् । दुधकोसी, सुनकोसीमा जलकपुर, असला माछाहरु उँभो लागे । अब खुर्पा, कोदालो दिन्छु । गएर टाङमुनिबाट पछाडितिर ढुंगा फाल्नु । जहाँ पुग्छ त्यही समय खोरिया फाँड्नु र त्यही खेती गरौला भनेर रिनाखाले अर्ती दिएछ । (त्यसरी ढुंगा फाल्दा ढुंगा अडिएको समयको जमीन थोरै लागेपछि अलि परसम्म फाँडेछ । त्यस कारण पुरुष मान्छे अंशमा लोभी भएको भन्ने भनाइ छ ।)

त्यसरी भस्मे फाँडेर खेती गरेछन् । धान, कोदो (अन्नबाली) फलेर उठाउँदाखेरी पूरै भकारी भरिएर ओखाई पोखाई भएछ । त्यसपछि लौ खाक्चिलुपा अब एउटा घर पनि निर्माण गरौं । जंगल गएर खाँबा इत्यादि काटेर ल्याउनु भनेर अराएछन् । तर खाक्चिलुपाले खाँबा नल्याएर चोक नभएको बलौ जस्तो मात्र लिइआएछ । त्यसपछि रिनाखाले ‘ए खाक्चिलुपा तिमी त सारै मूर्ख सीप ज्ञान नभएको पो रहेछौ । त्यो लिब्जु पर्वतमा गएर त्यहाँ विचरण गर्ने चिबे चराको पुच्छर हेर्नु र त्यस्तै खालको रुख काटेर खाँबा लिइआउनु । लामपुच्छ«े चरोको पुच्छर हेरेर त्यस्तै लामा बलो काटेर ल्याउनु’ भनेछ । त्यसपछि रिनाखाको सल्लाअनुसार खाँबो, बलो काटेर ल्याएछ ।

त्यसपछि खाँबा गाडेर घर बनाउने भएछन् । खाल्डो खनेर खाँबा गाड्न खोज्दा ढलेछ । तीन पटकसम्म पनि ढलेपछि रिनाखाले सघाउन पुगेछन् । खाँबा उचालेर खाल्डोमा राख्नमात्र लागेका थिए, रिनाखाले ढाँडमा बोकिरहेकी चाम्लेवा अर्थात् वाइलिङ्मो नामकी नाबालिका छोरी खसेर खाल्डोमा खाँबोमुनि गाडियो । उतिखेरै नयाँ घर तयार भयो । (त्यही बेलादेखि किरातीले नयाँ घर बनाउँदा बलि दिएरमात्र सुरु गर्दछन् भन्ने छ ।)

समय बित्दै जाँदा दम्पतीले दुःख बिमार भएछ । त्यसपछि रिनाखाले जोखाना हेर्दा त्यस घरमा खाक्चिलुपाको आमा बाबुको देहान्त भएपछि बर्खान्त नगरिएको र उनीहरुको एउटी छोरीको पनि घरको निर्माणसँगै निधन भएको हुनाले मृतात्माहरुको नाममा पित्रीकार्जे गर्नुपर्ने देखे । तर चोखो जाँड बनाउँदा सफल नभएपछि रिनाखाको सल्लाह बमोजिम ब्याल्जाम (एक प्रकारको झार), सर्पको विष, बाघको दुध आदि खाक्चिलुपाले जुटाएर मर्चाको आविस्कार गरेपछि जाँड बनाएपछि खाउमो सम्पन्न गरे । तर पनि दुःख बिमार नहटेपछि छोरी चेलीको उपस्थिति नभएकाले सो कार्य अपुरो रहेको निष्कर्षमा पुगेपछि रिनाखाले ‘तिम्रो दिदीबहिनी पनि थिए कि ?’ भनेर खाक्चिलुपालाई सोधिछन् ।

खाक्चिलुपाले खोई सपना जस्तो लाग्छ दुईजना दिदीहरु थिए भनेर सम्झेछ । त्यसपछि उनीहरुलाई निम्तो दिने सोचे छन् । त्यसपछि भोट र मधेसतिर समाचारी पठाउने भएछन् । जहाँ भोटतिर जाउमो र मधेसतिर ख्लिउमो थिइन् । खोज्नको निम्ति जुम्रा र उपिया पठाएछन् । तर तिनहिरु जाउ र ख्लिउको पोल्टामा गई बसेछन् । टोकेपछि मारिदिएछन् ।

त्यो नफर्केपछि भाले र बोकालाई पठाएछन् । ती भाले र बोका गएर जाउ र ख्लिउको बिस्कुनमा उपद्रव गरी दिएछन् । र धपाउँदै जाँदा खाक्चिलुपा–रिनाखाको घर आँगनमा पुगेछन् । पहिलो जाउ र पछि ख्लिउ पुगेछन् । तर जाउ भने गर्भवती भएकीले सिधै माइतीको घर आँगनमा बस्न जाने आँट नगरी माथि माथि उडिरहेछ । त्यो कुरा रिनाखाले चालपाएपछि माढाम (एक प्रकारको अमिलो फल भकिम्ला भनिन्छ रुख) ल्याई आँगनमा बिछ्याइ दिएपछि त्यहाँ जाउको आगमन आशन भएछ । त्यसपछि चाक्कासेरा मुढामसोले जाउमोको स्वागत सत्कार गरेछन् ।

त्यसपछि रिनाखाले भनेछ । खाक्चिलुपा अब तिमीलाई नाङ्लो, डालो, चिन्डो, अदुवा, जिर्मा आदि सामग्री जुटाइ मुन्धुम गाएर नाक्सो बनाइदिन्छु । उठाइ दिन्छु । अब नाक्सो उठ्नु है भनेछ ।

अब यहाँ के छ भने सामग्रीमा चोखो जाँड, जिर्मा, चाक्कासेरा, मुढामसोहरु छन् । नाङ्लो, डालो, खुँडा, पिरा, पगरी सबै थोक छन् । यो नाक्सो उठ्ने रीत हाम्रो पुर्खाले गर्दै ल्याएको रीत सबै यहाँ छ । मुन्धुम वाचनमा तलमाथि भएपनि रीत तलमाथि भएको छैन । त्यसैले नाक्सो उठ्नु भयो है । र सधै पितृकार्जेमा तपाई नाक्सो उठ्ने हुनु । हामी जजनमान पनि छौं । अहिले मुन्धुम गाएर पूजा विधि गर्दा बाधा अड्चन नहोस् । समय सालमा यस्तै शुभकार्य सम्पन्न गर्ने नाक्सो उठ्ने हुने है ।

यसरी खाक्चिलुपा र रिनाखा किराती सभ्यताको पहिलो पहिचायक पुर्खाका रुपमा लिने गरिन्छ ।

(यो मुन्धुम संकलन २०६३ सालमा ओखलढुंगा, मानेभन्ज्याङ–५ उदयपुर गाउँका कर्णबहादुर राईको घरमा सम्पन्न फुरिखाउमोमा रेकर्ड गरी संकलन गरिएको हो । मुन्धुमी कर्णबहादुर राई (म्याउरा), सिरे राई (ग्वान्ठोले), ध्यानसिं राई (बनढाडे) र मकनध्वज राई हुनुहुन्छ । वाम्बुले भाषामा संकलित मुन्धुम गणेश वाम्बुले राईले लिखित रुपमा उतारेर शुभराज राई (काजी)ले खसनेपालीमा अनुवाद गर्नु भएको हो । यो मुन्धुम नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘सयपत्री’ अर्धवार्षिकमा वाम्बुले र खसनेपाली अनुवादसहित छापिएका जानकारी गराइन्छ ।)

Leave a Reply

Your email address will not be published.