ढ्वाङकुम– ढ्वाङकुमको अर्थ किराँती, विशेष गरी वाम्बुले राईहरूले जेठ पूर्णे (धुलेपूर्णे) को दिन भूमि पूजा (भूमे सामा) गरिसकेपछि प्रकृतिसँग वर्षा पार्ने आशिष र भूमिबाट अनुमति मागी अन्नबाली छर्ने, लगाउने, बर्खे बाली, विशेष गरी मकै र कागुनी (काउनी) पाकिसकेपछि समाज र समूहबाट सामुहिक रूपमा एउटा थुममा जमघट भई प्रकृति, भूमि र सिमलाई आभार प्रकट गर्दे, समाजको कुलपितृ, सिकारी, ब्याखारी (सिसी) सबैलाई उक्त पवित्र स्थलमा चाडको हर्ष, उल्लासको रूपमा निमन्त्रणा गरी सर्वप्रथम वाम्बुलेहरूको सर्वमान्य परमेश्वर लिब्जु उपो त्यसैगरी भुम्जु र दिब्जु उपोलाई प्रसादको रूपमा चढाउँदै सदासर्वदा सबै उपो प्रकृति, भूमे सिमे, सिकारी, कुल पितृहरूको वाम्बुलेहरू माथि कृपा अक्षुण्ण रहिरहोस् भनेर कामना गर्ने दिन र चाडलाई ढ्वाङकुम भनिन्छ । उक्त दिनको पूजापछि मात्रै किराती वाम्बुले राईहरूले आफ्नो बारीमा फलेका, पाकेका अन्नबालीलाई व्यक्तिगत रुपमा ग्रहण गर्न सक्दछन् ।
टार– टारको यकिन अर्थ वाम्बुले राई भाषाको शब्दकोशमा भेटिदैन । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशमा ‘टार’ भन्नाले बेंसीभन्दा केही माथि पहाडमा अवस्थित सम्म थलो जस्तै– रुम्जाटार, तुम्लिङ्गटार भन्ने अर्थ भेटिन्छ । त्यसैले निःसन्देह यो शब्द खस नेपाली भाषाबाट ल्याइएको आगन्तुक शब्द हो भनेर स्विकार्नु पर्दछ । नामले नै ऐतिहासिक महत्व र पृष्ठभूमिको परिचय दिन्छ भन्ने कुरामा दुईमत छैन ।
यहाँ यत्तिका भूमिका र यस लेखको शीर्षकलाई कहाँ जोड्न खोज्दैछु भने, हिन्दु धर्म अनुसार तिथिले ऋषि तर्पणीको दिन अर्थात् जनै पूर्णिमाको दिन ढ्वाङ्कुम पूर्णिमा पर्दछ । र यसको इतिहासको कुरा गर्ने हो भने शताब्दीऔं अघिदेखि यस दिन किराती वाम्बुलेहरूले ढ्वाङ्कुम मनाउँने क्रममा वाम्बुले राईहरूको इतिहास भनौं वा किंवदन्ती भनौं सर्वप्रथम ओखलढुंगा जिल्लाको लिब्जु थुम्कामा ढ्वाङ्कुम पूजा गर्ने र मनाउँने गरेका थिए । उक्त थुम्कामा काटमार अशुभ रहेको वा तात्कालिन राज्यबाट काटमार निषेधित भएको कारणले हाल वाम्द्याल (उँबु) गा.वि.स.को थोप्लोम गाउँको साम्फा¥याम डाँडामा सारियो । त्यहाँ पनि विभिन्न प्राविधिक कठिनाइले गर्दा वाम्द्याल (उँबू) को वडा नं. ३ खत्रीगाउँको पश्चिम र डाडद्यालको उत्तरमा अवस्थित डाँडा जस्तो तर सानो टारमा सारियो । त्यो ठाउँमा निरन्तर शताब्दीऔं अघिदेखि जुन बेला वाम्द्यालमा खत्री (क्षेत्री जाति) हरूको नामोनिशानसम्म नरहँदा र उक्त ठाउँको नाम खत्रीगाउँ स्थापित नहुँदादेखि नै वाम्बुले राईहरूले आफ्नो पवित्र उद्देश्यले सांस्कृतिक र धार्मिक रुपमा ढ्वाङ्कुम मनाउँदै आएको कारणले ढ्वाङ्कुमटार नाम रहेको तथ्य धु्रव सत्यभन्दा अर्को हुनै सक्दैन ।
आज ठुला–ठुला संगठनको कुरा गर्ने हामी जनजाति त्यसमा पनि विशेष गरी किरातहरु जो चाहिं संगठनको डरलाग्दो नारा घन्काएर सबैभन्दा असंगठित प्राणीमा पर्ने राईहरू जसमा वाम्बुले पनि पर्दछौं । सत्य र सामथ्र्यको शत्रुसँग नभइ, घरभित्र, दाजुभाइभित्र र आफ्नै समाजभित्र गलत प्रयोग गर्ने क्रममा तात्कालिन राणा शासनबाट गुथाइएको राई, जिम्वाल, गौरुङ्ग, कारबारी जस्ता सामथ्र्यवान तर कुटिल र मुर्ख गाउँस्तरका छोटे रजौटाहरूको आन्तरिक मनमुटावको दौरानमा आफू अनुकुल स्थान र मानव संसाधनलाई प्रयोग गरी टुक्रिने र टुत्र्mयाउने क्रममा हाल स्थापित अन्य ढ्वाङ्कुमस्थल, थुम र स्थानमा ढ्वाङ्कुम मनाउँदै आएका छौं तर बसाँइसराइको क्रममा नयाँ स्थानमा स्थापित ढ्वाङ्कुम सामा स्थानको भने सराहना गर्नै पर्दछ ।
बडो विडम्बनाको कुरा के होे भने ०६७ चैत्र ११ गते मेरो मावली हजुरआमाको आकस्मिक देहान्तपछि मेरो जन्मथलो वाम्द्याल–रिनुवाल पुगें । त्यसअघि २०६५ मा पनि पुगेको थिएँ । पछिल्लो पटक जन्मस्थल यात्रा अलिकति फरक नै रह्यो । वाम्बुले राई समाजको केन्द्रीय कोषाध्यक्षको हैसियतले व्यक्तिगत विपत्तिमा मात्रै संलग्न हुन नगई सामाजिक जिम्मेवारी पनि लिएको हुँदा वाम्बुलेहरूको पवित्र धार्मिक र सांस्कृतिक थलोको अवलोकन गर्न मन लाग्यो । यसै क्रममा मुल ढ्वाङ्कुमटार गइयो । जहाँ २०४५ सालमा कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा विद्यालय प्रथम र जिल्ला द्वितीय भएको राज्य लक्ष्मी मा.वि अवलोकन गरेँ । सधैँ सहजताका साथ पुगिने ढ्वाङ्कुमटार विद्यालयले लगाएको पर्खालको ढोकाबाट मात्र प्रवेश गर्र्न सकिँदो रहेछ । विद्यालयको भौतिक निर्माणहरूको निकै प्रगति देखियो । ढुङ्गा र माटोको सट्टा ढुङ्गा, बालुवा, सिमेन्ट, रडको भवन, खरको छानाको सट्टा रंगिन जस्तापाता, जस्ताको छानामाथि सोलर प्यानलहरु र विद्यालयमा कम्प्यूटरको पहुँच देखेर निकै हर्ष र खुशीको अनुभूति भयो । प्रविधिको उपभोग विद्यार्थीले गर्ने र शिक्षकले गराउँने क्रममा विद्यार्थीको गुणस्तरमा कत्तिको सुधार र सक्षमताको परिणाम आउँदैछ त्यो हामीले अनुभव गरिरहेका हौंला ।
उक्त विद्यालयको पर्खालसँग जोडिएर वाम्बुलेहरूले ढ्वाङ्कुम पूजा गर्ने स्थान जहाँ पहिले वरिपरि ढुङ्गाको पर्खाल लगाइएको थियो । त्यसलाई वाम्बुलेको धार्मिक आस्था, श्रद्धा र महिमा बोकेको ढ्वाङ्कुम सामा स्थानलाई छेक्ने गरी बडेमानको पर्खाल लगाएर परिसरभन्दा बाहिर पारिएको रहेछ । त्यसैको ठिक अघिल्तिर विद्यालयको कम्पाउण्ड भित्र उत्तर–पूर्वमा मन्दिर स्थापना गरिएको रहेछ । ‘त्यो के को मन्दिर ?’ सवालको जवाफ एक शिक्षकले भने, ‘सरस्वतीमाताको ।’ म त झन् तीन छक्क परेँ । स्कूलको पर्खाल र सरस्वतीमाताको मन्दिरले वाम्बुले राईहरूको धरोहर ढ्वाङ्कुमटार र सामाहरूलाई त धकेल्दै, मिच्दै, थिच्दै र अस्तित्व सिध्याउँदै त्या¥याप डाँडाको ओरालो लगाएर रोम्दुखोलातिर लखेटिरहेको रहेछ । निरीह ढ्वाङ्कुमटार र सामाहरु पाखाको डिल पाखामा रुँदै चिच्याउँदै ‘म लड्न लागेँ, बचाउ वाम्बुले राईहरू, मलाई बचायौ भने तिमी बाँच्छौ, तिम्रो इतिहास बाँच्छ र तिम्रो संस्कृति, धर्म र अस्तित्व बाँच्नेछ । म सकिएँ भने तिमी पनि सिद्धिन्छौ ।’ भन्दै चित्कार अनुभूति गरेँ । मेरो नसा गल्यो । आँखा रसायो । र आफैले आफैलाई धिक्कारेँ पनि ।
स्कूलको पर्खालभन्दा बाहिर पारिएर करिब ८÷१५ फिटसम्मको पाखा डिलमा वाम्बुलेहरूले लगेर पूजामा चढाउँने जाः हेपा (काउनीको भात) को टोलुम राख्ने ठाउँ दिइएको रहेछ बाँकी सबै पाखोमात्र । राज्यबाट स्थापित जिल्ला शिक्षा कार्यलयको विद्यालय भवनले केको शक्तिमा यति साह्रो वाम्बुले राईहरूको ऐतिहासिक पवित्र स्थललाई सिध्याउँन तम्स्यो ? २०१७ सालमा स्थापित विद्यालयले ढ्वाङ्कुम् सामास्थल र बाँकी रहेको सानो वन पनि पर्ति जग्गा कायम गरेको रहेछ । स्थानीय वाम्बुले शिक्षक, नेताहरूसँग यो अन्यायपूर्ण अतिक्रमणको विषयमा बुझ्दा ‘हामी केही गर्न सक्दैनौं, सरकारी सम्पत्ति माथि’ भन्ने निराशाजनक उत्तर पाइयो ।
अब सारा संस्कृति, भाषा, इतिहास, धर्म, समुदायप्रेमी वाम्बुलेहरू माझ यो लोकप्रिय ‘लिब्जु–भुम्जु’ पत्रिकामार्फत् केही प्रश्न गर्न चाहन्छु ।
क) २०१७ सालमा स्थापित विद्यालयले हजारौं वर्ष अघिदेखिको वाम्बुलेहरूको ऐतिहासिक विरासतमा उभिएको थातथलो र थुम ढ्वाङ्कुमटारलाई यसरी नियोजित ढंगले हडप्नु र विस्थापन गर्न पाउँने अधिकार यस राज्यको कानून र अन्तर्राट्रिय कानूनले दिएको छ त ? यदि दिएको छ भने कसरी दियो ? त्यसको अनअुसन्धान गर्ने कि नगर्ने ? यदि दिएको छैन भने हामी वाम्बुलेहरुले आफ्नो थाकथलोहरुलाई गुमाइरहेको अवस्थामा कानुनी प्रावधानको अनुसन्धान गरी आफ्नो अधिकार प्राप्तिको निम्ति प्रयत्न गर्ने की नगर्ने ?
ख) के वाम्बुले राईहरूको ऐतिहासिक पवित्र स्थल राज्यको सम्पदा होइन ? राज्यले राष्ट्रिय कानुनअनुसार यस्ता ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका थलोलाई पुनःस्थापना गर्ने कि नगर्ने ? यसको संरक्षण गर्न वाम्बुले राई राष्ट्रिय र अन्तर्राष्ट्रिय अदालत सम्म पुग्नुपर्र्छ ?
ग) ‘तिमी सहँदै जाऊ म अन्याय गर्दै जान्छु । जति अन्याय सहन्छौ, म तिमीलाई सिध्याउँदै जान्छु, सिध्याइ सकेर पनि छोड्दिन ।’ जस्ता किसिमका शोषण र दमनबाट मासिदै गएको ऐतिहासिक पहिचान पुनःस्थापनाका निम्ति एकजुट हुने कि आफ्नो व्यक्तिगत पोको पन्तरोको मात्रै ध्यान दिने ?
घ) पचास हजारभन्दा बढी जनसंख्या रहेको वाम्बुलेहरूको संस्था वाम्बुले राई समाज, नेपाल(वाम्रास) केन्द्रीय कार्यसमितिलगायत ओखलढुंगा जिल्ला कार्यसमिति, प्रारम्भिक कार्यसमिति वाम्द्याल (उँबू), त्यसैगरी विद्वान, पेशाकर्मी, सञ्चारकर्मी, व्यावसायी, राजनीतिज्ञ र समाजसेवीहरूले यो गम्भीर विषयमा आफ्नो धारणा स्पष्ट पार्ने कि नपार्ने ?
ङ) नेपाल सरकारले गठन गरेको आदिवासी जनजाति जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले आदिवासी जनजातिले आफ्नो ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा परम्परागत मौलिक नामलाई कायम गर्नेलगायतको अधिकार प्रदान गरेको छ । सरोकार पक्ष र सरकारले यतातिर ध्यान दिने कि नदिने ?
च) संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) महासन्धि नं. १६९ लाई गम्भीर ढंगले अध्ययन गरी आदिवासी जनजाति किरात वाम्बुले राईहरूले आफ्नो इतिहास र अस्तित्वलाई संरक्षण तथा संवद्र्धन गर्न कानुनी उपचार खोज्ने कि नखोज्ने ?
छ) अब वाम्बुलेहरूको त्यस पवित्रस्थलमा ढ्वाङ्कुम सामास्थलको उपेक्षा गर्दै ‘सरस्वती माता दृष्टा, विणा पुस्तक धारिणी । हंस वाहना सयूक्ता, विद्या दान करोतुमे’ भन्दै चिच्याउँदै वाम्बुले विद्यार्थी लगायत सारा वाम्बुलेले पनि प्रार्थना गर्दै जाने कि ? ‘ध्याप्तिल्वाम सिसि है ब्लान्निदै, रिनुवालल्वाम सिसि है ब्लान्निदै’ भन्ने चार नाक्सोलाई त्यस पवित्र ढ्वाङ्कुम दिनमा फलाक्दै आएको मुन्धुम वाणीलाई बरकारार राख्ने कार्यलाई बुलन्द बनाउने ? कि जाँडै खानु हो, रमाइलो नै गर्नु हो, हामीलाई पाखा र बन पनि ठिकै छ भनेर मतलव नगर्ने त ? कि ढ्वाङ्कुमटारलाई ढ्वाङ्कुम पाखा कै रूपमा स्विकार्ने ? निर्णय हाम्रो हातमा छ ।
कर्मठ वाम्बुले राईहरू हो ! यो प्रश्नको निकास र सुझाव हामी सबैबाट आउनै पर्दछ ।
प्रसंग लिब्जु उपो थुम्कोकोेः
ढ्वाङ्कुमटारको नाजुक अवस्थाले हुँदाहुँदै फेरि वाम्बुले राईहरूको सर्वोच्च, सर्वमान्य आस्था र श्रद्धाको धरोहर लिब्जु उपोको वासस्थान लिब्जु थुम्कोतिर छ जनाको टोली लाग्यौं । श्रद्धा र आस्थाले मुटु ढकढक बनाउँदै पुगियो । श्रद्धा र आस्था भनेको अनुशासन पनि रहेछ । त्यहाँको स्थिति पनि ढ्वाङ्कुमटारकै जस्तो देखियो । ६ह१२ह७ फिटको पर्खालको घेराभित्र छानारहित स्थानमा हाम्रो उपोहरूलाई सीमित गरिएका रहेछन् । सुनेको थिएँ, लिब्जु उपोको सिधा माथिबाट नाघेर चराचुरुङ्गी र हवाईजहाज पनि उड्न सक्दैनन् भने त्यस ठाउँमा बद्मासीको त कुनै गुञ्जायसै हुन सक्दैन भन्ने ठान्थे तर उक्त पर्खाल बलबहादुर राई मन्त्री हुँदा वाक्सा गाविसका एक स्थानीय नेताले टेन्डर पारेर निमार्ण गरेको टोलीका साथी मेडल राईले जिकिर गर्नुभयो । २०५५ सालमा म बेलायती सेनामा भर्ती हुन खोज्दा मेरो मनोकामना पूरा होस् भनी त्यहाँ पुग्दा त्यो पर्खाल थिएन । त्यसको अर्थ उक्त पर्खालको उमेर एक दशकभन्दा बढी हुन सक्दैन । तीन वटा अग्लो ढुङ्गाको थान र छेउ–छेउमा अरु ढुङ्गाले थिचेको हो या आड दिएको हो, लाई पूजाआजा गरियो । छ जना मध्ये कसैलाई थाहा थिएन । कुन चाहिं लिब्जु उपो थान हो । कुल्पे राईले दायाबाट क्रमशः लिब्जु, भुम्जु र दिभ्जुको थान हो भनेर अनुमानको भरमा भने । दक्षिण–पश्चिमबाट उत्तर–पूर्वतिर हेर्दा दायाँदेखि बायाँ होला भन्ने अनुमान गर्दै पूजा गरियो । भू–बनौटको हिसाबले दायाँ रहेको प्रथम सामाढुङ्गा चै अलि होचो स्थानमा थियो । अलि मनले नमान्दा नमान्दै बाः बीचको ढुङ्गा पो लिब्जुको हो कि भन्ने लाग्यो जुन चाहिं अरु ढुङ्गाभन्दा अग्लो भागमा र अग्लो नै थियो । अनि दक्षिणबाट हेर्दा साँच्चै भुम्जु, लिब्जु अनि दिभ्जु थुम्का पनि क्रमशः यसरी नै देखिन्छ । लिब्जु उपो वाक्सा गाविसमा पर्दछ । थुम्काको पश्चिमतर्फ थोरै भाग वाम्द्याल (उँबू) गाविस रहेको छ । उत्तरतिरको भिरालो भाग केत्तुके गाविसको पंखुगाउँ रहेको छ ।
उब्जिएका केही प्रश्न–
लिब्जुको वास्तविक धार्मिक स्थलको भू–भाग कति ? यदि त्यही पर्खाल भित्रको भू–भाग मात्र लिब्जुको आधिकारिक भू–भाग हो भने भविष्यमा किरसेपुबासीले बाटो बन्द गरेमा वाम्बुले भक्तजनहरू कसरी, कुन बाटो भएर पुग्ने ? बाँकी भु–भागमा खोटाङको ऐतिहासिक मझुवा गढी, भोजपुरको हतुवा गढीमा सशस्त्र प्रहरी बल क्याम्प र सेनाको क्याम्पले कब्जा गरेभैंm सरकारले त्यस ठाउँमा नियोजित अतिक्रमण गरेमा के गर्ने ?
काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित देवीस्थानमा पुग्न वरिपरिबाट घेरिएको सेनाको क्याम्प छ । त्यहाँ अर्धनिर्मित पक्की भवनको माझमा त्यो मन्दिर घेरा बन्दी गरिएको छ । सेनाको निर्देशनअनुसार त्यहाँ अनुशासित हुँदै पुग्नुपर्दछ । वाम्बुलेहरूको महान् धार्मिक थलो लिब्जुमा पनि त्यसो भए के गर्ने ? वाम्द्याल (उँबू), वाक्सा, केत्तुके, मोली, मानेभञ्ज्याङ गाविसको प्राकृतिक पानीको स्रोतको रुपमा रहेका लिब्जुको जंगल कसले संरक्षण गर्ने ? आदिवासीय अधिकारअन्तर्गत यो थलोको जल, जमिन, जंगल, जडिबुटी र जैविक विविधताको उपभोग, संरक्षण, संवद्र्धन गर्ने दायित्व वाम्बुले राईहरूको हो ? तर, अन्य समुदायले सामुदायिक वनको रुपमा भोग चलन गर्दै आएका छन् । वाम्बुलेहरुको अधिकारको रुपमा स्थापित उक्त थुम्को शताब्दीऔं देखि थियो भने सामुदायिक वनको अवधारणा दशकदेखि लागू भएको हो । त्यसैले उक्त थुम्को यथार्थमा कसको हो ? र वास्तविक हकवालालाई नियोजित ढंगले कसरी लखेटियो ? यस विषयमा गम्भीर प्रश्न उब्जिएको छ ।
लिब्जु उपोको थुम्कोमा काटमार गर्न नपाउने हो भने उपोको नाममा हुने व्यक्तिको घरमा होस् वा सामुहिक रुपमा गरिने पूजामा कसरी काटमार गरिन्छ ? वा अरु ठाउँमा उनको नाममा बलि दिएर पूजा हुने हो भने साक्षात स्वयं उपोको मुल थानमा कसरी काटमार गर्न नपाइने ? वाम्बुले, बाहिङ राईबाहेक अन्य हिन्दु बाहुन, क्षेत्री, दलित समुदायलगायतले लिब्जु थुम्कामा पूजा आराधना गर्छन् । त्यसैगरी बौद्धमार्गी तामाङहरूले पनि त्यहाँ पूजा गर्छन् भने किरात, हिन्दु र बौद्ध धर्मको निकटता, समानता, एकरुपता र भिन्नता के हो ? किरातेश्वर महादेव र पारु (पारुहाङ) अनि ङेबे, पार्वती र सुम्निमामा एकरुपता र भिन्नताको बारेमा अनुसन्धान कसले कहिले सम्म गर्ने ? त्यसैगरी हिन्दु र मुन्धुमी किरातीहरूमा एकरुपता र भिन्नताको अध्ययन अनुसन्धान गरी यर्थाथलाई उजागर गर्न पर्छ कि पर्दैन ?
निचोड
वाम्बुले राई समाज केन्द्रीय सदस्य मिलन कान्छाको रिपोर्टिङअनुसार लिब्जुको ठीक दुधकोसी पारि भुम्जुको हालत त्यस्तै नाजुक छ । त्यसैगरी वाम्बुले राईहरूको ऐतिहासिक थातथलो अतिक्रमणमा पारिएका छन् । सधै सुत्ने बाघलाई त स्यालले पनि आक्रमण गर्छ भने हामी वाम्बुलेहरू सधै सुत्ने बाघ प¥यौं कि के प¥यौं ? आधुनिकता अँगाल्ने नाममा पहिचान दिने इतिहासलाई मेटाउनेतिर अग्रसर हामी वाम्बुलेहरू अब धेरै नसुतौं । जागौं ।
ब्ओकुलाको हात उही
उँबु–१ रिनुवाल गाउँ ब्ओकुला मैदानमा दोस्रो पटक यही २०६८ कात्तिक २ र ३ गते १३ औं वर्षको ‘वाम्बुले राई भाषाको यलम्बर कविता गोष्ठी कविता गोष्ठी’ हुँदैछ । ब्ओकुलाको आफ्नै इतिहास छ । यस ठाउँलार्ई युरोपको फुटबल खेलबाट प्रेरित स्थानीय वाम्बुलेहरूले ब्ओकुला दहको ऐतिहासिक महत्वलाई समाप्त पारी ओखलढुंगाकै नमुना फुटबल खेल मैदानमा परिवर्तन वा विकास गर्न तम्सिरहेका छन् । जसको एउटै परिणाम भनेको इतिहास मेट्ने, सिध्याउने र पहिचान पनि गुमाउने भन्दा अरु केही हुन सक्दैन । स्पष्ट होस् सबैलाई जीवान हाताचो अंग्रेजी, हिन्दी भाषा बोल्ला, सुट, टाइ, पाइन्ट लगाउला, स्टार होटलमा डिनर खाएर कार चढेर हिड्ला । विश्वविद्यालयको केही डिग्री हासिल गरेको होला । तर हाताचो भाषाअनुसारको नक्कल गरे पनि त्यो भाषी नागरिक कदापि बन्न सक्दैन । जहाँ जे जस्तो खाए–लाए पनि यो धर्तीको सामाजिक प्राणीभन्दा अर्को धर्तीको प्राणी बन्न सक्दैन । विश्वविद्यालयको डिग्रीले यो हाताचोको ऐतिहासिक पहिचानलाई बदल्न सक्दैन । फेरि पनि धेरै सुविधाको उपभोगी हाताचो त्यही क्वा¥वाउमोको दुब्लो (आँगन) को माटो र ढुङ्गाको गे्रगरमा जन्मिएको सत्यलाई मेटाउन सक्दैन । यसको अर्थ जतिसुकै प्रगति र परिवर्तनले कुँदिएपनि आखिर हाताचोको त्यही पिलुम (कुलपित्री) मा र यही धर्तीमा विलिन हुनु नै छ । अरु धेरै भन्नु छैन ।
(लेखक राईले लेख्नु भएको यो चिन्तन लिब्जु–भुम्जु पूर्णाङ्क ४७, २०६८ कात्तिक–पुसबाट लिइएको हो । सम्पादक)