दुर्गाहाङ याखाराईप्राचीनकालमा किराँत हिमबत् खण्ड कैरात देश अर्थात् किराँतहरूको मुलुक भनेर चिनिे नेपालको वर्तमान काठमाडौं खाल्डोमा गौतम बुद्ध आउँदा यहाँ उनले १३५० जना चेला बनाएका थिए । यो कुरा आजभन्दा पच्चिस सय वर्षअघि (ई.पू. ५२०)को हो र त्यसाताका यहाँ किराँत राजाको शासन चलिरहेको थियो । तर किराँत शासकलगायतको किराँत जातिले बुद्धका ती चेला तथा मत (धर्म) प्रति आदर र सहनशीलता देखाएका भए पनि खुद उनीहरू चाहिं पुरानत किराँत धर्ममै अडिग रहेका थिए । यी गुण आजका किराँत धर्मीहरूमा पनि ज्यूँकात्यूँ पाइन्छ । यस दृष्टिबाट किराँत धर्म खुद किराँत जातिको ‘सृष्टि’ भएदेखि नै चलिआएको संसारमा सबैभन्दा जेठो धर्म हो । तर विश्वको प्रमुख धर्ममध्येका हिन्दू धर्मलाई जस्तै किराँत धर्मलाई पनि सटिक शब्दमा परिभाषा (चिनारी) गर्न सकिँदैन, यसका लागि लक्षणहरू मात्र औंल्याउन सकिन्छ । यसका निजी (मौलिक) विशेषताहरू यस प्रकार छन्– मूर्तिपूजा नहुनु । आगो (चुला), भूमि (भूमे), खोला आदि जस्ता ‘प्रकृति’को पूजा हुनु । छुवाछुत, जात–भातको भेदभाव नहुनु, आइमाई, लोग्नेमान्छे लगायत संसारका मान्छेलाई बराबरी एउटै दर्जाको मान्नु र मूल धार्मिक ग्रन्थ मुन्धुम हुनु ।
खुला आकाशमुनि विना मूर्तिको साङ्भे (देवस्थल, मण्डप) थापना गरी पूजा, अर्चना गर्ने धार्मिक अभ्यास किराँत धर्मको मूल लक्षण हो । साङ्भेमा सर्वव्यापी, सर्वशक्तिमान, सर्वज्ञाता ईश्वर र कुल तथा पितृदेवतासमेतलाई पुकार गरी पूजाआजा गरिन्छ । आजकल भने यस्ता साङ्भेले कतैकतै किराँती बान्कीका माङहिम÷माङखिम (मन्दिर)को स्वरूप लिन थालेको पाइन्छ । यसबाहेक प्रकृतिको पनि व्यापक रूपमा उपासना गर्छन्, किराँत धर्मीहरू । हुन त आज विश्वका प्रमुख धर्म मान्ने सबै पंथी वा जातिका आदिम पुर्खाहरूले पनि एकताका आगो पानी (समुद्र, नदी), घाम (ज्योति) जस्ता प्रकृतिको अर्चना गर्ने गर्थे भने किराँतधर्मीहरू चाहिं प्रकृतिको उपासक रहिआएका छन् आजसम्मै । उनीहरू भूमे (भूमि), देउराली, हिमाचुली, अन्नबाली (उँभौली, उँधौली), आगो (चुलो)लाई पुज्ने गर्छन् । यसो हुँदा तीर्थ गर्न विदेश भौतारिने खाँचो नै पर्दैन किराँत धर्मका अनुयायीहरूलाई ।
किराँत धर्मको मूल मर्म ‘स्त्री–पुरुषलगायत सबै मानिसहरू जात–जाति, धर्म र छालाको रङ्गको आधारमा कोही पनि सानो ठूलो हुँदैन, बराबरी हुन्छ’ भन्ने छ । तर नेपालमा किराँत शासनको समाप्तिपछि हिन्दू शासकहरूको राजधर्म ‘हिन्दू’ बाहेक दोस्रो धर्मको प्रचार–प्रसार गर्न नपाइने ऐनकानुन रहिआएको हुँदा यस मानव समानतावादी तर तामझाम नभएको सजिलो किराँत धर्मलाई यसका प्रतिपादकहरूले संसारमा फैलाउन सकेनन् । त्यसको नतिजा हिन्दू धर्मशास्त्र (मनुस्मृति आदि) ले सबै मानिसहरूको निम्ति दज्र्यानी भाग लगाएको जम्मा ४ वर्ण (जात)मध्ये पुछारको ‘शूद्रवर्ण’ (अछुतजात) को तहमा मानव समानतावादी किराँत धर्मी किराँत जातिलाई पनि जबर्जस्ती सामेल गर्न खोजको छ । तापनि उनीहरू यो ‘वर्ण व्यवस्था’लाई मान्दैनन् ।
किराँत धर्मीहरूको धर्मशास्त्र मुन्धुम हो । ‘मुन्धुम’ भनेको प्राचीन किराँत पुस्ता दरपुस्ता मुखौली सुन्दै कण्ठ पार्दै ल्याएका सृष्टि र धार्मिक रहनसहन सम्बन्धी कवितामय प्राचीन वचनहरू हुन् । मुन्धुममा पृथ्वी, आकाश, हावापानी, पशुपंक्षी, झारजंगलदेखि मान्छेको सृष्टिसम्मको र किराँत जीवन दर्शनको कुरा आउँछन् । मुन्धुममा सबै किराँतहरूलाई एउटै धागोमा बाँधी वर्ण/वर्ग अर्थात् बाहुन, क्षेत्री, वैश्य, शूद्र भन्ने जस्ता उचो–निचो जातको तह नभएको जातीय समानता, अरु धर्मप्रति सहनशीलता र उदारताको सिद्धान्तलाई अँगालिएको छ । यस्ता मुन्धुमलाई अघिल्लो पुस्ताबाट सुनी कण्ठ पार्दै बचाई ल्याउनेमा ‘साम्बा, येबा/येमा, फेदाङ्मा, हाङछाम्बा, नाक्छोङ, नाअ्सो’ भन्ने किराती नामका पुरोहित पुजारी वा झाँक्रीको ठूलो योगदान छ । उनीहरूद्वारा किराँत धर्मीहरूले जन्मदेखि मरण र मर्नेको हँस (आत्मा) लाई पार तार्नेसम्मका कर्मकाण्डहरू र अन्य चाडपर्व, धार्मिक कार्यहरू आफ्नै मातृभाषाबाट मुखौली मुन्धुम फलाकेर परम्पराअनुसार सम्पन्न गराई आजसम्मै आएका छन् । ती विभिन्न विषयका मुन्धुमहरूलाई लिपिवद्ध पारिएका किताबहरू पनि आजकल पशस्तै प्रकाशित भएका छन् । किराँध धर्मले विश्वको धार्मिक जगतमा आफ्नो ठोस पहिचान आजतक बनाउन सकेको छैन । त्यसकारण धार्मिक अभ्यासको आधारबाट समाजशास्त्रीहरूले यस धर्मलाई ‘झाँक्री–मुन्धुमी, प्रकृतिपूजक धर्म’को वर्गमा राख्ने गर्दछन् ।
ठीक किराँत धर्मी जस्तै जातभात, छुवाछुत नबार्ने भोट बर्मेली भाषा परिवारका जातिहरू जस्तै कागत, खाम, गुरुङ (तमू), चेपाङ (प्रजा), छन्त्याल, जिरेल, तामाङ (मर्मी), थकाली, थामी, दुरा, धिमाल, नेवार, पहरी, ब्यासी, मगर, मेचे, राउटे, राजी, लेप्चा, लोबा, सुरेल, शेर्पा, हायू र भारोपेली भाषा परिवारका कुम्हाल, कोचे (राजवंशी), थारु, बोटे, माझी आदि समेतलाई मान्छेको वंशशास्त्र तथा भाषाशास्त्र तथा भाषाशास्त्रका आधारबाट प्राचीन नेपालमा लामो अवधि ३३ पुस्तासम्म राज्य गर्ने किराँत राजाहरूकै सन्तान, दरसन्तान (वंशज) छरपष्टिएका हुन् भन्ने सम्बन्धित विद्वानहरूको गहिरो विचार रहिआएको छ । तर यी जातिबाहेक हालसम्ममा भोट बर्मेली भाषा परिवारका याक्खा, राई (खम्बू), लिम्बू र सुनुवार जातिले मात्र ‘किराँत धर्मी’ भनी गौरव मान्ने गरी आएका देखिन्छन् ।
झन्डै १० वर्षअघि २०४८ सालमा लिइएको राष्ट्रिय जनगणनाको फारामको ‘धर्म’ खुलाउने महलमा किराँत धर्मको नाम थिएन । तैपनि किराँत धर्मीहरूले आफसेआफ त्यो फारामको अन्य धर्म खुलाउने महलमै भए पनि आफ्नो धर्मको नाम लेखाएर जम्मा संख्या ३,१८,३८९ (कुल जनसंख्याको १.७ प्रतिशत) पुगेको थियो । यसले गर्दा किराँत धर्मले पनि राष्ट्रिय मान्यता पाएको हुँदा आउँदो २०५८ सालको जेठ–असारमा हुने जनगणना फारामको ‘धर्म’ खुलाउने महलमा ‘किराँत धर्म’को नाम पनि उल्लेख हुन पुग्नेछ । यसो हुँदा आउँदो जनगणनाको तथ्यांकमा उल्लेखनीय रूपमा किराँत धर्मीको संख्या बढ्ने पक्कापक्की छ । किनभने २०४८ सालको जनगणना तथ्यांकमा किराँत धर्मका अनुयायीहरू राई, लिम्बू र सुनुवारको मात्रै पनि जम्मा जनसंख्या ८,६३,६८० (४.६ प्रतिशत) थियो ।
(राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेदेखि असार ८ गते सम्पन्न हुन गइरहेको छ । त्यही सन्दर्भमा यो लेख किरात राई यायोक्खाको मुखपत्र ‘यायोक्खा निप्सुङ’ वर्ष ८, पूर्णाङ्क १२, जेठ–२०५८ बाट साभार गरिएको हो । इतिहासविद् दुर्गाहाङ याखाराईको जन्म वि.सं. १९९९ मंसिर ३ गते, वाना–३ संखुवासभामा भएको थियो । उहाँद्वारा लिखित इतिहासकृतिमध्ये ‘ब्राह्मणवाद विरुद्ध जनजाति र उत्पीडित वर्ग’ (२०५३) र ‘किरात ः हिजो र आज, २०५५’ प्रसिद्ध र विचारोत्तेजक छन् । ललितपुरको महालक्ष्मीस्थानमा स्थायी बसोबास गर्नु भएका इतिहाविद् दुर्गाहाङको २०६८ मंसिर १३ गते निधन भइसकेको छ । सम्पादक)
किरात धर्मको अवस्था
जनगणना साल किरात धर्मावलम्बी प्रतिशत
२०४८ ३१८३८९ १.७२
२०५८ ८१८१०६ ३.६०
२०६८ ८०७१६९ ३.००
किरात जातिको जनसंख्या
सि.नं. किरात जाति किरात २०४८ किरात २०५८ किरात २०६८
१. राई ५२५५५१ ६३५१५१ ६२०००४
२. लिम्बू २९७१८६ ३५९३७९ ३८७३००
३. सुनुवार ४०९४३ ९५२५४ ५५७१२
४. याक्खा ० १७००३ २४३३६
स्रोत : Statistical Pocket Book 2002, Central Bureau of Statistics, Kathmandu, Nepal. National Population and Housing Census 2011 (National Report) Volume 01, NPHC 2011 (साभार : राई, गणेश (२०७३), वाम्बुले राई मातृभाषाका प्रतिभा र केही सिर्जना । ललितपुर : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान)
लेखकको फोटो : गणेश वाम्बुले राई