कोसेली – लाहुरेलाई पानी पतिया ‘शुद्ध खाना १५ गाँस खानू’ इतिहास

पत्रपत्रिका विचार / ब्लग

मंसिर २१, २०७६

राजकुमार दिक्पाल

नेपाल र अंग्रेजबीच युद्ध भएरै छाड्यो  । नेपाली सेनाले राष्ट्रभक्तिका साथ वीरतापूर्वक लडे तापनि ब्रिटिस सैन्य शक्ति र कूटनीतिक चातुर्यका अगाडि अन्ततः नेपाल सुगौली सन्धिमा खुम्चनुपर्‍यो  ।

तर, १८७१–७२ को नेपाल–अंग्रेज युद्धले नेपालीको वीरताको शौर्य भने प्रदर्शन गरायो । सीमित स्रोत र साधनबाट पनि अंग्रेजलाई राम्रैसँग टक्कर दिएपछि अंग्रेजहरू नेपालीहरूलाई आफ्नो सेनामा भर्ना गराउन लालायित भए ।

नेपालीहरूको इमानदारी र वीरताको परख अंग्रेज जनरलहरूले गरेका थिए । त्यसमा पनि जनरल अक्टरलोनीले गोरखालीहरूलाई अंग्रेज सेनामा भर्ती गर्न विशेष पहल र चातुर्यता देखाएको पाइन्छ । विक्रम संवत् १८७१–७२ को नेपाल–अंग्रेज युद्धपछि एकातिर युद्धमा हार खाएका गोरखाली सेनामध्ये स्वयम् नेपाली सेनानायक अमरसिंह थापाका छोराहरू अर्जुनसिंह थापा र भुपालसिंह थापा तथा एक नाति पञ्जाबकेशरी रणजित सिंहको फौजमा भर्ना भई लाहोर (हाल ः पाकिस्तान) मा पुगी लाहुरे कहलाइसकेका थिए भन्ने ऐतिहासिक तथ्य दिनेशराज पन्तको ‘लाहोरमा नेपाली वीरहरू’ शीर्षकको लेख इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ को पूर्णांक ५ (२०२२ वैशाख ः ६३–७०) पढ्दा थाहा पाउन सकिन्छ ।

नेपाल–अंग्रेज युद्धका समयमा युद्धमैदानमा खटिएका गोरखाली सैन्य जवानमध्ये नालापानीका चर्चित योद्धा बलभद्र कुँवर पनि लाहोर गई लाहुरे बने । उनलाई उनका मामाहरू अर्जुनसिंह थापा र भुपालसिंह थापाले लाहोर पुर्‍याएका थिए । उनलाई रणजित सिंहको सेनामा भर्ना गराएको थाहा पाउन बलभद्र कुँवरकै सन्तान रामराजा कुँवर र डा. धनबहादुर कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ (२०६९ः५१–५२) मा उल्लेख गरिएअनुसार ‘बलभद्रले आफ्ना मामाहरू अर्जुनसिंह र भुपालसिंह थापासँगको भेटपछि अन्य मूलुकमा जाने इच्छा जनाएका थिए’ भन्ने पढेपछि पहिलोपटक लाहोर गई लाहुरे कहलाउने पहिलो लाहुरे को रहेछन् भन्ने जिज्ञासा पनि मेट्न सकिन्छ ।

तर, अर्कोतर्फ अक्टरलोनीसँग अमरसिंह थापाको वार्ता वा कुराकानी हुँदै थियो । यस्तो सन्धि सम्झौताको विषयमा ‘नेपालको सैनिक इतिहास’ (२०४९ः२२८–२२९) पढ्दा के थाहा हुन्छ भने जनरल अक्टरलोनीसँग अमरसिंह थापाले गरेको सम्झौताअनुसार, तीन बटालियनमा चार हजार ६ सय ५० जनालाई ब्रिटिस सेनामा भर्ना गरिइसकिएको थियो । यो लेखनीमा थोमन्सम एडवार्डको ‘द मेकिङ अफ् द इन्डियन प्रिन्सेस’ (सन् १९४३ः१९२), बीबी सक्सेसनाको सम्पादनमा छापिएको ‘हिस्टोरिकल पेपर्स रिलेटिङ टु कुमाउ’ लाई पनि पढ्न सकिनेछ ।

यसरी अमरसिंह थापाले अक्टरलोनीसँग सम्झौता गरे पनि उनकै छोरा–नाति कोही अंग्रेज सेनामा त कोही पञ्जाबी सेनामा भर्ना भई सेवा गर्न थाले । यता नेपालमा भने अंग्रेज वा अन्य वैदेशिक सेनामा भर्ना गर्न बन्देज थियो । भीमसेन थापा अंग्रेजको कट्टर विरोधी थिए ।

अर्कोतर्फ कार्ल मार्क्सले भारत भ्रमण गरेपछि जंगबहादुर राणाको विषयमा गरेको टिप्पणी ‘जंगबहादुर राणा बेलायतको नोकर’ भन्ने विषय घतलाग्दो छ । तर, जंगबहादुर राणा र उनका उत्तराधिकारी बमबहादुर राणा पनि आफ्ना नौजवानलाई विदेशी सेनामा भर्ना गर्न अनिच्छुक थिए । रणोद्दीप सिंहको समयमा भने नेपाली नौजवानलाई विदेशी सेनामा भर्नाका लागि केही उदारता देखाइएको पाइन्छ । कतिसम्म भने यसरी लाहुर गएका नेपालीहरूलाई नेपाल प्रवेशसम्म गर्न दिइँदैनथ्यो ।

विश्वयुद्धको समयमा भने ब्रिटिसका लागि विभिन्न मुलुकका नौजवान सैन्य अत्यावश्यक भएकाले र तत्कालीन नेपालको राजनीतिक घटनाक्रममा भर्खरै वीरशमशेर गोत्रहत्या गरी सत्तामा पुगेकाले अनि आफ्नो शासनलाई अंग्रेजबाट मान्यता पाउनका खातिर उनी अंग्रेज सेनामा नेपालीहरूलाई भर्ती पठाउन उदार देखिए । चन्द्रशमशेरको समयमा त नेपाली नौजवानलाई अंग्रेज सेनामा भर्ती गर्न ठूलै उदारता देखाइयो । चन्द्रशमशेरको समयमा अर्थात् प्रथम विश्वयुद्धको बेला भारतीय अंग्रेज सेनामा भर्ना भएका पाँच लाख एक हजार सैनिकमध्ये ५५ हजार जना त नेपाली थिए । त्यो समय त्यो संख्या नेपाली पुरुषको जनसंख्याको २५ प्रतिशत थियो । प्रथम विश्वयुद्धमा ३६ हजार जवान मरे वा घाइते भए । तीमध्ये २० हजार जना त नेपाली जवान थिए भन्ने ज्ञानका लागि ‘नेपालको सैनिक इतिहास’ (२०४९ः२४४–२५३) पढ्न आग्रह गरिन्छ ।

चन्द्रशमशेरको इस्तिहार
लायक नेपाली नौजवानलाई भारत हुँदै अंग्रेज सेनाका लागि भर्ती हुन चन्द्रशमशेरले ठाउँठाउँमा इस्तिहार पठाए । नमुनाका लागि पाँचथरको याङनामका वृजहाङपति जवेगुको संकलनमा रही इतिहासकार भगिराज इङ्नामबाट यस लेखकलाई उपलब्ध विक्रम संवत् १९७२ को इस्तिहारमा उल्लेख गरिएको भर्तीका लाग्नका लागि आवश्यक योग्यताको बारेमा यहाँ चर्चा गरिन्छ ।

यस इस्तिहारमा उल्लेख भएको छ,‘…बृटिश गोर्खा पल्टनमा भर्ना गर्नालाई आफूखुसी भर्ना आऊने रित्रुट थोर थोरै मात्रै भएकाले इके बखत पूरा गर्न नपुगेको हुनाले नेपाल सर्कारबाट बन्दोबस्त भया चाढो रिक्रुट चाँडो भर्ना हुँदो हो भन्या दोस्तिकालिहाजले बृटिश सर्कारका तर्फबाट लेखि आयाको र आफुखुसि जानमा भन्दा सर्कार तर्फबाट बन्दोबस्त जानेलाई सबै कुराबाट सुबिस्ता र कदन पनि रहने ३ वर्ष नोकारी गरिसकेपछि छाडी आउने मन्सुवा हुनेले छाडी आउन पाइन्छ अथवा पुरा नोकरी गरि इङ्लिस पेन्सन लिइ आउनेले मन्सुवा हुनेले छाडी आउन पाइन्छ ।….’ भन्दै नेपाली नौजवानको योग्यतामा १८ वर्षदेखि २५ वर्षभित्रको उचाइ पाँच फिट दुई इन्चको र छाती ३२ इञ्चको हुनुपर्ने आदेश जारी गरे । यो इस्तिहारमा जातिगत योग्यता पनि जारी गरिएको छ । यसमा ठकुरी, क्षत्री, गुरुङ, घले, मगर, लिम्बू, किराती, राई, सुनुवार, रानाभाट, नगरकोटी, मतवाली खस, तामाङ र शेर्पा सेनाका लागि योग्य जाति ठहरिने उल्लेख छ ।

यस इस्तिहारमा पल्टनमा पठाउनेलाई पनि विशेष बक्सिसको ब्यवस्था गरिएको छ । यसअनुसार, एक जनादेखि १० जना भर्ना गर्नेलाई तीन रुपैयाँ तीन मोहर, १० देखि २४ जना पठाउनेलाई चार रुपैयाँ दुई मोहर र त्योभन्दा बढी पठाउनेलाई पाँच रुपैयाँको ब्यवस्था गरिएको छ ।

जंगबहादुरको धार्मिक कट्टरता
जंगबहादुर राणा बेलायत भ्रमणमा जाँदा सरकार प्रमुखका रूपमा नभई सरकारको एक प्रतिनिधिको रूपमा गएका थिए । उनलाई त्यहाँ ‘एक्स्ट्रा अर्डिनरी’ राजदूतका रूपमा प्रचारित गरिएको थियो ।

कट्टर हिन्दु धर्मावलम्बी भएका कारण क्रिस्चियनहरूको छोइछिटो नसहने जंगबहादुरले आफू यात्रारत पानी जहाजमै छुट्टै भान्साको ब्यवस्था गरेका थिए । ‘जंगबहादुरको बेलाइत यात्रा’ (२०५८ः७) मा उल्लेख भएअनुसार, जंगबहादुरले जहाजमा यात्रा गर्दा आफ्ना सहयात्रीहरूलाई मोहित बनाएका थिए । तर, खाँदाखेरी कसैलाई हेर्न दिँदैनथे । पानी छुन दिँदैनथे । मेवा, भाजी, तरकारी भण्डार गर्दा पनि छोइछिटो होला कि भनी सर्तक रहन्थे । गाई पनि आफैं दुहुन्थे ।

जंगबहादुरको बेलायत भ्रमणलाई त्यहाँका सञ्चारमाध्यमहरूले पनि विशेष समाचारीय महत्त्वले हेरेका थिए । तीमध्ये ‘इलस्ट्रेटेड न्युज’ को सन् १८५० जून १ को जंगबहादुरसम्बन्धी समाचारलाई ‘जंगबहादुरको बेलाइत यात्रा’ (२०५८ः५४–५५) मा उद्धृत गरिएको परिशिष्ट २ मा उनको म्लेच्छ अर्थात् क्रिस्चियनहरूले छोएको खाना नखाने प्रतिबद्धता विषयमा पढ्न पाइन्छ । समाचारमा उल्लेख भएअनुसार, बेलायतमा जंगबहादुरलाई होटलमा बस्ने व्यवस्था गरिएको थियो । तर, उनले पूरै होटल आफ्ना लागि नपाए होटल नजाने अडान लिए । क्रिस्चियनका लागि पकाइएका खानेकुरासँग मिसिएला भन्ने धार्मिक कट्टरताले यो कुरा उठेको थियो । फलस्वरूप ः जंगबहादुरको दलले साउथ ह्याम्पटनमा बसुन्जेल उनीहरूका लागि छुट्टै सुत्ने खानेकुरा पकाउने बन्दोबस्त गरियो ।

यसमा खट्ने जंगबहादुरका सहयोगीहरू भाँडाकुँडा, पानीका गाग्री, बिछ्यौना, चामल र अन्य खानेकुरा सार्दैमा ब्यस्त थिए । पछिल्लतिर चोकमा एउटा पाल टाँगियो । र, त्यसैमा एउटा नेपाली भान्छाकोठा तयार भयो ।

जंगबहादुरको दलको छोइछिटोमा कतिसम्म कट्टरता थियो भने उनीहरूको सम्मानमा दिइएको भोजमा समेत उनीहरू केही नखाई फर्के । ‘जंगबहादुरको बेलाइत यात्रा’ (२०५८ः५६–५७) मा परिशिष्ट ४ मा प्रयोग भएको ‘द इलेस्ट्रटेड लन्डन न्युज’ को सन् १८५० जुन ८ को समाचारअनुसार, जंगबहादुर र उनको भ्रमण दलको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो । त्यहाँ महारानी भिक्टोरियाको सुस्वास्थ्यका लागि टोस्ट प्रस्ताव गरियो । जंगबहादुरको सम्मानमा पनि टोस्ट प्रस्ताव गरियो । त्यहाँ जंगबहादुरले आफ्नोतर्फबाट भाषण गरे । तर, उनी र उनको भ्रमण दलका सदस्यले राजसी अतिथि सत्कारपूर्ण त्यो रात्रिभोजमा केही खाएनन् । उनीहरू त भोजकोठाको झकिझकाउ दृश्यको दर्शक मात्र भएर फर्के ।

लाहुरेलाई पानी पतिया
लाहुरे भर्तीमा नेपाली नौजवानहरूलाई पठाउन वीरशमशेर र चन्द्रशमशेर उदारमना भएपछि ठूलो संख्यामा नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ना हुन थाले । जातीय तथा धार्मिक रूपमा हिन्दुमतमा कट्टर राणा शासकले क्रिस्चियनहरूले छोएको नखाने परम्परा थियो । त्यो जंगबहादुरले बेलायत भ्रमणमा खुलाम्खुला देखाए ।

जंगबहादुरको पुरानो नीतिअनुसार, बेलायत वा युरोपतिर जाँदा छोइछिटो वा लाटलुट हुन्थ्यो । तर, यस्तो विगतको परम्परालाई तोडेर चन्द्रशमशेरले नेपाली युवाहरूलाई ब्रिटिस सेनामा भर्ना हुने बाटो प्रशस्त मात्रै गरेनन्, जहाँसुकै पुगेर सैनिक सेवा गरे पनि नेपाल फर्कंदा उनीहरूलाई पानी पतिया गर्ने व्यवस्था मिलाए ।

उनको समयमा ब्रिटिस गोर्खा सैनिकमा भर्ना गर्न १० केन्द्र खोलिएको थियो । उनले गोर्खा बटालियनका नेपाली जवानलाई समुद्रपार म्लेच्छ लोकका रणक्षेत्रमा जान अनुमति दिए । रणक्षेत्रबाट फर्केपछि ‘पानी पतिया’ संस्कारद्वारा पुनः ती जवानहरूले हिन्दु सामाजिक संस्कारमा प्रवेश गर्न पाउने नियमसमेत तर्जुमा गरियो । यो पाद टिप्पणी दिल्ली विश्वविद्यालयमा प्रस्तुत पुरुषोत्तम बाँस्कोटाको विद्यावारिधिको शोधपत्र ‘रिक्रुटमेन्ट अफ् द गोरखाज् इन् द ब्रिटिस आर्मी’ को पृष्ठ १४२–४५ लाई ‘नेपालको सैनिक इतिहास’
(२०४९ः२५०) मा उद्धृत गरिएको छ ।

पानी पतियाको पाठ
म्लेच्छ मुलुकमा गएर देशमा फर्केपछि पानी पतिया कसरी गर्नुपर्थ्यो त ? पानी पतिया भनेको चोख्याउनी हो । यसलाई प्रायश्चित्त पनि भनिन्छ । यसबारे थाहा पाउन यस लेखकले पुर्ख्यौली थलो ताप्लेजुङको हाङपाङ भई हाल : बुद्धनगर (काठमाडौं) निवासी नामेन्द्रसिंह आङबुहाङलाई सम्पर्क गर्‍यो । नामेन्द्रसिंहको संकलनमा रहेको र इतिहासकार तथा पूर्वप्रशासक भगिराज इङ्नामबाट यस लेखकले प्राप्त गरेको एक सय वर्षअघिको चन्द्रशमशेरकालीन लाहुरेको पानी पतिया वा प्रायश्चित्त पत्रको पाठ यहाँ प्रस्तुत छ ।

तत्कालीन वडा गुरुज्यू धर्माधिकारी तर्कराज पाण्डेले जारी गरेको यस्तो पत्रको पाठ यस्तो छ :
श्रीमद्रोरक्षश्भुपेन्द्रप्रेरितंस्मृति सम्मतम् ।।
स्तच्छेदनोपायं प्रायश्चित्तं समाचर ।।
प्रथमादिन मण्डन गरी माटो भष्म पञ्चगव्य लेपन गरी स्नान गर्नू त्यस दिनैमा हविस्य ग्रास १५ दिन खानू दोस्रादिन १२ खानू तेस्रादिन नमागी कसैले खा भनी दिए ग्रास २४ खानू चौथादिन नीराहारगर्नू यस्ता रीतले फेरा ३ गर्दा १२ दिन हुन्छ तेह्रौ दिनमा पञ्चगव्य खाई व्राह्मणलाई सिधा दक्षिणा दिनू तिमीहरू यो महाघोर लडाइको कामपरेको हुनाले र आफना सर्कारको अैनले लडाईका निमित्त मात्र समुद्र पार जान हुन्छ भन्ने भएकोले हुनाले र हुकुमले लडाईमा जाादा पनी आफनो जात खाादा पिदा पनी कौनै कुरा तलमाथी नपारी आफनो जात धर्म मजव राखि आएको प्रतितपर्ने सबुद समेत दाखिल गरेको हुनाले देहशुद्ध संवत् १९७७ साल चैत ३ गते रोज ३ शुभम्यो पत्र ताप्लेजुङ हाङपाङका निवासी तत्कालीन ब्रिटिस भारतीय सेनाका सुवेदार धरमधोज (धर्मध्वज) लिम्बूले पाएका हुन् । यो पत्रमा उनकै नाम उल्लेख छ ।

माथि दिइएको पाठको अर्थ हो :
माटो, खरानी र पञ्चगव्य (गहुात, गोवर, दूध, दही र घ्यू) शरीरमा लेपन गरी नुहाएर शुद्ध खाना १५ गाँस खानू । दोस्रो दिन १२ गाँस खानू । तेस्रो दिन नमागी कसैले खानू भनी दिए २४ गाँस खानू । चौथो दिन केही नखानू । यस्तो रीत तीनपटक गरेपछि १२ दिन हुन्छ र तेह्रौं दिनमा पञ्चगव्य खाई ब्राह्मणलाई सीधा दक्षिणा दिनू । तिमीहरूको महायुद्धमा काम परेको हुनाले र आफ्ना सरकारको ऐनले लडाइँका लागि मात्र समुद्र पार जान हुन्छ भन्ने भएकाले हुनाले र सोहीअनुसारको हुकुमले लडाइँमा जाँदा पनि खाँदा पिउँदा आफ्नो जात तलमाथि नपारी आफ्नो जात धर्मलाई कायम राखी आएको प्रतीत हुने गरी सबुदसमेत दाखिल गरी देहशुद्ध भएको छ ।

यो पतिया पत्र पाउने धर्मध्वज लिम्बूका छोरामध्ये जेठा गंगाप्रसाद र साहिँला खड्गेन्द्रसिंह आङबुङहाङ पनि ब्रिटिस गोर्खा सैनिकमा भर्ना भए । यस्तै काइँला छोरा नरेन्द्रबहादुर हाङपाङको प्रधानपञ्च भए । खड्गेन्द्रसिंह त जिल्ला पञ्चायत, ताप्लेजुङको उपसभापतिसमेत भए । उनी ब्रिटिस गोर्खाका क्याप्टेन दर्जाबाट सेवानिवृत्त भए ।

यसरी चन्द्रशमशेरको समयमा लाहुरेहरूका लागि सुरु भएको पानी पतियाका लागि पतिया पत्र जारी गर्ने तर्कराज पाण्डेचाहिँ राजदरबारका अन्तिम बडागुरुज्यू नयनराज पाण्डेका हजुरबुबा हुन् ।

प्रकाशित : मंसिर २१, २०७६ ०९:२८

https://ekantipur.com/koseli/2019/12/07/157569014226883067.html

Leave a Reply

Your email address will not be published.