शिक्षाको उज्यालो छर्न ‘भर्नाबहादुर राई–सुखरानी (लिम्बुनी) राई’ नाममा अक्षयकोष

मुख्य समाचार

लिभु संवाददाता
ओखलढुंगा- गाउँघरको विद्यालयलाई उत्कृष्ट तुल्याउने उद्देश्यले अभिभावले आफन्तका नाममा अक्षयकोष स्थापना (२०७८ भदौ ३१ गते) गरेका छन् ।

ओखलढुंगाला जिल्लाको दक्षिण मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ उँबु फोकुलस्थित जनहित आधारभूत विद्यालय लुकुवापानीमा ‘भर्नाबहादुर राई–सुखरानी (लिम्बुनी) राई’ नाममा अक्षयकोष स्थापना गरिएको हो । यो सरकारी विद्यालय हो ।

बुवा स्वर्गीय भर्नाबहादुर राई र आमा स्वर्गीय सुखरानी (लिम्बुनी) राईको सम्झनामा छोरा–छोरीले १ लाख १० हजार रुपैयाँ राशिको अक्षयकोष स्थापना गरेका हुन् ।

जनहित आधारभूत विद्यालय पहिले

दाताहरूमा जेठा रत्नबहादुर राई, माइला रामप्रसाद राई, साइँला धनप्रसाद राई, काइँला हरिप्रसाद राई र कान्छा जगतप्रसाद राई तथा छोरीहरू जेठी चन्द्रमाया राई, माइली आइतसरी राई र कान्छी पुरामाया राई रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रजाबा राईका अनुसार दाताले अक्षयकोषको राशि बढाउने प्रतिवद्धता जनाएका छन् ।

जनहित आधारभूत विद्यालय अहिले

‘दुर्गम गाउँठाउँको विद्यालयमा शैक्षिक गुणस्तर सुधार तथा निम्न आयस्तरका अभिभावकका छोराछोरीलाई टेवा पुग्ने काममा अक्षयकोषको ब्याज खर्च गर्नेछौं,’ अध्यक्ष राईले भने, ‘अक्षयकोषको विधान बनाउन बाँकी छ । बनाएपछि शिक्षक, विद्यार्थीलाई पुरस्कारदेखि अन्य के केमा खर्च गर्ने भन्नेबारे निश्चित गर्ने छौं ।’

विद्यालयका प्रधानाध्यापक चतुरलाल राईका अनुसार अहिले बाल कक्षादेखि देखि ५ सम्म ७६ जना बालबालिका अध्ययरतन छन् । फोकुल गाउँमा वाम्बुले राई मातृभाषी समुदायको बसोबास रहेको छ । पढ्ने र पढाउने शिक्षकसमेत वाम्बुले भाषी रहेका छन् ।

जनहित आ.वि.मा बिजुली बत्तीको सुविधा

प्रौढ शिक्षा संचालन गर्ने क्रममा २०४२ सालमा उक्त विद्यालय स्थापना गरिएको हो । अध्यक्ष राईका अनुसार सुरुमा फुसको छानो थियो । ‘प्रौढ कक्षाबाट विकास गरिएको विद्यालय अहिले सरकारको अनुदान आधुनिक भवन बनाउन सफल भएका छौं,’ उनले भने ।

‘सपनाहरू धेरै थिए तर कति अज्ञानतमा बिलाएर गए भने कति बाध्यतामा धुमिल हुन गए,’ बुवा–आमाको नाममा अक्षयकोष स्थापना गर्न सफल भएपछि जगतप्रसाद राईले आफ्नो फेसबुक भित्तामा लेखेका छन्– ‘तर आज हजुरहरूको नामलाई आफ्नै स्थानीय विद्यालयमा सुनौलो अक्षरले अंकित गर्न पाएकोमा धेरै खुशी लागेको छ । आशा छ हजुरहरू जहाँ भएपनि हेरिरहनु भएको छ ।’

जनहित आ.वि.भवन

फोकुल गाउँ वाम्बुले राई भाषा साहित्य सिर्जना तथा लेखनमा अगुवाई गर्ने स्रष्टाको जन्मथलोका रूपमा परिचित छ । लिब्जुभुम्जु पुरस्कार प्राप्त कविहरू शुभचन्द्र राई, झरना राई र अप्सन क्याम्पा तथा इन्द्रजाबा राई, लबु राई, जगतप्रसाद राई, कल्याण पाहुना राई, छेउकुड्ले माइला, प्रेम वाम्बुले, सम्झना राईलगायत धेरै धेरै स्रष्टा यही गाउँमा जन्मे हुर्केका हुन् ।

जनहित आधारभूत विद्यालय पहिले र अहिले तथा अक्षयकोष हस्तान्तरणपछि सामूहिक फोटो खिचाउँदै ।
तस्बिर सौजन्य इन्द्रजाबा राई

Leave a Reply

Your email address will not be published.