वाम्बुले राईको पहिचान संरक्षणमा अगुवाई गर्दै वाम्रास सुनसरी (फोटो फिचर)

समाचार

वाम्बुले राईहरू संगठित भएर जातीय पहिचान प्रदर्शन गर्ने राजधानी सहर धरान हो

गणेश वाम्बुले राई

काठमाडौं– वाम्बुले राई समाज, नेपाल (वाम्रास) सुनसरी जिल्ला कार्यसमितिको २०७९ वैशाख १७ गते शनिबार चौथो सम्मेलन सम्पन्न भएको छ । वाम्रास केन्द्रीय अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्य रहेको सम्मेलनले लाखमान राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

 

‘वाम्बुले राईको संस्कृति राष्ट्रको अमुल्य निधि’ भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनले चयन गरेको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्ष रोशन राई (मगा), सचिव दिलन राई, सहसचिव सुदिप राई र कोषाध्यक्ष दिपिका राई रहनु भएको छ । यसैगरी सदस्यहरूमा सीताराम राई, राजकुमार राई, सुशीला देवान (राई), छइन्द्र राई, श्यामकुमार राई र अस्मिता राई हुनुहुन्छ ।

नवनिर्वाचित अध्यक्ष लाखमान राईले वाम्रास सुनसरीले गर्दै आएका कामलाई निरन्तर राख्ने र अधुरा कामलाई पूरा गर्ने बताउनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष लाखमान राई

‘वाम्रास सुनसरी वाम्बुले मातृभाषाको तीन शीर्षकमा गीत प्रतियोगिता गरी छनोट गरेको छ, त्यसलाई रेकर्ड गर्ने काम बाँकी छ, त्यो गर्नुछ,’ उहाँले भन्नुभयो, ‘सुनसरी भरिका वाम्बुले राईहरूलाई एकतावद्ध गर्न घरदैलो भेटघाट गरेर संस्थागत रूपमा एकतावद्ध गर्न पहल गर्नेछौं ।’

एनटीभी इटहरीको प्रमुख हुनु भएकोमा गजुरधन राईलाई कार्यसफलताको शुभकामना सम्मान पत्र प्रदान गर्दै किरात राई यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राई र किरात राई प्रज्ञा परिषदका सदस्य शालिक शतासक राई

सम्मेलनमा किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राई र किरात राई प्रज्ञा परिषदका सदस्य शालिक शतासक राई विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

वाम्रास सुनसरीका पूर्वअध्यक्ष धर्मराज राई (कुमार)लाई सम्मान गर्दै प्रमुख अतिथि गजुरधन राई र सभाध्यक्ष लाखमान राई

वाम्रास सुनसरीका पूर्वअध्यक्षद्वय धर्मराज राई (कुमार) र रामकर राईको गरिमामय उपस्थिति रहेको थियो भन निवर्तमान अध्यक्ष देशकुमार राई स्वास्थ्यको कारण उपस्थित हुनु सक्नु भएन । वाम्रास सुनसरीका संस्थापक अध्यक्ष तथा वाम्रास केन्द्रीय उपाध्यक्ष शुभचन्द्र राई हाल बेलायतमा हुनुहुन्छ ।

एनटीभी इटहरीलाई प्रदान गरिएको कदरपत्र ग्रहण गर्दै प्रशासन प्रमुख सदेशराम चौधरी र प्रदान गर्दै प्रमुख अतिथि गजुरधन राई र सभाध्यक्ष लाखमान राई

संघीय नेपाल प्रदेश–१ (प्रस्तावित किरात प्रदेश) ओखलढुंगा र खोटाङ जिल्ला वाम्बुले राईहरूको उत्पत्ति थलो हो । यी दुई जिल्लासँग जोडिएका उदयपुर र सिन्धुलीमा वाम्बुले राईहरूको पहिचानसहितको बसोबास रहेको पाइन्छ ।

बसाईसराईको हिसाबले विभिन्न जिल्लामा वाम्बुले राईहरू रहेका छन् । पूर्वतर्फ सुनसरी जिल्लामा रहेका वाम्बुले राईहरू संस्थागत रूपमा एकतावद्ध छन् । वाम्बुले राईहरू संगठित भएर जातीय पहिचान प्रदर्शन गर्ने राजधानी सहर धरान हो भन्नुमा दुई मत छैन ।

वाम्रास सुनसरीले जे गर्छ राम्रो गर्छ । जसरी पनि अविष्मरणीय काम गर्छ । ऐतिहासिक कामको अगुवाई गर्छ । नेतृत्वकर्ताको परिकल्पना र सक्षमता महत्वपूर्ण पक्ष हो । सामुहिकतामा विश्वास राखेर सबै जुटेर गरिने काम ऐतिहासिक हुन्छ ।

आपतविपत पर्दा संस्था चाहिन्छ भन्नेबारे सबै वाम्बुले राईहरूलाई महसुस गराउनु सबैभन्दा महत्वपूर्ण पक्ष हो । वाम्बुले राईको पहिचान भनेको भाषा र मुक्तुम संस्कृति हो । यसको प्रवद्र्धन कार्यमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) सुनसरी जिल्ला कार्यसमितिले अगुवाई गर्दैआएको छ ।

वाम्रास सुनसरीले गरेको महत्वपूर्ण कामहरू :
१) ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्यालमा निर्माण भएको स्वालेवा स्तम्भ वाम्रास सुनसरीको परिकल्पनाको उपज हो, जुन वाम्रास केन्द्रीय कार्यसमितिको अगुवाईमा निर्माण भएको छ ।

Swalewa Park Okhaldhunga

२) वाम्रास सुनसरीले ‘स्याल्मो’ स्मारिका २०६९ प्रकाशित गरेको छ ।

३) वाम्रास सुनसरीले राष्ट्रिय जनगणना २०६८ को सन्दर्भमा वाम्बुले राई समुदायमाझ पुगेर संगठन विस्तार र घर तथा परिवारको जनगणना गरी यो स्मारिकामा प्रकाशित गरेको छ ।

४) वाम्रास सुनसरीले प्रत्येक सदस्यलाई सदस्यता परिचयपत्र प्रदान गर्ने गरेको छ । वार्षिक रकम उठाएर आपतविपत मरौपरौदेखि शुभकार्यमा साथ सहयोग दिने गरेको छ ।

५) वाम्बुले राईको सांस्कृतिक पहिचान सुरिम र स्वालेवाको प्रतिक निर्माण गरी शुभकार्यमा मायाको चिनो प्रदान गर्ने परम्पराको थालनी गरी निरन्तर राखेको छ ।

६) वाम्बुले राई भाषाको तेस्रो गीति एल्बम ‘फुरी’को निर्माण गरेको छ । यो एल्बम वाम्बुले सांगीतिक इतिहासमा महत्पूर्ण रहेको छ ।

७) २०७८ सालभित्र वाम्बुले राईको मुक्तुम कथामा आधारित देउसी भाका गायन, छायाङ्कन र एनटीभी इटहरीबाट प्रसारण भएको छ । यो भाका पुस्तिकाका रूपमा प्रकाशित छ ।

८) २०७८ सालभित्र वाम्बुले राईको मौलिक लोकभाका राम्दलेको गायन, छायाङ्कन र एनटीभी इटहरीबाट प्रसारण भएको छ ।

९) सुनसरीमा रहेका वाम्बुले राईहरूको पवित्र भूमिमा लिब्जुथान स्थापना गरी हरेक उभौलीमा सामुहिक भुमेसामा, भदौपुर्नेमा ढ्वाङ्कुमो मनाउने परम्पराको निरन्तरता कायम राखेको छ ।

१०) वाम्रास सुनसरीले त्यस क्षेत्रमा बसोबास गर्नु हुने वाम्बुले राईहरूले न्वाङ्गी, खाउमो, सेसा (फेलि) लगायत परम्पराको निरन्तरता राख्न संस्थागत अगुवाई गरेको छ ।

११) वाम्रास सुनसरीले धरान उपमहानगरपालिका–५ खैरेनीमा वाम्रास घर निर्माण गरेको छ ।

१२) वाम्रासले सुरिम बचत तथा ऋण समूह गठन गरी आर्थिक सशक्तिकरणको काम गर्दैआएको छ । अहिले ३० लाख रुपैयाँ जतिको बचत तथा ऋण प्रवाह गर्दैआएको छ । यो समूहमा गैरवाम्बुले समेत सहभागी छन् ।

१३) वाम्बुले राईको तीनचुलासम्बन्धि चुला, ढ्वाङ्कुमो र वाम्बुले उत्पत्ति शीर्षकमा गीत प्रतियोगिता २०७८ सालमा सम्पन्न गरेको छ । उत्कृष्ट गीतलाई रेकर्ड गर्ने तयारी गरेको छ ।

१४) मादल, बिनायो, मुर्चुङ्गा बादन प्रशिक्षण कार्यक्रम चलाएको छ ।

Leave a Reply

Your email address will not be published.