ओखलढुंगा जिल्लाको दक्षिणी सिमाना सुनकोशी नदीको काखमा अवस्थित एक रमणीय ठाउँ हो, टोक्सेल । खासमा यो टोक्सेल गाउँ विकास समितिको नाम हो । अहिले मानेभन्ज्याङ गाउँपालिका वडा नं.७ अन्तरगत रहेको छ । फैलावट अर्थात् क्षेत्रफलका हिसाबले नदी किनारा समुद्री सतह ५०० मिटरदेखि करिब १९०० मिटर उचाईमा छ । टोक्सेलअन्तर्ग माझीगाउँ, जैसीगाउँ, भुतपानी, राघापुर, कुम्लिङ लगायत गाउँहरु रहेका छन् । दक्षिण–पूर्वमा थाक्ले गाविस, उत्तरमा मानेभन्ज्याङ गाविस जोडिएका छन् । पश्चिममा मोलुङखोलाको सीमाना रहेको छ भने मालुङ पारि सिस्नेरी गाविस रहेको छ ।
यो टोक्सेलको ऐतिहासिक पृष्ठभूमि वाम्बुले राई जातिको भाषा अनि संस्कारसँग जोडिएको छ । यसको नामले पनि सुरुमै वाम्बुले भाषासँग साक्षात्कार गरेको छ । पहिले टोक्सेलको केही क्षेत्र थाक्ले गाविसमा पर्दथ्यो । पछि भौगोलिक सिमांकन तथा वितरणको क्रममा थाक्ले गाविसबाट टुक्रिन गएको हो । टोक्सेल गाविसको नाम वाम्बुले भाषामा नै किन रहन गयो भन्ने प्रश्न मनमा उब्जिनु स्वभाविक छ यहाँ नेर ।
थाक्ले र टोक्सेल एउटै गाउँ पंचायत रहँदा टोक्सेलमै कार्यालय थियो । हिलेपानीका सम्पुर्ण वाम्बुले जनताहरु त्यही जानुपथ्र्यो, प्रधानपन्च चुन्नेदेखि कागजात मिलाउनेसम्म । जग्गाजमिनदेखि लिएर अभिलेख कायम गर्नेजस्ता सम्पुर्ण कामकाजका लागि त्यहाँ जाने गर्दथे । टोक्सेलका समाजसेवी तथा त्यहाँ अवस्थित श्री स्वर्णान्तरण निमावि व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद ढुंगानाका अनुसार वाम्बुले राईहरु गुराँसको फुललाई ‘टोक्सेलमाफु’ भन्दछन् । त्यही शब्दबाट ‘टोक्सेल’ गाउँको नाम रहन गएको हो ।
त्यसैगरी टोक्सेलको सातसल्लेस्थित श्री शहीदस्मृति प्राविका शिक्षक इश्वरीप्रसाद ढुंगानाको मतअनुसार त्यहाँ पहिले पहिले धेरै आँप फल्थ्यो रे । वाम्बुले राईहरुले आँपलाई ‘ट्वाक्सी’ भन्छन् । पछि त्यही टवाक्सी शब्द अपभ्रंश भएर ‘टोक्सेल’ शब्दको विकास भयो । यी शब्दहरु ‘टोक्सेलमाफु’ र ‘ट्वाक्सी’ शब्द सबैको मुखमा ध्वनिकृत भएपछि यस ठाउँको नाम टोक्सेल रहन गएको हो ।
अर्को एउटा तथ्य वाम्बुलेहरुको बस्ती पनि थियो उबेला । अहिले पनि हिलेपानी निवासी एकजना किरात वाम्बुले राई व्यक्तिको जग्गा टोक्सेलमा हालसम्म रहेको छ । यस हिसाबले उहिले टोक्सेल क्षेत्रमा किराती राईहरुको बस्ती रहेको थियो भन्ने गाउँको नामाकरणले पुष्टि गर्दछ ।
भाषाको आफनै सुन्दरता हुन्छ । यसको आफनै लोकप्रियता पनि हुन्छ । सायद त्यही भएर पनि होला अहिले बाहुन, क्षेत्री, मगर अनि दलित समुदायको बसोबास रहेपनि वाम्बुले भाषाको नाम आजपर्यन्त कायम छ । उक्त ठाउँको नामकरणमा कुनै जाति विषेशको भाषा हो भनेर कुनै विवाद पनि भएन । त्यसलाई सवैजनाले स्वीकारे ।
भाषा अनि संस्कृति हाम्रो सम्पति हुन् । टोक्सेल गाविसको नाम वाम्वुले भाषामा नामाकरण हुनुको पछाडि वाम्बुलेको ऐतिहासिक, सांस्कृतिक अनि भाषिक महत्व जोडिएको छ । यसबाट पनि वाम्बुले राईको इतिहास बाँचिरहेको छ भन्ने प्रष्ट हुन्छ । अनि हाम्रो भाषा अनि संस्कृति बाँचिरहेको स्पष्ट छ । हाम्रो भाषा बाँचेर नै हामी बाँचिरहेका छौं । हाम्रो पहिचान बाँचिरहेको छ ।
भनिन्छ, कुनै जातिलाई मार्नु छ भने उसको भाषा र संस्कृतिलाई मारे पुग्छ । अनि त्यो समुदायको पहिचान स्वतः हराउँछ । साढे दुई सय वर्षदेखि त्यस्तै गरे, शासकले । अब भने त्यस्तो हुने छैन किनकि मुलुक धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । अब हाम्रो समुदायको आयु कति लम्ब्याउने वा नलम्ब्याउने त्यो हामी वाम्बुले राईहरुमो निरभर गर्दछ ।
(लेखक गगन राई स्वर्णान्तरण निमावि टोक्सेल–३, ओखलढुंगाका शिक्षक रहँदा लेखेका तथा लिब्जु–भुम्जु पूर्णाङ्क ६६, वर्ष २३ अंक २, पूर्णाङ्क ६६, २०७३ साउन–असोज (किरात येले संवत् ३७९५÷सन् २०१६मा प्रकाशित लेखलाई यहाँ प्रस्तुत गरिएको हो ।)