धुमधाम तेस्रो बाँसुरी दिवस

समाचार

गणेश वाम्बुले राई
ललितपुर– दुधकोसी र सुनकासी संगम आसपासका बस्तीमा साउन १५ देखि बाँसुरी बजाउने परम्परा छ । त्यही परम्पराको निरन्तरता दिंदै काठमाडौं उपत्यकामा रहेका किरातीले तेस्रो ‘बाँसुरी दिवस’ बुधबार मनाएका छन् । त्यसैगरी ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानी गाउँमा समेत सामूहिक भेला भएर मनाएका छन् ।

तेस्रो ‘बाँसुरी दिवस’ २०७६ साउन १५ गते

कलाकार बडाजित राईको संयोजन रहेको दिवसमा बाँसुरीवादक जीवन राई, बिकास सौगात, नवराज राई (क), नवराज राई (ख), श्याम राई र भीमराज राई तथा मादल बिष्णु माइला र मोतीलाल राईले प्रस्तुत गरेका गर्नुभएको थियो । अक्सर पुरुषले बजाउने बाँसुरी बाजा महिला कलाकार अम्बिका राई र दिलकला राईसमेत सहभागी हुनुहुन्थ्यो । उहाँहरूले पहिलो चरणमा गोठाले भाकाको बाँसुरी बजाएर मादलसहित राम्दले गीति भाका प्रस्तुत गर्नुभएको थियो । दोस्रो चरणमा बाँसुरीकै आवाजमा संगिना भाका ताली बजाएर सुनाएका थिए । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले उक्त दिवसको आयोजना गरेको हो ।

बाँसुरीकै आवाजमा संगिना भाका

गाउँघरमा बिर्सिदै गएको लोकपरम्पराको पुनःउत्थान गर्न दिवसको आयोजना गरिएको वाम्रास संस्थाका अध्यक्ष गजुरधन राईले बताउनु भयो । ‘सहरमा बस्नेलाई गाउँघरको सम्झनाले ब्युँताउँछ,’ आफ्नो गोठाले जीवनको सम्झना गर्दै उहाँले भन्नुभयो, ‘विदेशमा बस्नेलाई स्वदेशको यादले सताउँछन् । गाउँघरमा बस्नेले बिर्सिदै गरेको आफ्नोपन, परम्परालाई पुनःस्थापना गर्न बाँसुरी दिवस मनाउनु परेको हो ।’

हिलेपानी गाउँमा जन्मिनु भएका राष्ट्रगानका रचयिता व्याकुल माइलाले बाँसुरीका भाकाहरूको अध्ययन र परम्परागत लोकभाकाहरू अधिया, सरुमा, ख्याली र सरादको संकलन गरेको बताउनुभयो । ती भाकाहरूलाई भरखरैमात्र पाका वरिष्ठ कलाकारलाई गाउन लगाउने काम गरेको जनाउनु भयो । ‘यी भाकाहरू ज्यादै गाह्रो रहेको प्रसिद्ध गायकले भन्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘तर हामी सम्बन्धित समाजमा भने भिल्लको देशमा मणि भनेझैं भएको छ ।’

वाम्बुले भाषाका कोशकार अविनाथ राईले कतिपय लोकपरम्परालाई परिमार्जन आवश्यक रहेको बताउनुभयो । ‘कतिपय परम्परा परिवर्तन हुन जरुरी छ र राम्रो मनले नयाँ उत्थान हुन आवश्यक छ,’ अल्पज्ञानी हुँदाहुँदै आफूलाई महान ठान्नु हानिकारक हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘थपघट हुने परम्परा तर्कसंगत, युक्तिसंगत र न्यायसंगत हुनुपर्छ ।’ लोकपरम्परालाई अभिलेखिकरण हुनुपर्ने जोडदिए ।

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले बाँसुरी बाजालाई किरातीको मौलिक बाजा भएकाले यसलाई ब्रान्डिङ गर्न जरुरी रहेको बताउनुभयो । ‘किराती सामाजिक र सांस्कृतिक हिसाबले धनी छौं,’ उहाँले किरात राईभित्र २६ वटा भाषा रहेको उल्लेख गर्दै भन्नुभयो, ‘सांस्कृतिक विविधताभित्र बाँसुरी दिवस एक हो । यसलाई संस्थागत बहन गरिसकेका छौं । माइती, चेली सँगै बसेर बजाइने बाँसुरीको ब्रान्डिङ गर्ने र यसको प्याटेन्ट राइट लिन जरुरी छ । जसले गर्दा पुस्तौं पुस्तादेखि पुर्खाले सिर्जको परम्परा बाँचिरहनेछ ।’

वाम्रास भाषा, शिक्षा तथा संस्कृति विभाग प्रमुख गणेश वाम्बुले राईले ‘वाम्बुले राई र बाँसुरी लोकपरम्परा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लोकमान्यता अनुसार उपवास बसेका भगवान साउन १५ देखि गुफाबाट बाहिर निस्किन्छन् । कालो मैलो, अँध्यारो हट्छ । त्यस दिनदेखि किराती वाम्बुले समुदायमा नयाँ उमंग छाउँछ । अँगेनोको माथि ध्वाँसे बलो अथवा खोल्माको छानोमा सिउरिएर जतनसाथ राखेका बाँसुरी, मुरली झिकेर बजाउँने गर्दछन् । गाउँघर, वनपाखा, खोलानाला, दुधकोसी र सुनकोसी नदी गडतीरमा कुर्लिङकुर्लिङ बाँसुरीको धुन गुन्जिने संस्कृतिकर्मी बताउँछन् । मायाप्रिती या बिरह, मनै हर्ने भाकाहरू बजाउँछन् ।

असारको पन्ध्र दही चिउरा खाने, साउनको पन्ध्र खिर

नेपाली समाजमा ‘असारको पन्ध्र दही चिउरा खाने, साउनको पन्ध्र खिर’ भन्ने उखान छ । त्यसैअनुसार बाँसुरी दिवसमा सहभागीलाई वाम्रास संस्थाले खिर खुवाउने चलन राखेको छ । रेडियो हिमालयका संचालक बुद्धि विश्वकर्माले बाँसुरी दिवसको प्रत्यक्ष प्रसारण गर्नुभएको थियो । नेपाल टेलिभिजनबाट ईश्वर महर्जन, इन्जिनियस टेलिभिजनबाट तेज किराती, नागरिक दैनिकबाट श्याम राई, सगरमाथा अनलाइनबाट कृष्णजित राई, टुँडिखेल डटकमबाट सन्दिप राई सहभागी हुनुहुन्थ्यो ।

Bangsuri Day presentation 2076

Leave a Reply

Your email address will not be published.