गणेश वाम्बुले राई
काठमाडौं – भाषाशास्त्री तथा विज्ञले मुलुकमा बोलिने भाषाहरु संरक्षण गर्नका निम्ति जनचेतना जगाउन जरुरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुअरी २१)को सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौंले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको ‘मातृभाषा विचार गोष्ठी–२०७४’मा उक्त विचार व्यक्त गर्नु भएको हो ।
‘पहिले भाषाको सवालमा काठमान्डुलाई गाली गरेर पुग्थ्यो,’ भाषाशास्त्री प्राध्यापक डा. माधवप्रसाद पोखरेलले भन्नुभयो, ‘तर अब त्यो स्थिति रहेन । स्थानीय तहमै पुगेर काम गर्नु पर्नेछ । आफ्नो मातृभाषा बोल्न छोडेर अर्को भाषा पढ्न थाल्नेलाई फेरि मातृभाषा बोल्न लगाउने पक्ष महत्वपूर्ण छ ।’
भाषाशास्त्री पोखरेलले ‘संघीय संरचनामा मातृभाषाको सवलीकरण’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै उक्त अभिव्यक्ति दिनु भएको हो । उहाँले मातृभाषा, भाषिक जीवन्तता, भाषिक सवलिकरणका विषयमा बृहत् बहस जरुरी रहेको उल्लेख गर्नुभयो । ‘नेपालका मातृभाषा जनगणनाको तथ्यांक मिथ्यांक बनेको छ । तर त्यसलाई बिर्सेर केही गर्न सकिदैन । लोपोनमुख भाषाहरुको लेखाजोखा हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।
प्रदेशगत हिसाबले फरक फक भाषा रहेको र यसको संरक्षण तथा संवद्र्धनमा एकैखाले उपायबाट सम्भव नहुने उल्लेख गर्नुभयो । ‘सबभन्दा दुब्ला मातृभाषाहरुको चर्चा छ । बलियालाई सवलिकरण कसरी गर्न सकिन्छ । लोपोन्मुख मातृभाषाहरुको उत्थानलाई एउटै विधिले सवलीकरण सम्भव छैन । फरक फरक हुनुपर्छ,’ भाषाशास्त्री पोखरेलले भन्नुभयो, ‘सबै भाषा प्रदेशको बन्न सम्भव छैन । पालिका र वडासम्म विस्तार हुन जरुरी छ । त्यसको निम्ति सम्बन्धित मातृभाषी समुदाय जागरुक हुनुपर्छ । अरुले भनेकै भरमा त्यो सम्भव छैन ।’
त्यसैगरी पूर्णकाजी ताम्राकारले ‘नेपालभाषाका समकालीन कविता प्रवृत्तिहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि प्राज्ञ सुलोचना मानन्धरले टिप्पणी गर्नुभएको थियो ।
गोष्ठी उद्घाटन सत्रका विशेष अतिथि तथा नेपालका लागि बंगलादेशी राजदूत मास्के बिन्ते सासले सन् १९५२ मा मातृभाषा आन्दोलनको घटनालाई स्मरण गर्दै आफ्दो देशमा यस दिनलाई सहिद दिवसका रुपमा मनाउँदै आएको बताउनु भयो । बंगला भाषा आन्दोलनमा ढाका विश्वविद्या लयका विद्यार्थीले सहादत प्राप्त गरेपछि त्यो घटनाको स्पमरणमा यो दिवसको सुरुवात भएको हो ।
संयुक्त राष्ट्रसंघले सन् १९९९ मा मान्यता दिएको थियो भने २००० बाट ‘२१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ कार्यान्वयनमा आएको हो । युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस सन् २०१८ का लागि ‘दिगो विकासका लागि भाषिक विविधता र बहुभाषी गणना’ नारा तय गरेको छ । उसले विश्वमा करिब सातहजार भाषा बोलिने भएपनि केही पुस्तापछि पचास प्रतिशत भाषा लोप हुने संकेत गरेको छ, जुन भाषा विश्वको कुल जनसंख्याको ४ प्रतिशतभन्दा कमले बोल्दछन् ।
सभाध्यक्ष तथा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा सबै तहका निकायहरुले सामाजिक रुपमा मातृभाषा प्रवद्र्धन गर्नु पर्ने बताउनु भयो । ‘प्रज्ञा प्रतिष्ठानले मातृभाषा दिवसलाई महोत्सवका रुपमा प्रवद्र्धन गर्दैआएको छ,’ हरेक वर्ष बंगलादेश दूतावासले साथप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले भन्नुभयो, ‘हामीले आफ्नो क्षमताअनुसार मातृभाषा प्रवद्र्धनका कामहरु गर्दै आएका छौं । यो वर्ष भाषा आयोग, युनेस्कोसँगको सहकार्यले गर्न पाएका छौं । अबको प्रादेशिक संरचनामा प्रदेश, स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न जरुरी ठानेका छौं ।’
प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेवी गिरी, प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङलगायत विचार व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानले मंगलबार २१ फेब्रुअरीका दिन ‘मातृभाषा राष्ट्रिय कविता गोष्ठी–२०७४’ समेत आयोजना गरेको छ । उक्त गोष्ठीमा ३६ भाषाका ४१ जना कविले कविता वाचन गर्ने प्राज्ञ मुकारुङले जानकारी दिनुभयो ।