सुरुङ युद्धका प्रतिपादक सहिद रत्नकुमार बान्तवाको सम्झना

नेपालमा सुरुङ युद्धका प्रतिपादक सहिद रत्नकुमार बान्तवाको चैत २७ गते स्मृति दिवस हो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले विज्ञप्ति जारी गर्दै क्रान्ति योद्धा बान्तावाको सम्झना गर्नुभएको छ ।

‘२००८ साल चैत २७ गते जन्मनु भएका नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा अमर सहिद रत्नकुमार बान्तवालाई तत्कालीन पञ्चायती शासकले इलामको इभाङ (हाल माङ्सेबुङ गापा) मा २०३५ साल चैत २७ गते गोली हानी हत्या गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ , ‘क. रत्नको आज चैत २७ गते ७३ औं जन्मजयन्ती एवं ४६औँ स्मृति दिवस हो । यस अवसरमा म वहाँ प्रति हार्दिक तथा भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।’

संक्षिप्त विज्ञप्तिमा छ, ‘मुलुकको राष्ट्रियतालाई संरक्षण गर्न, जनताका जल्दाबल्दा समस्याहरूलाई सम्बोधन गर्न, मुलुकको सामाजिक‐आर्थिक रुपान्तरणलाई गहिरो पार्न, सामाजिक न्याय स्थापित गर्न, सहिदहरूका सपनाहरूलाई पूरा गर्न र मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन देशभक्त शक्तिहरू एकताबद्ध हुनु आजको आवश्यकता हो ।’

‘सामाज्यवाद, प्रभुत्ववाद र दलाल पुँजीवादका शोषण, दमन र उत्पीडनका विरुद्ध देशका सम्पूर्ण प्रगतिशील र वामपन्थी शक्तिहरूलाई साझा सवालमा एकताबद्ध बनाएर मात्र हामीहरू समाजवादको दिशामा अघि बढ्न सक्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजवादको दिशामा देश, जनता र राष्ट्रलाई अघि बढाएरमात्र हामीहरू अमर सहिद रत्नकुमार बान्तवाप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न सक्छौं । त्यसैले आउनुहोस् यो देशका समस्त देशभक्त, प्रगतिशील र बामपन्थी शक्तिहरू एकताबद्ध बनौं र समाजवादको उच्चतम लक्ष्य तिर अघि बढौँ ।’

प्रकाशित : बुधबार, चैत २६, २०८११०:०६